दमौलीमा निर्माणाधीन ४ लेनको पुल वैशाखभित्र सम्पन्न गर्ने, ७४ प्रतिशत प्रगति
काठमाडौं । मुग्लिन-पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन ४ लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका-४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उनले बताए । सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उनले भने, ‘पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।’ उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ । ३१५ मिटर लामो पुलमा ६ वटा स्पान रहनेछ । पुलको वारिपारि २/२ ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उनका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । ‘मिडल स्पान २ वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ,’ उनले भने । १ अर्ब २१ करोड रुपैयाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ । सूचना अधिकारी पाण्डेले मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिए । कालोपत्र सबै सकिएको बताउँदै उनले सडकका अन्तिम चरणका काम मात्र बाँकी रहेको उल्लेख गरे । पुलको पहुँच मार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताए । निर्माण कम्पनी व्यवस्थापक दिनेश कुमार श्रेष्ठले निर्धारित मिति अगावै पुल निर्माणको काम सकिने जानकारी दिए । उनका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्ने गरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक १५० कामदार खटाइएको छ । ६ वटा स्पानमध्ये २/२ स्पानको काम सकिएको र बीचको २ वटा स्पान ६३ मिटरको काम भइरहेको उनले जानकारी दिए । पुलको दायाँबायाँ ५ सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको उनले उल्लेख गरे । उनले भने, ‘बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।’ पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल ४ लेनको हुनेछ । हाल नदीमाथि रहेको २ लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।
एक अर्ब ४७ करोड लागतको पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
काभ्रेपलाञ्चोक । निर्धारित समयसीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणअन्तर्गत पाँचखाल नगरपालिकाका छ हजार परिवारमा खानेपानी पुर्‍याइएको छ । योसँगै आयोजनाबाट यहाँका ३१ हजार नागरिक लाभान्वित हुनेछन् । विविध कारण समयसीमाभन्दा तीन वर्षपछि आयोजना निर्माण सकिन लागेको हो । निर्माणाधीन उक्त आयोजनाको भौतिकतर्फ करिब ९९ प्रतिशत प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ । गत वर्षको असोजमा आएको बाढीपहिरोले क्षतिग्रस्त बनेपछि आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । साथै सुनकोशी नदीस्थित स्रोतबाट पानी ल्याएर पाँचखाल–९ डाँडागाउँस्थित ३९ लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र तथा ओभरहेड ट्याङ्कीमा पानी सङ्कलन गरी परीक्षण सकेर औपचारिक रूपमा लक्षित बस्तीसम्म वितरण गरिएको उनले जानकारी दिए । 'थपिएकासमेत केही परिवारमा पानी पुर्याउन थप अनुसन्धान भइरहेको छ, आयोजना अन्तिम चरणमा पुगेकाले पुस दोस्रो सातासम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौँ', लामिछानेले भने । उनका अनुसार स्रोतबाट पूर्ण क्षमतामा प्रतिसेकेण्ड ८४ लिटरका दरले पानी प्रशोधन केन्द्रमा ल्याइ उपभोक्ताका घरमा पानी पठाइएको छ । उपभोक्ता समितिले गत वर्षको असोजमा पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा तथा पर्खाल भत्काएको, ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा रु एक करोड ७० लाख क्षति पुर्याएपछि योजना असफल भएको थियो । दातृ निकायसँगको समन्वयमा समयावधि थप्दै आयोजना सफल बनाइएकामा समितिले औपचारिक रूपमा उद्घाटन गर्न भने बाँकी रहेको जनाएको छ । आयोजनाको कार्य अन्तिम चरणमा पुगेसँगै प्रतिघण्टा तीन लाख दुई हजार ४०० पानी सहज रूपमा तान्न सकिने समितिका अध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिनेछ । आयोजनाअन्तर्गत भौतिकतर्फ सुनकोसी नदी किनारमा छ वटा इनार, चार/चार लाख लिटर क्षमताका दुई वटा पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ओभरहेड ट्याङ्की, १० वटा नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की र १५ वटा पाले घर निर्माण सम्पन्न भएका छन् । त्यस्तै, पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किमी शाखा प्रसारण लाइनमध्ये ३५ किमी, २३० किमी वितरण पाइप लाइनमध्ये २२० किमीको काम सम्पन्न भएको समितिले जनाएको छ । हाल कूल छ हजार ३७ धारा सञ्चालनमा आएका छन् । सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७९ माघ मसान्तसम्म सम्पन्न गर्नेगरी विसं २०७७ असार १५ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढीपहिरोका कारण पूर्वाधारमा क्षति पुर्याएपछि लम्बिएको हो । पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको समितिका अध्यक्ष लामिछानेले बताए । उनका अनुसार एक अर्ब ४७ करोड ४३ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरका ३१ हजार ४१५ जना नागरिक लाभान्वित भएका हुन् । दैनिक प्रतिव्यक्ति १९२ दशमलव शून्य पाँच लिटर पानी उपभोग गर्न पाउने प्रक्षेपण गरिएको आयोजना कार्यालयले जनाएको छ । यस आयोजनाबाट सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने प्रक्षेपण गरिएको हो । सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारसहित उपभोक्ताको पाँच प्रतिशत परिवारले प्रतिपरिवार १८ हजार रुपैयाँका दरले रकम बुझाएका हुन् । त्यस्तै, आयोजनाका लागि सम्झौता अनुसार २१४ विपन्न वर्गका उपभोक्ताले भने स्थानीय सहकारी संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएका छन् । रासस
पाँच वर्षमा ५१ प्रतिशत मात्रै प्रगति, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन अलपत्र
पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । माघ २०७७मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ । शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् । मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएको प्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए । उनले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए । यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।