स्थानीयले स्नो रिभर्सको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत २३ गते अन्तिम दिन रहेको छ । चैत ९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ३७ लाख ५० हजार रुपैयाँको ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र सिरीजङ्गा गाउँपालिका-१ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिका-५ र ६, पाथीभरा याङवारक गाउँपालिका-५ र ६ र पाँचथरको हिलिहाङ गाउँपालिका-१ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय याम्फुदिन, नेपाल बैंकको सिरीजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन् ।
भौतिक पूर्वाधारमन्त्री लम्सालसँग निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको भेट
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । छलफलका क्रममा मन्त्री लम्सालले निर्माण क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउन सूचना प्रविधिको उच्चतम प्रयोग गरिने बताए । ‘निर्माण क्षेत्रमा हुने ढिलासुस्ती र अनियमितता रोक्न प्रविधिको प्रयोग अपरिहार्य छ’, उनले भने, ‘हामी यस क्षेत्रलाई भ्रष्टाचार शून्य बनाउने लक्ष्यका साथ अघि बढ्दै छौं ।’ मध्यपूर्वमा बढ्दै गएको तनावका कारण इन्धन अभाव र निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको मन्त्री लम्सालले उल्लेख गरे । इन्धन र कच्चा पदार्थको मूल्य बढेकाले निर्माण आयोजनाहरूको लागत बढेको व्यवसायीहरूको गुनासो छ । यो समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आगामी दुई हप्ताभित्र विशेष निर्देशिका जारी गर्ने तयारी गरेको छ । मन्त्री लम्सालले महासंघका नवनिर्वाचित अध्यक्ष पाण्डेसहितको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै सरकार र निजी क्षेत्र मिलेर मात्रै भौतिक पूर्वाधारको विकास सम्भव हुने बताए । जवाफमा अध्यक्ष पाण्डेले व्यवसायीहरूका समस्या समाधानमा सरकारको तर्फबाट ठोस पहल हुने अपेक्षा राखेका थिए ।
बुद्धभुमी नेपाल हाइड्रोको ४० करोडको हकप्रद सेयर बिक्री खुला
काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ४० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले २०८३ वैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक नुवाकोट, एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।