सहमति जुट्छ भने म सल्लाहकार बस्न मञ्जुर छु : उत्तम भ्लोन लामा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष तथा आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षका बलिया दाबेदार उत्तम भ्लोन लामाले संस्थाको वृहत्तर हित र एकताका लागि आफू पद छोड्न तयार रहेको घोषणा गरेका छन्  ।  उर्जा क्षेत्रको विकासका लागि अबको इप्पान कार्यक्रममा बोल्दै लामाले व्यक्तिगत पदभन्दा संस्थाको गरिमा र एकता ठूलो भएको बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका दाबेदार लामाले संस्थाभित्र निर्वाचनभन्दा सर्वसम्मतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।  उनले भने, ‘इप्पानलाई एकताबद्ध बनाएर लैजानका लागि यदि कार्यसमितिका सबै साथीहरूले बलराम खतिवडाजीलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मान्नुहुन्छ भने म आजैका मितिदेखि आफ्नो दाबी छोडेर सल्लाहकारको रूपमा सहयोग गर्न तयार छु ।’ संस्थाभित्र फुट हुनुभन्दा मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको उनको तर्क थियो । लामाले इप्पानलाई अब परम्परागत स्वरूपबाट रूपान्तरण गरी महासंघको ढाँचामा लैजानुपर्ने प्रस्ताव गरे ।  विधान संशोधनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उल्लेख गर्दै उनले ६ महिनाभित्र विधान परिमार्जन र एक वर्षभित्र चुनाव गराउने कार्ययोजनाका साथ आफूहरू अघि बढिरहेको स्पष्ट पारे । संस्था दर्ता ऐन र कानुनी जटिलताहरूका कारण केही समय ढिलाइ भए पनि संस्थालाई समावेशी र खुला बनाउने अभियान नरोकिने उनले बताए । नेतृत्वमा नैतिकता  हुनुपर्ने कुरामा जोड दिँदै लामाले आफू नेतृत्वमा आए पनि लामो समय पद ओगटेर नबस्ने घोषणा गरे ।  उनले भने, ‘म नेतृत्वमा आएँ भने पनि दुई वर्षभन्दा बढी पदमा बस्ने छैन । नेतृत्व हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई अवसर दिने संस्कार हामीले बसाल्नुपर्छ ।’ परिवर्तनको एजेन्डा र इतिहास आफू इप्पानमा सधैं परिवर्तन र सुधारको पक्षमा उभिएको स्मरण गर्दै उनले कृष्ण आचार्यको पालादेखि नै संस्थागत सुदृढीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए ।  इप्पान सबैको पहुँचमा पुग्ने साझा चौतारी हुनुपर्ने र यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको उनको भनाइ थियो ।

९००० मेगावाट उत्पादन गर्ने सरकारी घोषणामा इप्पानको आपत्ति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले निजी क्षेत्रलाई बाहिर राखेर देशको ऊर्जा लक्ष्य पूरा हुन नसक्ने बताएका छन्  ।  इप्पानको एक कार्यक्रममा बोल्दै डाँगीले संस्थाको ऐतिहासिक यात्रा, वर्तमान चुनौती र सरकारको नीतिका बारेमा आफ्नो धारणा राखेका हुन् । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहे पनि सरकारको पछिल्लो बजेट र नीतिहरूले यस क्षेत्रलाई केही हदसम्म बेवास्ता गरेकोमा डाँगीले चिन्ता व्यक्त गरे ।  विशेषगरी १० मेगावाटभन्दा माथिका आयोजनाहरूको विद्युत खरिद सम्झौतामा रहेको अन्योल र सरकारको ९००० मेगावाट उत्पादन गर्ने लक्ष्यमा निजी क्षेत्रको भूमिकालाई खुम्च्याउन खोजिएकोमा उनले कडा आपत्ति जनाए । वरिष्ठ उपाध्यक्ष डाँगीले इप्पानको सुरुवाती दिनहरू स्मरण गर्दै भने, ‘जम्मा ४ वटा कम्पनी र ७ जना संस्थापक सदस्यहरूबाट सुरु भएको इप्पानको यात्रा आज ७०० कम्पनीहरू आबद्ध हुने स्तरसम्म आइपुगेको छ । यो निजी क्षेत्रको लगाव र ऊर्जा विकासप्रतिको प्रतिबद्धताको ठूलो उपलब्धि हो ।’ संस्थालाई अझ बढी गतिशील र समावेशी बनाउन विधान संशोधन अनिवार्य रहेको उनको तर्क थियो । विसं २०५७ मा स्थापना भएको इप्पानको विधान यसअघि २०६७, २०७६ र २०७८ सालमा परिमार्जन भइसकेको उल्लेख गर्दै डाँगीले भने, ‘अहिलेको बदलिँदो परिस्थिति र आवश्यकता अनुसार विधानलाई अझै परिष्कृत गर्दै लैजान कार्यसमितिले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको छ ।’ एकता र साझा नेतृत्वको आह्वान आगामी नेतृत्व चयनका सन्दर्भमा उनले सबै सदस्यहरूलाई एकजुट हुन अपिल गरे ।  ‘संस्था बलियो भयो भने मात्र हाम्रा एजेन्डाहरू बलियो हुन्छन्,’ उनले भने, ‘नेतृत्व चयन गर्दा सर्वसम्मति र समझदारीलाई प्राथमिकता दिँदै संस्थाको हितलाई सर्वोपरि राख्नुपर्छ ।’

१ सयमै बिक्रीमा राख्यो बुद्धभूमि नेपाल हाइड्रोले ४.७४ लाख कित्ता सेयर

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर बोलकबोल (गोप्य शिलबन्दी टेन्डर) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहका लागि निष्काशन गरिएको हकप्रद सेयरमध्ये बिक्री नभई बाँकी रहेका ४ लाख ७४ हजार ६९६ कित्ता सेयर बिक्री खुला गरेको हो ।  कम्पनीको उक्त सेयर खरिदका लागि योग्य इच्छुक व्यक्ति, कम्पनी, संघसंस्था तथा अन्य निकायले जेठ २९ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले प्रति सेयर आफूले कबुल गर्ने मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले सेयर मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । सेयर खरिदका लागि एनआईसी एशिया बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत, नुवाकोट, चितवन र नेपालगञ्जस्थित शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।