छतको पानी व्यवस्थापन नगरे भरतपुर महानगरले सेवा बन्द गर्ने

चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिधैँ सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि कडाइ गरिएको हो । भरतपुर महानगरपालिका–१ ले पानी व्यवस्थापन नगरे स्थानीय निकायबाट दिइने सेवा बन्द गर्ने भएको छ । वडाध्यक्ष केशव महर्जनका अनुसार लायन्सचोक, सहिदचोक, पुलचोक, मिलनरोड, मेनरोड, प्रगतिपथ, बालकुमारी क्याम्पस रोड, पोखरा बसपार्क, लीलाचोक र उद्योग बाणिज्य सङ्घ टोललगायतका क्षेत्रमा भएका घरले आफ्नो छतमा आएको पानी सिधैँ रोडमा फाल्दा सर्वसाधारण पैदलयात्रुदेखि व्यवसायीलाई समेत समस्या परेको गुनासो आएपछि सेवा बन्द गर्ने निर्णय गरिएको हो । वडाध्यक्ष महर्जनले भने, “हामीले पटक–पटक सूचना जारी गरेका छौँ । अब कार्यान्वयनमा जाने समय आयो”, सडकमा पानी फाल्दा सडक बिग्रने, यात्रुहरूले समस्या भोग्नुपर्ने उनले बताए ।  गत वैशाखमा सूचना जारी गरेको भए पनि यसको कार्यान्वयनमा नआएपछि पटक–पटक गरी बुधबार तेस्रोपटक सूचना जारी गरिएको हो । “मुख्य बजार क्षेत्रमा रहेका दुई हजार दुई सय घरधुरीमा यो समस्या रहेको छ । पानी व्यवस्थापन नगर्ने घरलाई वडा कार्यालयले दिने सेवामा रोक लगाउँछौँ”, उनले भने । सूचना जारी भएको सात दिनपछि कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए । कार्यान्वयनमा आएसँगै बजार क्षेत्रका घरधनीले वडाबाट सेवा लिन जाँदा स्थलगत निरीक्षण गरेरमात्रै सेवा प्रवाह गरिने छ । “वडाको निर्णय नमान्ने हो भने मानवीय संवेदनासँग जोडिएका विषय बाहेक अन्य सेवा दिन वडा कार्यालय बाध्यकारी हुनेछैन”, उनले भने । घरको छतमा जम्मा भएको पानी पाइपमार्फत व्यवस्थापन गर्न वडा कार्यालयले आफ्नो क्षेत्रमा रहेका १२ टोल विकास संस्थालाई परिपत्र गरेर जानकारीसमेत गराइसकेको छ । पहिलो चरणमा सहरी क्षेत्रमा यो नर्णय लागू गर्न लागिएको हो । विस्तारै अन्य क्षेत्रमा पनि यो नियम लागू गर्दै जाने उनको भनाइ छ । रासस

राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

चितवन । चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्याद आज सकिँदैछ ।  ‘शुक्रबारदेखि घरटहरा भत्काउन थाल्छौँ’, उनले भने । उक्त ठाउँमा सिँचाइ विभागको दुई बिघा १० कट्ठा तथा हुलाकको पाँच कट्ठा जग्गा छ । विसं २०५० मा राप्ती नदीको बाढीले घरवारविहीन बनाएका परिवारलाई त्यहाँ राखिएको थियो । ‘तत्कालीन समयमा १० वर्षका लागि राखिएको पाइएको छ, जग्गाको स्वामित्व भएका दुई कार्यालयले खाली गरिदिन पत्राचार गरेपछि सहजीकरण गर्न लागेका हौँ’, प्रमुख लामाले भने । सो ठाउँमा सुरुआतमा दुई सय २३ परिवार बसेका थिए । पछि केही पुरानै ठाउँमा फर्किएपछि हाल सो ठाउँमा एक सय ४६ परिवारको बसोबास छ । प्रमुख लामाका अनुसार १७ परिवार मात्रै भूमिहीन रहेका छन् । उनीहरुलाई विकल्प दिएर खाली गर्न लागिएको उहाँको भनाइ छ । भूमिहीनलाई राप्ती–७ मा जग्गा दिनका लागि राष्ट्रिय भूमि आयोगसँग छलफल गरिएको प्रमुख लामा बताउँछन् । उनले सो ठाउँमा घर बनाउनका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको बताए । सो ठाउँमा अधिकांश थारु समुदायको बसोबास रहेको छ । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले थारु समुदायको घर नभत्काउन आग्रह गरेको छ । सभाले विज्ञप्ति जारी गरी बिना विकल्प घर भत्काउन अगुवाइ नगर्न नगरपालिका र दलहरुलाई आग्रह गरेको छ । थाकस चितवनका सभापति ललित चौधरी र सचिव सन्तुकमार चौधरीले विज्ञप्ति जारी गर्दै विकल्प खोजेर मात्र जग्गा खाली गराउन आग्रह गरेको छ । रासस

जथाभावी फोहोर फ्याँक्नेहरूबाट वीरगन्ज महानगरले उठायो ६ लाख जरिवाना

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को तीन महिनामा जरिवानावापत छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०–८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्पmद्दिन मियाँले जानकारी दिए । उनका अनुसार गत आव २०७९–८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार पाँच सय पाँच राजस्व सङ्कलन भएको छ । ‘घर, पसल र कार्यालयबाट निस्कने फोहर जताततै फ्याँक्ने स्थानीयहरूमा प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथी तारा एमके इनरनेसनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ । विगतमा डम्पिङ साइट नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकामा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइट बनाएपछि फोहरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उनले बताए । विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगन्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो । सामानसहित ट्रक नियन्त्रणमा बिलबिजकभन्दा बढी लोड गरेको तयारी कपडा तथा विद्युतीय सामानसहित पर्सा प्रहरीले ट्रक निन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित सडकखण्डबाट बिलबिजकभन्दा बढी सामान लोड गरेको ना३ख ४६५१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बिलविजकभन्दा बढीका सामान बोकेको ट्रक वीरगन्जबाट झापातर्फ जाँदैै गरेको गोप्य सूचनाका आधारमा रोकेर जाँच गर्दा बिलबिजक शङ्कास्पद देखिएकाले ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । बरामद सामग्रीको मूल्याङ्कन करिब रु ४२ लाख ३२ हजार आठ सय २७ कायम गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ । रासस