१४ वटा मेसिन परिचालन गरेर २ सातापछि मेची राजमार्ग सञ्चालन

काठमाडौं । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक खण्ड मर्मत सम्भार पश्चात् शनिबार राति ९ बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भइएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार पहिरो पन्छाउन कार्यालयले ६ वटा एक्स्काभेटर, १ जेसिबी, ६ वटा टिफर र १ वटा लोडर परिचालन गरेको थियो । ‘निकै ठूलो पहिरो खस्नाका साथै दिनहुँ भाँसिने समस्याले हामीलाई पहिरो पन्छाउन समय लाग्नुका साथै सास्ती पनि भयो,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘निरन्तरको प्रयासले सडक खुलाउन सफल भएका छौँ, पहिरो क्षेत्रमा ठूला सवारीहरू एक पटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन सरोकार भएका सबैलाई अनुरोध गर्दछौँ ।’ राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताए ।  मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा बुधबारदेखि तिल्केनी-सिमलगोलाई सडक खण्ड सञ्चालन गरिएको थियो । सो सडक खण्ड अन्तर्गत माईजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर सडक सञ्चालन गरिएको उनले जानकारी दिए । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) भने अझै सञ्चालनमा आउन सकेको छैन । सो सडक अन्तर्गत पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाउनाका साथै बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि हालसम्म अवरुद्ध छ । 

सडक अन्तर्गत २५८ ठेक्का रूग्ण, थप ५० वटा ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रूग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभाग अन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा, सुर्खेत, जनकपुर र दमौली मातहतका सडक डिभिजन कार्यालयले रूग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिवार १ वटा रूग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।  सडक डिभिजन कार्यालय काठमाडौंले ७, ओखलढुङ्गा तथा अछाम डिभिजनले ५/५, पाल्पाले ४, जनकपुरले २१, दमौलीले ४ र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले १/१ गरी ५० वटा ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सडक अन्तर्गत २५८ ठेक्का रूग्ण छन् । ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाइ निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्य स्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत  रुपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्न तर्फ कुनै चासो नदेखाइ ठेक्का सम्झौता उल्लङ्घन  गरिएको जनाइएको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिव कारण भए सत्य तथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेश्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

कञ्चनपुर–कमला सडक : दुईपटक म्याद थपिँदा पनि प्रगति ६७ प्रतिशत

सिरहा । रूपान्तरणीय गौरवको परियोजनाका रूपमा अगाडि बढाइएको कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिको काम म्याद सकिन करिब दुई महिना बाँकी छ । हालसम्मको निर्माण प्रगति भने ६७ प्रतिशत मात्रै छ । सडकखण्डको स्तरोन्नति तथा चार लेनमा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यस आयोजनाको ठेक्का सन् २०२० मा चाइना रेलवे कम्पनी–२ इञ्जिनियरिङ ग्रुपले पाएको थियो । रु १५ अर्ब ६६ करोडको लागतमा सुरु गरिएको आयोजना २८ अक्टोबर २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएका लक्ष्यअनुसार काम सम्पन्न नभएपछि दुईपटक म्याद थपिएको छ । पहिलोपटक १४ महिनाको र दोस्रोपटक १२ महिनाको म्याद दिइएको हो । हालको सम्झौताअनुसार कम्पनीले अब ३१ डिसेम्बर २०२५ भित्र काम सम्पन्न गर्नुपर्नेछ । सडक निर्माण कार्यलाई पूर्व र पश्चिम गरी दुई खण्डमा बाँडेर काम भइरहेको छ । पूर्वीखण्ड कञ्चनपुरदेखि कुशहा (३९ दशमलव ४२ किमी) र पश्चिमीखण्ड कुशहादेखि कमला नदीसम्म (४७ दशमलव ४१ किमी) रहेको छ । विशेष गरी पश्चिम खण्डअन्तर्गत लहान क्षेत्रको काम भने निकै सुस्त रूपमा भइरहेको छ । योजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सरोजकुमार कोइरालाका अनुसार केही मुख्य संरचनाको निर्माण नहुँदा अन्य काम अघि बढाउन नसकिएको हो । 'अण्डरपास, ओभरपास र आकाशेपुलको पाइल फाउण्डेशन जस्ता संरचना नबन्नु नै मुख्य अवरोध हो',उनले भने, 'यी काम नगरी अन्य संरचनाको निर्माण गर्न सकिँदैन । यही बाध्यताले काम ढिलो भएको हो ।' निर्माणस्थलमा पर्ने विद्युत् प्राधिकरणका पोल समयमै नहटाइँदा सडक निर्माणमा थप ढिलाइ भएको कोइरालाले बताए । पटकपटक अनुरोध गर्दा लहान क्षेत्रको उत्तरतर्फका पोल अझै नहटाइएको उनको पनि गुनासो छ । निर्माणमा ढिलाइ हुँदा वर्षौंदेखि धुलो र हिलोको सास्ती भोग्नु परिरहेको छ । लहानको मुख्य चोक आसपास क्षेत्र अस्तव्यस्त बनेको छ भने व्यापारसमेत प्रभावित भएको छ । सहिद स्मारक भत्काएर बनाइएको डाइभर्सनमार्फत एकतर्फी सवारीसाधन चलाइए पनि धुलो, हिलो र दुर्घटनाको जोखिम उच्च रहेको छ । सोही कारण स्थानीयले असारमा चक्काजामसमेत गरेका थिए । मिर्चैयाको अण्डरपास र लहानको ओभरपासको पाइल फाउण्डेशन निर्माणपछि केही समय रोकिएको काम असोज २३ गतेदेखि पुनःसुरु भएको छ । कम्पनीले लागत बढेको भन्दै आर्थिक नोक्सानी बेहोरेको बताउँदै आएको छ । भदौ २४ गतेका लागि तय भएको निर्माणसम्बन्धी छलफल स्थानीयस्तरमा भएको आन्दोलनका कारण स्थगित भएपछि कम्पनीका पदाधिकारीहरू चीन फर्किएका छन् । सडक विभागले हाल पुनः छलफलका लागि समन्वय गरिरहेको जनाइएको छ । मिर्चैयास्थित पश्चिमखण्ड कार्यालयले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्म ३९ दशमलव ४२ किलोमिटरमध्ये ३० दशमलव ८५ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ । रासस