सञ्चालन हुन थाल्यो बेनी-दरवाङ सडक
काठमाडौं । म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रमा रहेका ३ वटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी-दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी-दरवाङ सडकमा यात्रु वाहक बस र माल वाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताए । सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुनसकेका थिएनन् । यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी-दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् । म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि दरवाङदेखि काठमाडौं र काठमाडौंदेखि दरवाङ रात्रिबस सञ्चालन गर्न थालिएको बताए । म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, भवन, खानेपानी, पुल, प्रसारण लाइन, सबस्टेसन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी-दरवाङ सडकको विभिन्न ठाउँमा रहेका पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित हुने गरेको छ ।
१० दिनमा पनि बनेन वैकल्पिक सडक, मेची राजमार्गका यात्रु र व्यवसायीलाई सास्ती
काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । १० दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ । सो सडक खण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ । तर खोलामा पानीको बहाव उच्च रहनुका साथै आवश्यक ह्युमपाइप अभाव भएकाले तत्काल सञ्चालन गर्न नसिकएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो । त्यो पार नलागेपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माणको काम भइरहेको छ । तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिला हुने सम्भावना छ,’ उनले भने । उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको र मङ्गलबारसम्म आइपुग्ने व्यवस्था गरिएको छ । डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारालासँगको स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘सकेसम्म चाँडो सडक खुलाउने पहल भइरहेको छ । प्राविधिक पक्षा सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौँ,’ प्रजीअ नेपालले भने । गत असोज १८ गतेको बाढीले यहाँको बेलीब्रिज बगाएपछि यो सडक पनि अवरुद्ध भएको हो । गत असारमा निर्माण सम्पन्न गरिएको बेलीब्रिज बाढीले बगाएपछि यहाँको आवागमन अवरुद्ध बनेको हो । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने यो वैकल्पिक सडक सञ्चालनका लागि प्रमुख विकल्प मानिएको छ । आइतबारदेखि तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कल सडकमार्फत साना सवारीसाधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालले बताए । तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ । वर्षासँगै आएको पहिरो झरेपछि विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम-राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भू-संरचनाका कारण सो सडक तत्काल खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।
मेलम्चीको खानेपानी काठमाडौं ल्याइयो, तीन तीन दिनको फरकमा धारामा पानी आउने
काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात् काठमाडौं ल्याइएको हो । वर्षातले क्षति गरेको कहीँ ठाउँमा मर्मतपश्चात् अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए । उनले भने, 'वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाव कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।' काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो । दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौं उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए । उनले भने, 'मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।' विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ । बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रूपमा छ देखि सात करोड लिटर पानी स्थानान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए । उनका अनुसार विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको हो । सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि काठमाडौंमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन । रासस