अवरुद्ध रिडी-तम्घास सडक खुल्यो

काठमाडौं । सुख्खा पहिरोले अवरुद्ध मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडक खण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको चट्टान सहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी-तम्घास सडक खण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।

पश्चिमतर्फका सडक सुचारू भइसके, बीपी र मेची राजमार्ग छिट्टै सञ्चालनमा ल्याउँछौं : मन्त्री घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पश्चिम तर्फका सडक खण्डमा सवारी साधन सञ्चालनमा ल्याइसकेको बताएका छन् । भारी वर्षा, भूस्खलन र बाढीबाट प्रभावित सडकहरूको द्रुत मर्मत गरी पश्चिमतर्फ यातायात सुचारू गरिएको उनले बताए ।  उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको छ । प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी राखेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।  ‘हिजोदेखि नै मेसिन र जनशक्ति परिचालन गरी काठमाडौंबाट पश्चिम र मुग्लिङ हुँदै पोखरा र नारायणघाटतर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट-मुग्लिन राजमार्गका अवरोध हटाई सवारी साधन संचालन हुन सक्ने बनाई सकिएको छ भने अवरुद्ध बीपी राजमार्ग (भकुन्डेबेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने र डाइभर्सन बनाउने काम शुरु भइसकेको छ,’ मन्त्री कुलमानले भने ।  मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायहरूसँग समन्वय गरी सडक विभाग मार्फत सडक खोल्ने तथा मर्मत कार्यलाई गति दिएको उनको भनाइ छ । असोज १७, १८ र १९ गतेको भारी वर्षा र जलवायु जन्य घटनाका कारण देशका विभिन्न स्थानहरूमा उत्पन्न भूस्खलन र बाढीका घटनाबाट सडकमा कटान हुने, पहिरो जाने एवं पुल बग्ने जस्ता घटना हुन गई सडक सञ्जाल र यातायात प्रभावित भएका छन् ।

वर्षाका कारण २ दर्जन सडकमा क्षति, खुलाउन ३ दिन लाग्ने, कुन-कुन सडक हुन् ?

काठमाडौं । अविरल वर्षाका कारण दुई दर्जन सडकमा क्षति पुर्याएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमकका अनुसार वर्षाका कारण पूर्वका दुई दर्जन बढी सडकमा क्षति पुर्याएको जनाएको छ ।  कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सामान्य पहिरो गएका ठाउँमा तत्काल पच्छ्याएर सवारी साधन सुचारु गरिएको छ । साथै, केही स्थानमा पहिरो पच्छ्याउन ३ दिनसम्म समय लाग्न सक्ने कार्यालयले जनाएको छ ।  कुन-कुन सडक भए अवरुद्ध ? सडक डिभिजन कार्यालय हर्कपुर अन्तर्गत रहेकाे हर्कपुर-ओखलढुंगा-सोलु, हलेसी-दिक्तेल-चखेवा सडक खण्डमा सामान्य पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खण्डमा सवारी आवागमन सुरू भएकाे जनाएकाे छ । आयोजना कार्यालय कटारी अन्तर्गत मिर्चिया-कटारी-घुर्मी सडक खण्डकाे ६४ किलोमिटर नजिकै पहिरो जाँदा अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी रहेको र एक दिन समय लाग्ने जनाएको छ । आयोजना कार्यालय गाईघाट अन्तर्गत रहेकाे गाईघाट-दिक्तेल सडक खण्डको ३७ किलोमिटरदेखि ४५ किलोमिटरसम्मको क्षेत्रमा पहिरो जाँदा अवरुद्ध भएको छ । सडक खुलाउन १ दिन लाग्ने जनाएको छ ।    सडक डिभिजन लहान अन्तर्गत बसाहा-चतारा सडक खण्ड जलमग्न भएको छ । जलमग्न सडकमा पानी व्यवस्थापनको काम भइरहेको छ ।  यस्तै, कदमाहा-गाईघाट सडक खण्डमा सामान्य पहिरो झरेको छ । पहिरो पच्छ्याएपछि सवारी आवतजावत सुचारु भइरहेको छ ।  सडक डिभिजन विराटनगर अन्तर्गत कान्छी बजार-चतारा सडक खण्डमा रुखहरू ढलेका छन् । रुख हटाएपछि उक्त सडक सुचारु भएको छ ।  यस्तै, चतारा बराहा क्षेत्र सडक खण्डको बराह नजिक र धरान-भेडेटार सडक खण्डको निशाने खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी छ । चतारा बराहा क्षेत्र सडक खुल्न ३ घण्टा र धरान-भेडेटार सडक खण्ड खुल्न २ घण्टाको समय लाग्नेछ ।  सडक डिभिजन धनकुटा अन्तर्गत भेडेटार-मूलघाट सडक खण्डमा ४ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि सवारी आवागमन सुचारु भएको छ । यस्तै, पाख्रिबास-लेगुवा सडक खण्डमा ६ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएर एकतर्फी सवारी आवतजावत भइरहेको छ ।  सडक डिभिजन तुम्लिङटार अन्तर्गत लेगुवा-खाँदबारी सडक खण्डमा खेवा खोला र लेगुवा-भोजपुर सडक खण्डमा चखेवा खोलामा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खुलेको छ ।  सडक डिभिजन इलाम अन्तर्गत जोर कलश फिक्कल सडक खण्डमा पहिलो झरेको छ । पहिरो पच्छ्याएर एकतर्फी सडक सञ्चालन गरिएको छ ।  यस्तै, फिक्कल-गोदाक सडक खण्डमा ठूलो पहिरो जाँदा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्नेछ । यस्तै, माइखोला पुल र माइखोला-राजद्वाली सडक खण्ड बन्द भएको छ । सडक खुलाउन ३ दिन समय लाग्नेछ । यस्तै, इलाम-धोवीधारा सडक खण्ड भासिएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्ने जनाएको छ । यस्तै, धोवीधारा-नेपालटार सडक खण्डमा पुवा खोला नजिकै सडक भासिएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ ।  यस्तै, नेपालटार-राके सडक खण्ड, राके-फिदिम सडक खण्डमा पहिरो झरेको छ । सडक सुचारु गर्न २ दिन समय लाग्नेछ । यस्तै, मेची करिडोरमा विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । उक्त सडक सुचारु गर्नका लागि कति समय लाग्ने भन्ने एकिन हुन सकेको छैन ।  तमोर कोरिडोर मूलघाट अन्तर्गत मूलघाट-सुभङ खोला सडक खण्डमा मेवा र चोरुवा खोलामा बाढी आएका कारण अवरुद्ध भएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ ।