अतिक्रमण भएको घरजग्गा खाली गर्न भनेपछि घरधनी र व्यापारी आन्दोलित
हेटौँडा । हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी तथा व्यापारी आन्दोलित भएका छन् । कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र हेटौँडादेखि नारायणगढसम्मको सडक चौडा र बिस्तार गर्न अतिक्रमित २५ मिटर दायाँबायाँको घरजग्गा हटाउन सूचना निकालेकामा घरधनी र व्यापारीले आपत्ति जनाउँदै कुनै कानुनी आधारविना र सर्वोच्च अदालतको फैसलाविपरीत जबर्जस्ती घर भत्काउन खोजेको आरोप लगाउँदै आन्दोलित भएका हुन् । विसं २०३०/३१ मा हेटौँडा नारायणगढ सडक विस्तार गर्नु अगाडि चितवनदेखि हेटौँडापूर्वको राप्तीपुल नजिक चिनीया क्वाटरको दायाँबायाँसम्मका जग्गाको हेटौँडा कररा पुलका केही घरलाई मात्रै मुआब्जा वितरण गरिएको थियो । त्यसबेला सडक विस्तार गर्न राप्तीरोडदेखि बुद्ध चोक र चौकीटोलदेखि रातमाटेसम्म बजार क्षेत्र भएका कारण स्थानीयवासीले केही बढी मुआब्जा माग गर्दा त्यतिबेलाको कार्यालयले बढी मुआब्जा नदिएकाले मुआब्जा नलिएकामा अहिले २०८० सालसम्म पनि कानुनबमोजिमको मुआब्जा दिने कुनै काम भएको छैन । विसं २०७४ को चुनावअघि पनि उक्त कार्यालयले २५-२५ मिटर सडक विस्तार गर्न ३५ दिने सूचना निकालेको थियो । संविधानमा उल्लेखित जनताको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुने उल्लेख भए पनि सरकारले संविधानविपरीत प्रहरी प्रशासनको बलमा जबर्जस्ती डोजर लगाएर घर भत्काउन खोजेकाले स्थानीयवासीले आफ्नो घरजग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दा प्रहरीसँग झडप हुनाका साथै सडक डिभिजन कार्यालय डोजर फिर्ता गर्न बाध्य भएको थियो । यसपछि सो सडकका घरधनीले सर्वोच्च अदालतमा रिट दायर गरेकामा २०७९ मङ्सिर २० गतेको आदेशमा उचित मुआब्जा दिएर मात्र सडक विस्तार गर्न भनिएको थियो । सर्वोच्च अदालतको आदेशविपरीत सडक डिभिजनले दायाँबायाँ२५-२५ मिटर सडक खाली गर्न सूचना जारी गरेकाले पीडितले आफ्नो व्यवसाय डुब्ने चिन्ताले आन्दोलन गरेका हुन् । सो सडकखण्डका घरधनी तथा व्यापारीसहितको समस्या समाधान गर्न गठित मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा हेटौँडा बसोबास क्षेत्र संरक्षण समितिले उक्त समस्या समाधानका लागि पटक पटक पहल गर्दैआए पनि आश्वासन मात्रै दिने तर कार्यान्वयन नभएको स्थिति थियो । मकवानपुर उद्योग वाणिज्य सङ्घले मकवानपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय प्रमुखसँग छलफल गर्दा सकारात्मक प्रतिक्रया नआएपछि सोही सङ्घको अगुवाइमा स्थानीय घरधनी र व्यापारीको जुलुसले आज जनतालाई सुकुम्बासी बनाउन पाइदैन भन्ने नारा लगाउँदै नगर परिक्रमा गरेको थियो । सो जुलुसले हेटौँडा उपमहानगरपालिकाको प्रमुख र सडक डिभिजन प्रमुखलाई कानुनअनुसार र सर्वोच्च अदालतको फैसलाअनुसार मुआब्जा दिन र त्यसका लागि आवश्यक प्रक्रिया अपनाउन माग गरेको थियो । रासस
भरतपुर भ्रमण वर्ष : ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा
चितवन । भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरुका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो । भ्रमण वर्ष, २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाका अनुसार हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रुपमा सम्पर्क भइसकेको छ । गैरआवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहेका सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयको काम गरिरहनुभएको छ । यसका लागि ‘साथीलाई घर पठाऔँ (सेन्ड होम अ फ्रेण्ड)’ नारा दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार सुरु गरिएको छ । सापकोटाका अनुसार विभिन्न देशमा नेपालीले सञ्चालन गरेका होटल, रेष्टुराँ, ग्रोसरीलगायतमा ‘भिजिट भरतपुर’ को ब्रोसर, पोष्टरलगायतका सामग्री राखिँदै छ । ती देशमा स्थानीय प्रतिनिधिसँग समन्वय गरी भ्रमणको निम्तो दिइँदै छ । विश्वभर रहेका चितवनवासीकाबीचमा समन्वय गरेर सन् २०२४ मा परिवारसहित आफ्नो घर फर्किन र सँगै काम गर्ने एवं चिनजान भएका त्यहाँका साथीभाइलाई यहाँ ल्याउन आग्रह गरिएको छ । सापकोटाले माल्टा, जापान र बेलायतका स्थानीय सरकारका प्रमुखलाई निमन्त्रण गरिसकिएको छ । अन्य देशमा निम्तो गर्ने क्रममा रहेको उनले जानकारी दिए। नेपाल सरकार र पर्यटन बोर्डले विदेशमा आयोजना गर्ने कार्यक्रममा भरतपुर भ्रमणको प्रचारसमेत गर्ने कार्यक्रम राखिएको छ । चितवनवासी भएका देशमा राजदूतावासमा निम्ता दिनका लागि छोटा भिडियो, फोटोमार्फत प्रचार गरिँदै छ । विश्वका ७७ देशमा चितवनवासी भएको भन्दै उनले हालसम्म ५२ देशका चितवनवासीसँग सम्पर्क गरिएको र बाँकी देशमा सम्पर्कको क्रममा रहेको बताए। यकिन तथ्याङ्क नभए पनि पाँच लाख हाराहारी चितवनवासी विदेशका विभिन्न देशमा रहेको अनुमान छ । भ्रमण वर्षको अवसरमा दुई लाखभन्दा बढी विदेशीलाई चितवन भित्र्याउने लक्ष्य लिइएको छ । सापकोटाका अनुसार गैरआवासीय नेपाली सङ्घको ९० देशमा समिति छ । विश्वका एक सय १८ देशमा नेपाली रहेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरुपमा मनाउने बताइन् । छिमेकी देश भारत र चीनसँगै अन्य देशमा समेत व्यापकरुपमा प्रचारप्रसार गरी चितवन पर्यटक भित्र्याउने उनको भनाइ छ । विभिन्न समितिमार्फत् काम अघि बढिरहेको उनको भनाइ छ । भ्रमण वर्षको अवसरमा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोधसमेत गर्न लागिएको उनले जानकारी दिइन् । देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको हो । भ्रमण वर्षमा दुई लाख विदेशी र सात लाख स्वदेशी पर्यटक भित्र्याउन लागिएको उनको भनाइ छ । नेपाल र विदेशमा फरक–फरक समिति बनाएर काम अघि बढाइएको दाहालले जानकारी दिइन्। भ्रमण वर्षअघि नै भौतिक पूर्वाधारलगायतका काम यथाशीघ्र सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाइएको छ । भरतपुर महानगरलाई हरियाली बनाउन महानगरले बजेट विनियोजन गरी छिट्टै काम अघि बढाउँदै छ । महानगरभित्र ३० भन्दा बढी महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको भन्दै उनले ती गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई घुमाइने बताइन् । महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज जोडिएको छ । जुन विश्वमा परिचित छ । भरतपुर भ्रमण वर्षले भरतपुर मात्रै नभएर सिङ्गो चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दाहालको विश्वास छ ।
व्यवसायीले काठमाडौं महानगरबाट ३० प्रतिशतसम्म कर छुट पाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौं महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ । यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर सम्वत् २०८० पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको सूचनामार्फत जनाइएको छ । व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ । ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तीर्न बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कको कर ९५ प्रतिशत छुटको व्यवस्था छ । चालु आर्थिक वर्ष २०८०/८१ करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका पाँच लाख रुपैयाँसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले २०८० पुस मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा करको रकम २५ प्रतिशत छुट हुने जनाइएको छ तर यसमा काठमाडौं महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ ।