काठमाडौं । भाटभटेनी सुपरमार्केटले सरकारलाई आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४ करोड ६१ लाख रुपैयाँभन्दा बढी कर तिरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद व्यवसाय पुनः सञ्चालन गर्दै राजस्वमा उल्लेख्य योगदान पुर्याएको भन्दै सरकारले कम्पनीलाई विशेष सम्मान गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार उक्त आर्थिक वर्षमा कुल १ अर्ब ४ करोड ६१ लाख ६५ हजार ९२६ रुपैयाँ ९६ पैसा कर तिरेको हो । यसमध्ये आयकरबापत ६८ करोड ४९ लाख २९ हजार ६९३ रुपैयाँ ९६ पैसा र मूल्य अभिवृद्धि कर (भ्याट) बापत ३६ करोड १२ लाख ३६ हजार २३३ रुपैयाँ दाखिला गरेको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंसिर १ गते मंगलबार काठमाडौंमा आयोजना गरेको समारोहमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई विशेष सम्मानपत्र प्रदान गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका तर्फबाट मीनबहादुर गुरुङकी श्रीमती सावित्रा गुरुङलाई सम्मानपत्र हस्तान्तरण गरे ।
प्रतिकूल तथा विषम परिस्थितिका बाबजुद उदाहरणीय व्यावसायिक उत्थानशीलता प्रस्तुत गर्दै मुलुकको राजस्वमा निरन्तर योगदान पुर्याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा देशकै ठूलो खुद्रा व्यापारिक सञ्जालमध्ये एक भाटभटेनीका सुपरमार्केटहरू प्रदर्शनकारीको निशानामा परेका थिए । आन्दोलनका क्रममा कम्पनीले ठूलो भौतिक तथा आर्थिक क्षति बेहोर्नुपरेको थियो ।
तर, क्षतिपछि कम्पनीले तीव्र गतिमा पुनर्निर्माण तथा पुनः सञ्चालनको काम अघि बढाएको थियो । कर्मचारीको रोजगारी जोगाउँदै एक वर्षकै अवधिमा लगभग सबै स्टोर पुनः सञ्चालनमा ल्याउन सफल भएको कम्पनीले जनाएको छ ।
अर्बौंको सम्पत्तिमा क्षति पुगे पनि व्यवसायलाई पुनः सञ्चालन गर्दै एक वर्षमै १ अर्ब रुपैयाँभन्दा बढी कर दाखिला गरेको योगदानको कदरस्वरूप सरकारले राष्ट्रिय कर दिवसका अवसरमा भाटभटेनीलाई विशेष सम्मान प्रदान गरेको हो ।
