कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्ने प्रकिया अघि बढ्यो

जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र अवस्थामा रहेका उक्त राजमार्गका पाँचवटा ठेक्का तोड्ने क्रममा कानुनी प्रक्रिया अघि बढाएको हो । जुम्ला सडक डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एक गरी पाँचवटा ठेक्का तोड्ने प्रक्रियाअन्तर्गत सार्वजनिक सूचना जारी गरी सम्बन्धित निर्माण व्यवसायीहरूलाई स्पष्टीकरणका लागि मौका दिएको छ । सम्झौताअनुसार काम गर्न, गराउन पटकपटक ताकेता गरे पनि काम नभएपछि बाध्य भई ठेक्का रद्द गर्ने क्रममा सूचना जारी गरेको स्पष्ट गर्दै इन्जिनियर सिंहले प्रचलित नियमानुसार ठेक्का प्राप्त गरी काम नगर्ने निर्माण व्यवसायीलाई जमानत जफतसहित अन्य कानुनी कारबाही हुने जानकारी दिए। आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रभित्र पाँचवटा ठेक्का सम्झौता भएको, सम्झौताअनुसार काम नभएपछि पटकपटक ताकेता गरेको र धेरै पटकभन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियाअघि बढेको इन्जिनियर सिंहको भनाइ छ । यसरी सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्नसक्ने संशोधित कार्यतालिका एवं स्रोतसाधन परिचालनको भरपर्दो योजना तथा कार्य सम्पन्न गर्ने प्रतिबद्धता, ठेक्का नतोड्ने कुनै मनासिव कारण भए सत्यतथ्य प्रमाणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचनामार्फत आह्वान गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । तोकिएको समयमा काम सुरु नगरेमा कालोसूचीमा राख्ने, धरौटी तथा पेस्की जमानत जफत गर्ने र बाँकी कामका खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने प्रावधान रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । रासस

४८ वटा सडक ठेक्का तोड्ने तयारी, ठेकेदारलाई १५ दिनको समय

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले मातहतका ४८ वटा सडक परियोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि निर्माण कार्यमा ढिलाइ र असन्तोषजनक प्रगतिका कारण कार्यालयले ठेकेदारहरुलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत काठमाडौं डिभिजनले मंगलबार सूचना प्रकाशित गर्दै भनेको छ, 'पटक-पटक मौखिक तथा लिखित निर्देशन दिइँदा पनि कार्यप्रगतिमा सुधार नभएको, संशोधित कार्यतालिकाअनुसार काम अघि नबढेको, ठेक्काको म्याद समाप्त भइसकेको तथा ठेक्का लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले ठेक्का अन्त्य गर्नुपर्ने देखिन्छ ।' कार्यालयले ठेकेदारहरुलाई १५ दिनभित्र ठेक्का किन नतोडिने भन्ने बारे औपचारिक स्पष्टीकरणसहित उपस्थित हुन आग्रह गरेको छ । डिभिजनका अनुसार धेरैजसो सडक तथा पुल निर्माण कार्यहरू लामो समयदेखि रोकिएका वा सुस्त गतिमा रहेका छन् । निरन्तर ढिलाइका कारण सार्वजनिक सरोकारका परियोजनाहरू प्रभावित भएको भन्दै कार्यालयले ठेक्का सम्झौताअनुसार कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । यदि तोकिएको समयभित्र ठेकेदारले सन्तोषजनक कारण प्रस्तुत नगरे, ती ठेक्काहरू स्वतः रद्द हुने र नयाँ ठेक्का प्रक्रिया अघि बढाइने बताइएको छ ।  

ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको ८ औं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी सोमबार अपराह्न नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।  चार दिनसम्म चल्ने यो सभा सोमबारदेखि बिहीबारसम्म भारतमा हुँदैछ । जसमा ४० भन्दा बढी देशका ऊर्जामन्त्रीहरू सहभागी हुनेछन् ।  सभामा सौर्य ऊर्जाको प्रवद्र्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरूबारे विस्तृत छलफल हुने कार्यक्रम छ ।  नेपालका तर्फबाट मन्त्री घिसिङले ‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ विषयमा सम्बोधन गर्ने तय भएको छ ।  नेपाल २०८१ साल भदौमा १०१ औं सदस्य राष्ट्रका रूपमा आईएसएमा आवद्ध भएको थियो । मन्त्री घिसिङले बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।