अब साइकलबाटै वारपार गर्न मिल्ने, बन्दैछ ५ करोडमा साइकलमैत्री आकासे पुल
काठमाडौं । ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकल बाटै वार पार गर्न मिल्ने आकासे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरी बाबु महर्जनले वडा नं ३ र ४ धोबिघाट चोकको रिङरोड सडकमा निर्माण गरिने ३६.६१ मिटर लामो साइकलमैत्री एवं अपाङ्गतामैत्री आकासे पुलको शिलान्यास गरे । त्यस क्रममा उनले सडकको दुवै तर्फबाट साइकलमा सडक वार पार गर्न मिल्ने गरी आकासे पुल निर्माण गरिने जानकारी गराए । ‘समयमै गुणस्तरीय काम हुने विश्वास छ, यस क्रममा सरकार र महानगरका तर्फबाट कुनै पनि तहबाट बाधा-व्यवधान हुँदैन । निर्माण व्यवसायी, परामर्शदाताहरूबाट पनि यो काममा कुनै विलम्ब नहोस्,’ महानगर प्रमुख महर्जनले भने, ‘सम्भवतः यो नेपालमै पहिलो काम हुन्छ । यसलाई समयमै निर्माण गरी ठेकेदारप्रति रहेको नकारात्मक धारणा पनि परिवर्तन गर्न लागौँ ।’ महानगरको ५ करोड ४ लाख ४८ हजार ४२६ रुपैयाँको लागतमा निर्माण हुने पुल एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । लामा प्रगति-मनि बुद्ध जेभी, काभ्रेपलाञ्चोकले निर्माणको ठेक्का लिएको छ । गत असार २२ गते सम्झौता गरी १२ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको महानगरका सिडिई प्रदीप पौडेलले जानकारी दिए । शिलान्यास कार्यक्रममा वडा नं ४ का अध्यक्ष सन्तोष केसी, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन लगायतले आफ्नो धारणा राखे ।
१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षणमा मन्त्री घिसिङ, पुलबारे छिट्टै निर्णय गरिने
झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगति बारे जानकारी लिनुकासाथै स्थानीयसँग छलफल गरेका छन् । करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८मा पप्पु महादेवखिम्ती संयूक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङ अव यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए । उनले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौं, जनजीविकासँग जोडिएको रणनीतिक महत्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौं,चाँडै निकास दिन्छौं ।’ स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमासमेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न माग गरिएको थियो । निर्माण व्यवसायीकातर्फबाट २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटीलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संसोधनवमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको विमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी रहेको छ । यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका—२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गर्नुभएको थियो । बाढीका कारण उक्त पुल भाँचिएको थियो । उहाँले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे । मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, गृह सचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलगायत थिए ।
रिभर फल्स पावरको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ । भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका ७० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।