कालिन्चोक हाइड्रोको आईपीओ बिक्री खुला, १० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज चैत २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् १६ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा छिटोमा चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत वैशाख ६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीअ‍ोमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
ईङवा हाइड्रोको साढे ४३ लाख कित्ता सेयरको लकइन वैशाख २६ गते सकिने
काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनीको सेयर ‘लकइन’ अवधि २०८३ वैशाख २६ गते सकिने भएको छ । संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको गरी कुल ४५ लाख ३६ हजार ७०३ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको ४२ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ३ लाख ६ हजार ८४० कित्ता र कर्मचारीको २९ हजार ८६३ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । यद्यपि, सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले भने सेयर खरिद–बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार आईपीओ बाँडफाँडपछि तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याइएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ ।
विदेशमा रहेका २१ हजार नेपालीले पाए याम्बालिङ्ग हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँड गरेको छ । कम्पनीले चैत १८ गतेका दिन बाँडफाँड गरेको जनाएको छ । जारी पुँजी ७० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २१ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएको छ । कम्पनीले उक्त सेयर चैत ८ गतेदेखि चैत ११ गतेसम्म विदेशमा रहेका नेपालीलाई बिक्री खुला गरेका थियो । उक्त समयमा रितपूर्वक आवेदन दिने २१ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गरेको बिक्री प्रबन्धक एनएमबि मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ रिजल्ट वा मेरो सेयरबाट हेर्न सकिने जनाएको छ ।