३५ प्रतिशत लाभांश बाँड्ने सेन्चुरी इनर्जीको घोषणा
काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर गरि जम्मा ३५ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १५ गते काठमाडौंमा बिहान साढे ८ बजे वार्षिक साधारण सभा बोलाएको छ कम्पनीको सभाले पुँजी संरचना परिवर्तन तथा पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने, हकप्रद सेयर वा जगेडा सेयर जारी गर्ने, सर्वसाधारणलाई कम्पनीको साधारण सेयर जारी गर्ने र सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग सम्बन्धी छलफल गर्नेछ । सभाले सञ्चालक समितिको अध्यक्षबाट आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
महासंघको खबरदारी : निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार अघि नबढोस्
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार जान नहुने बताएका छन् । बिहीबार महासंघ परिसरमा महासंघका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौं स्मृति दिवसमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने बताए । रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्ने माग गरे । जेनजी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट सरकार पाएको उल्लेख गर्दै अध्यक्ष सिंहले अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताए । मुलुकको आर्थिक अवस्था नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित बनेको जिकिर गरे । अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने मात्र नभइ जेन जीहरुको पवित्र उद्देश्यअनुरुप मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि गम्भीर हुनुपर्ने बताए । अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव भइरहेको र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीहरुलाई लाइसेन वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन मात्रै वितरण गरिरहेको बताए । उनले भने, ‘जेन जी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट हामीले सरकार पाएका छौँ । अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको छ । मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित भएको छ । प्राकृतिक प्रकोपको पनि सामना गरिरहेका छौँ । निर्माण क्षेत्रलाई व्यवस्थित गर्न तल्लिनका साथ अघि बढेका छौँ । निर्माण क्षेत्रमा आपराधिक गतिविधि गर्नेहरुको संलग्नता विगतमा जुन हुने गर्दथ्यो, त्यसबाट हामीले आपराधिक गतिविधिहरु गर्ने र उहाँहरु जसरी निर्माण क्षेत्रमा हाबी हुनुभएको थियो ।’ कुनैपनि निर्माण कार्यको स्टिमेट गर्दा वास्तविक हुनुपर्ने र सकेसम्म कामहरु साना प्याकेजहरु बनाएर बढी भन्दा बढी निर्माण व्यवसायीहरुलाई सहभागिता जनाउने र स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउनसके निर्माणको गति अघि बढ्नसक्ने जिकिर गरे । सडकबाट बनेको सरकारबाट निर्माण व्यवसायीहरुले ६ महिनाभित्र निर्वाचन गराउने मात्रै अपेक्षा नगरेको स्पष्ट पारे । मुलुकमा भएको बेथिति, भ्रष्टाचारलाई अन्त्य गरेर आम जनतालाई सन्देश दिन सक्नुपर्ने उल्लेख गरे । जनतालाई सुखद् अनुभुति दिन नसके अहिलेको सरकार पनि विगतको भन्दा फरक नहुने जिकिर गरे ।
बाढीपहिरोका कारण तीन प्रदेशका ९ राजमार्ग अवरुद्ध
काठमाडौं । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् । यस्तै बाढीपहिरोलो इलामको इलाम नगरपालिका वडा नं ९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा नं २ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं २ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ माम्तीखोलास्थित वीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ नेपालथोकस्थित वीपी राजमार्गसमेत अवरुद्ध भएको छ । यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका वडा नं ८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए । वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं १ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै वकैया गाउँपालिका वडा नं ११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फीरुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।