बीपी राजमार्गको धुलिखेल-दाप्चा खण्ड चौडा पारिँदै, ३ अर्ब ७९ करोडको स्रोत प्रस्ताव

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलदेखि नमोबुद्ध नगरपालिकाको दाप्चा १ नम्बर पुलसम्मको सडक खण्ड थप चौडा पारिने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार २० दशमलव ६ किलोमिटर लम्बाइको उक्त सडक विस्तारका लागि ३ अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० रुपैयाँ बराबरको स्रोत प्रस्ताव गरिएको हो ।

हाल एक लेनभन्दा केही फराकिलो अर्थात् सामान्यतया ५ दशमलव ५ मिटर (इन्टरमिडियट) चौडाइको मुख्य कालोपत्रे रहेको यस सडकलाई विस्तार गरी १० मिटरसम्मको मुख्य कालोपत्रे बनाइने कार्यालयले जनाएको छ । 

सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार पार्ने कामसमेत अन्तिम चरणमा पुगेको छ ।

डीपीआरको कुल लागत अनुमानअनुसार सडक फराकिलो बनाउन प्रतिकिलोमिटर करिब १८ करोड ६ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । उक्त बजेट सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाइएको प्रमुख योगेशले बताए । ‘स्रोत सुनिश्चित भएलगत्तै ठेक्का प्रक्रियामा गइनेछ र यसै वर्ष विस्तारको काम सुरु हुनेछ,’ उनले भने ।

धुलिखेलदेखि भकुण्डेबेँसीसम्म सडकको दायाँबायाँ रहेका रूख कटान गर्नुपर्ने तथा घुम्ती र मोड सुधारका लागि केही घरसमेत भत्काउनुपर्ने भएकाले ठेक्का प्रक्रियासँगै निर्माण कार्य सुरु हुन केही महिना लाग्न सक्ने कार्यालयले जनाएको छ । निर्माण सुरु भएको मितिले तीन वर्षभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी समयसीमा तोकिनेछ ।

सडक सीमाभित्र पर्ने दायाँबायाँ १५ मिटर क्षेत्रका संरचना तथा जग्गाको मुआब्जा वितरण कार्य यसअघि नै सम्पन्न भइसकेको इन्जिनियर योगेशले स्पष्ट पारे । विस्तार गर्न लागिएको उक्त खण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिका क्षेत्रमा पर्दछ ।

यसैगरी, सोही राजमार्गअन्तर्गत काभ्रेको रोशी क्षेत्र तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा पछिल्ला वर्षहरूको बाढीपहिरोले क्षतिग्रस्त बनाएका खण्डहरूको पुनर्निर्माण गर्दा नाला र ढलसहित ११ मिटर (मुख्य कालोपत्रे ७ मिटर) फराकिलो बनाउने योजनासहित काम अघि बढाइएको कार्यालयले जनाएको छ ।

Share News