सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई काठमाडौं महानगरले सहयोग गर्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ । कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई सहयोग गरेर नागरिकलाई सहज सार्वजनिक शौचालयको पहुँच पु¥याउने तयारी रहेको छ । ‘यसका लागि ३२ वटै वडाले इच्छा भएको संस्थाको विवरण सङ्कलन गरेर केन्द्रमा पेस गर्न भनिएको छ, उनले भने । कामपाले विगत छ वर्षदेखि नागरिकलाई सहज रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने वातारण बनाउने भने पनि हालसम्म सबैतिर सार्वजनिक शौचालयको पहुँच नपुगेको डा अधिकारीले बताए । ‘भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडालाई नै जिम्मा दिइएको छ, उनले भने । हाल कामपाको क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालयको सूची रहे पनि अधिकांशमा सरसफाइ र पानीकोसमेत व्यवस्था नहुँदा प्रयोग गर्न मिल्ने अवस्थामा नरहेका अधिकारीको भनाइ थियो । उनका अनुसार यसलाई रुपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हात धुने साबुन, पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने उद्देश्यले कामपाले इच्छुक संस्थालाई सहयोग गर्ने योजना बनाएको हो । ‘विसं २०७९ को प्रारम्भमा व्यक्तिगत तथा संस्थागत रुपमा चलेका एक सय २० शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएको छ’, अधिकारीले भने, ‘तिनीहरु कसरी चलेका छन् सक्रिय र नियमित रुपमा सञ्चालन गर्न के गर्नुपर्छ भन्ने विषय अघि बढाइएको छ ।’ उनका अनुसार सहरी क्षेत्रमा हरेक पाँच सय मिटर दूरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउनुपर्ने नीति रहे पनि कामपाको हकमा त्यो कार्यान्वयन भएको छैन । वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तीय संस्था र कार्यालयबीच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाइको तत्कालको योजना रहेको इकाइका प्रमुख डा अधिकारीले जानकारी दिए । ‘सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा र एकाइले नयाँ ठाउँमा शौचालय निर्माण गर्नेछन् । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग गरिने छ’, उनले भने ।
बागलुङमा उपभोक्ताको रोजाइमा मुस्ताङको स्याउ, नगरपालिकाले नै गर्याे मूल्य निर्धारण
बागलुङ । मुस्ताङको स्याउ भित्रिन थालेपछि बागलुङमा फलफूलको बजार फस्टाउन थालेको छ । असोज लागेसँगै मुस्ताङको स्याउले बागलुङमा बजार पाउन थालेको छ । पछिल्लो समय यहाँका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ देखिन्छ । अधिकांश उपभोक्ताले मुस्ताङको स्याउ खोज्ने भएकाले अन्य स्याउको तुलनामा असोज लागेपछि यसको कारोबार बढी हुन थालेको फलफूल व्यापारी शङ्कर रेग्मीले बताए । उनका अनुसार स्याउको माग अत्यधिक भएका कारण बागलुङ नगरपालिकाले उपभोक्ताको हितका लागि मुस्ताङको स्याउको मूल्य निर्धारण गरेको छ । अन्य स्याउको तुलनामा सस्तो र स्वादिष्ट भएकाले छिमेकी जिल्लाको स्याउको माग यहाँ उच्च रहेको उनको भनाइ थियो । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीले समेत असोज लागेपछि मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गरिरहेका छन् । दसैँ र तिहारमा कोसेलीका रुपमा स्याउलाई प्रमुख मानिँदै आएकाले बागलुङमा मुस्ताङको स्याउ ‘ब्रान्ड’ बनेको स्थानीय उपभोक्ता हरिश आचार्यले बताए । “मुस्ताङको स्याउ भनेपछि अलग्गै हुन्छ, नजिकमा उत्पादन भएको हुनाले समेत होला यहाँका धेरै उपभोक्ताले असोज लागेपछि मुस्ताङको स्याउ पाएसम्म अरू खरिद गर्दैनन्”, उनले भने, “बागलुङ बजारका हरेक फलफूल पसलमा मुस्ताङको मात्रै स्याउको माग छ, बागलुङ नगरपालिकाले स्याउको मुल्य समेत निर्धारण गरेको छ, जसले चाडबाडमा स्याउमा कालोबजारी गर्न रोकिन्छ ।” दसैँ–तिहारको नआउँदै मुस्ताङको स्याउको अहिले नै अर्डर आउन थालेको फलफूल व्यापारीले बताएका छन् । दसैँमा मुस्ताङको च्याङ्ग्रासहित स्याउ कोसेली लैजाने गरेको पाइन्छ । हालसम्म बागलुङमा च्याङ्ग्रा भने भित्रिएका छैनन् । दसैँ तिहारलाई मुस्ताङमा भ्रमणको उपयुक्त सिजनका रुपमा लिने गरिन्छ । मुस्ताङ भ्रमणमा पुगेका अधिकांशले फर्कने समयमा मुस्ताङको स्याउ र च्याङ्ग्रा लिएर फर्कने गरेका स्थानीय बताउँछन् । बागलुङसहित म्याग्दी, मुस्ताङ, पर्वत लगायतका जिल्लामा कोसेलीका रुपमा मुस्ताङ्गी स्याउ निकै प्रयोगमा आउने गरेको व्यापारी रेग्मीले बताए । अहिले बजारमा मुस्ताङको स्याउको कारोबार सुरु भइसकेको उनको भनाइ थियो । “अघिपछि भारत र चीनको स्याउ बढी बिक्री हुन्छ, एक हप्ता भयो मुस्ताङको मात्रै स्याउ बिक्री भइरहेको छ, चाडपर्व भित्रिन थालेपछि फलफूलको माग बढ्न थालेको हो”, रेग्मीले भने, “अब तिहारसम्म मुस्ताङको मात्रै स्याउ बिक्री हुन्छ, स्वादिष्ट भएर पनि होला उपभोक्ताको माग पनि यही स्याउमा बढी छ ।” दसैँ–तिहारमा छुट्टीमा घर जान लागेका कर्मचारीका परिवारले स्याउ र आलु ल्याउन आग्रह गर्ने गरेको फलफूल व्यापारीले बताउँदै आएका छन् । बागलुङ सरुवा भएर आउने जुनसुकै कर्मचारीलाई घरबाट मुस्ताङको स्याउ, ढोरपाटनको आलु र ताराखोलाको भाङ्गो किनेर ल्याउने सुझाव आउने गरेको उनीहरु बताउँछन् । रासस
गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क
चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् । नगरपालिकाले ‘उप(प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर प्रमुख शशीकुमार खनियाले उपप्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमले मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रमको सफलता र निरन्तरताका लागि कर्मचारीलगायत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक हुने बताउँदै उनले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोसेढुङ्गा सावित हुने बताए । उपप्रमुख कविता उप्रेतीले गर्भवतीको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको बताइन । गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । नगरपालिका बजेटमा नै व्यवस्था गरेर कार्यक्रम अघि बढाएको हो ।