म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सोमबार बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ । महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।

भोजपुरमा गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

भोजपुर । ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, साँस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण, सम्वर्द्धन एवम् प्रवर्द्धन गरेर हतुवागढीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । ‘हतुवागढी आफैँमा एक ऐतिहासिक गाउँ हो’, उनले भने, ‘यहाँ धेरै ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदा छन् । यी क्षेत्रको विकास गरेर पर्यटक भित्राउने आधार र सम्भवनाको खोजी गरिरहेका छौँ ।’ उनका अनुसार किरात राजाहरुले राज्य गरेको गढीमा रहेका भग्नावशेष दरबारको मर्मत गर्ने पालिकाको पहिलो योजना रहेको छ । गढीको नामबाट गाउँपालिकाको नाम राखिएकाले यसको संरक्षण तथा विकास गरेर इतिहासको खोजी गरी गढी र दरबारलाई अध्ययनयोग्य विषयको रुपमा विकास गर्न सकिने अध्यक्ष राईको भनाइ थियो । नेपाली सेनाले ऐतिहासिक गढीको संरक्षण र प्रवर्द्धनको लागि एक गढीबाट अर्को गढी जोड्ने पदमार्ग निर्माणको योजना अगाडि बढाएको भन्दै उनले यसले हतुवागढीको पर्यटन विकासमा टेवा पुग्ने बताए । यहाँको ऐतिहासिक तथा पुरातात्विक गढी र दरबार क्षेत्रको पुनःनिर्माण गरी यसको प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार भइसकेको गाउँपालिकाले जनाएको छ । हतुवागढीबाट धरान, ईटहरी, विराटनगरका साथै तराईका विभिन्न जिल्लामा सहजै पुग्न सकिने भएकाले पर्यटकको आवगमन बढ्ने अध्यक्ष राईले बताए । हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमालका साथै तराईका फाँटको अवलोकन गर्न सकिने उनको भनाइ थियो । ‘हाम्रो पालिका तराईका ठूला शहरबाट नजिकै रहेको छ’ उनले भने, ‘त्यसैले यहाँ पर्यटनको धेरै राम्रो सम्भवना छ ।’ पालिकाको दक्षिण पूर्वीभागमा अरुण र दूधकोशी नदीमा बोटिङ भइरहेकाले यसबाट पनि पर्यटक भित्र्याउन सकिने अध्यक्ष राईले बताए । ‘सप्तकोशीमा चतराघाटदेखी हतुवागढीको हलेदेसम्म आएको पानीबोटलाई अरुण नदीतर्फ तुम्लिङटार र दूधकोशी हुँदै दोलालघाटसम्म पुर्‍याउँदै जलयात्रा गर्न सकिन्छ’, उनले भने । गाउँपालिकाको केन्द्रमा रहेको ऐतिहासिक हतुवागढी दरबार, भविष्यवक्ता पोखरी, महादेवथान गुफा, चमेरे गुफाका साथै हतुवागढी–१ मा रहेको दिमालुङ्ग स्मारक पार्क, शिवालय थान, हतुवागढी–२ मा सय वृक्ष, सङ्खाम चुली, जोर आहाल, भ्यु टावर, छोकमैन अवतारी, थुलुङ्ग संस्कृतिको सौरीनेम, तोसिखोम, अजम्बरी पानी, माक्साहुत (भालु बस्ने गुफा) हतुवागढी–३ मा सुनाहाङको शिर राखेको स्थल, फलामढुङ्गा, लुङ्गथुङ्ग ढुङ्गा, शिला सुत्केरी शिलालगायत पर्यटकीय स्थल रहेका राईले जानकारी दिए । पालिकामा रहेका ऐतिहासिक होम्ताङ्ग साकेला थान, बाहुतभुत बस्ने सुरुङ्ग, सिमसरादेबी थान, लुखिम ढुङ्गा, ईन्द्रेणी करना, ब्राहम टाकुरे डाँडा, विद्यापोखरी, पिचाखा मागलुङ्ग, गन्धेपानी, माईबेनी, किरात करना, समुदायको साकेलालगायत स्थानको स्तरोन्नति गरी विभिन्न अवलोकन तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान विन्दुको रुपमा विकास गरी समुद्र सतहबाट एकसय ५३ मीटर उचाईमा रहेको भोजपुर जिल्लाको सबैभन्दा होचो भू–भागदेखि सबैभन्दा अग्लो भू–भाग साल्पासिलिछोसम्मको पदमार्गको प्रस्थान बिन्दु बनाउने योजना रहेको उनले जानकारी दिए । पदमार्गमार्फत भोजपुर, धनकुटा तथा उदयपुरको सङ्गमस्थल तथा धार्मिकस्थल माइबेनी (त्रिवेणी), हतुवागढी दरबार हतुवागढी पैदलमार्गबाट पाक्माखाम भञ्ज्याङ् हुँदै चखेवामा जोड्ने निरौलाको भनाइ थियो । गाउँपालिकाको पर्यटन गुरुयोजनाअनुसारका कार्य सम्पन्न भएपश्चात् पालिकाले पर्यटनका क्षेत्रमा फड्को मार्ने उनले बताए । पालिकाले निर्माण गरेको गुरु योजनाअनुुसार पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न निकायसँग सहकार्य र समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राईले बताए । रासस

बागमती प्रदेशका ३ पालिकामा बीमा प्राधिकरण, बीमा सम्बन्धी कार्य गर्न एउटा कोठा उपलब्ध गराउने

काठमाडौं । महांकाल गाउँंपालिकाका अध्यक्ष गणेश बहादुर के.सी.ले गाउँपालिकाको भवन तयार भएपछि एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने बताएका छन् । असोज ११ गते भएको बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा बोल्दै उनले एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका हुन् । महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले न्यून आय भएका वर्गसहितका सबै नागरिकसम्म बीमाको पहुँच पुर्याउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने बताइन् । यस्तै, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कृषि तथा पशुपन्छी बीमालाई अझै स्पष्ट पार्न र गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र राख्न आग्रह गरे । कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको पहुँच वृद्धिका लागि आगामी बजेटमा बीमालाई समावेश गर्ने र सम्बद्ध सबैसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले स्वास्थ्य बीमा र कृषि तथा पशुपन्छी बीमामा समस्याहरू रहेको औंल्याए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले घटना कतिबेला हुन्छ थाहा नहुने भएकाले गाउँपालिकाका सेवासँग बीमालाई आवद्ध गरेर अनिवार्य गर्न सम्बन्धित गाउँपालिकासँग आग्रह गरे । निर्देशक लालले आर्थिकरूपमा सक्नेलाई बीमा गर्न प्रोत्साहन गर्न तथा विपन्न बर्गको बीमा गाउँपालिकाबाट नै गरिदिने व्यवस्था गर्न सुझाव दिए । उपनिर्देशक निर्मल अधिकारीले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको विकास एवम् पहुँच विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गरेका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा ललितपुरका कोन्ज्योसोम गाउँपालिका, महांकाल गाउँपालिका र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमा प्राविधिकरूपमा जटिल रहेको, बीमा कम्पनीहरूले कृषि बीमा गर्न नमानेको, बीमांकमा एकरूपता नभएको, दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कहाँ कसरी गर्ने भन्ने थाहा नभएको लगायतका गुनासाहरू राखेका थिए । यसैगरी, सहभागीहरूले बीमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन, स्थानीय तहसँग समन्वय गरेर गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र स्थापना गर्न, बाली बीमालाई अझै स्पष्ट पार्न, विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन, भैंसी र बाख्राको मूल्य निर्धारणमा देखिएको समस्या समाधान गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गरेका थिए ।