कोशी प्रदेशमा सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य गरिने
काठमाडौं । कोशी प्रदेश सरकारले सार्वजनिक यातायात सेवालाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउन नयाँ कदम चाल्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनहरूमा जीपीएस ट्र्याकिङ प्रणाली जडान कार्यलाई अनिवार्य गरिने घोषणा गरे । सोमबार प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री लिङ्थेपले यातायात क्षेत्रको विकृति अन्त्य गर्न र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न यो नीति ल्याइएको बताए । सार्वजनिक सवारीमा जीपीएस जडान भएपछि गाडीहरूको गति, गुडिरहेको लोकेसन (स्थान) र रुटको वास्तविक समयमै अनुगमन गर्न सहज हुनेछ ।
पूर्वाधार क्षेत्रका लागि १ अर्ब ४२ करोड विनियोजन
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको छ । सोमबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको वार्षिक आय-व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले पूर्वाधार क्षेत्रका लागि मात्रै १ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । प्रदेशको समग्र आर्थिक विकास, सडक सञ्जालको विस्तार, र अधुरा आयोजनाहरूलाई पूर्णता दिन यो बजेट केन्द्रित रहेको उनले बताए । उनले प्रदेशका रणनीतिक सडक र गौरवका आयोजनाहरूलाई निरन्तरता दिइने, विगतका वर्षदेखि रोकिँदै आएका र अलपत्र परेका पूर्वाधारका कामहरूलाई गति दिइने, ग्रामीण र सहरी क्षेत्रको सन्तुलित विकासका लागि पूर्वाधार साझेदारी कार्यक्रमलाई जोड दिइने जानकारी दिए । ‘प्रदेशको समृद्धि र दिगो विकासको आधार नै मजबुत पूर्वाधार हो । त्यसैले हामीले भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर १ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेका छौं,’ बजेट भाषणका क्रममा मन्त्रीले भने ।
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
काठमाडौं । रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । प्राधिकरणको रसुवा वितरण केन्द्र प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जोडिएसँगै नियमित रुपमा बिजुली बल्न थालेको छ । प्राधिकरणले गोसाइँकुण्ड, लाङटाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराउनका लागि नौ करोड रुपैयाँ बराबरको लगानी गरिएको केन्द्र प्रमुख तामाङले जानकारी दिए । केन्द्रीय प्रसारण लाइन जोडिएपछि लाङटाङ क्षेत्रका करिब २०० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । केन्द्रीय प्रसारण लाइनको बिजुली जोडिएपछि होटल व्यवसायी लाभान्वित भएका छन् । यस्तै, पर्यटक तथा होटल व्यवसायी स्थानीयवासीमा खुसियाली छाएको छ । यस्तै, स्थानीय क्यान्जिन भ्यालीमा सञ्चालनमा रहेको चिज उद्योग, बेकरी उद्योगलगायत अन्य साना घरेलु उद्योगका साथै ठूला होटल व्यवसायीलाई व्यवसाय सञ्चालनमा ठूलो टेवा र राहत पुगेको केन्द्र प्रमुख तामाङको कथन छ । क्यान्जिन गुम्बा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको एक प्रसिद्ध हिमाली बस्तीका रुपमा स्थापित छ । समुद्री सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको यो स्थान लाङटाङ पदयात्राको प्रमुख गन्तव्यसमेत हो । सो स्थानबाट हिमाल, हिमनदी तथा आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राधिकरणले पर्यटकीय क्षेत्र र विद्युत् सेवा नपुगेका स्थानहरुमा नियमित रुपमा बिजुली उपलब्ध गराउने अभियानलाई तीव्र पारेको छ । गत वर्ष मात्रै रसुवाको पर्यटकीय स्थल गोसाइँकुण्डमा बिजुली पुगेको थियो । यसअघि सो स्थानमा कादुरी फाउण्डेसनले निर्माण गरेको १०० किलोवाट क्षमताको लघु जलविद्युत् च्योहा खोला जलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध थियो । 'उक्त विद्युत् गृहमा समस्या आएपछि मर्मतमा लामो समय लाग्ने देखियो, वडा कार्यालयले नै समन्वय गरेर हामीले प्राधिकरणको लाइन जोडेका छौँ,' गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले भने । लघुजलविद्युत् आयोजनालाई मर्मत गरी प्राधिकरणको प्रसारण लाइनमा नै ‘सिङ्क्रोनाइज’ गर्ने व्यवस्था मिलाइने अध्यक्ष तामाङको भनाइ छ । रासस