पूर्व-पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
काठमाडौं । पूर्वपश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् । मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए । मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे । पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती-हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए । चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती-हिराचन उपक्रम (जेभि)सँग २४ असार २०७५मा १७ करोड २२ लाख (कर सहित) मा ठेक्का समझौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नु पर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर बाँड्ने
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट चुक्ता पुँजी १३ करोड ४० लाख रुपैयाँको १० प्रतिशतका दरले १ करोड ३४ लाख ५ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीका अध्यक्ष सरोज काजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रस्ताव गरिएको उक्त लाभांश १४औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने उनले बताए । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १० प्रतिशत बोनस सेयर ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मुग्लिन-पोखरा सडक: पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
काठमाडौं । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्ड अन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडक छेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्ड अन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । हाल २ लेनमा कालोपत्रको काम भइरहेको छ भने २ लेन सकिएपछि अर्को २ लेनमा कालोपत्र हुनेछ । पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको छ । ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किलोमिटर खण्डमा ४ लेन र ७.७९ किलोमिटर खण्डमा २ लेन कालोपत्र सम्पन्न भएको छ । उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन रहेको छ । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किलोमिटर कालोपत्र भएको छ । ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्य बमोजिम ११ वटै पुल बनेका छन् । ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१.५ किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५.२ किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिए । विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा पाएको थियो ।