कोरोना त्रासः राहत र उद्धारका लागि कर्पोरेट क्षेत्र छैनन् तयार

काठमाडौं । देशमा कुनै आपत-विपत परेको समयका लागि भनेर निजी तथा कर्पोरेट क्षेत्रहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बजेट छुट्टाइएको हुन्छ । नागरिकको भलाईका निम्ति उनीहरुले आफ्नो क्षेत्रबाट हुन सक्ने सहयोग पनि गर्छन् र गर्दै आएका पनि छन् । तर, यतिखेर भने कर्पोरेट क्षेत्र मौन छ । देशमा मात्र होइन, विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले सबैमा त्रास ल्याएको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण नदेखिए पनि यसको त्रास भने नागरिकमा व्याप्त छ । सरकारले कोरोनाको जोखिमबाट बच्न र यसको न्यूनिकरणका लागि विभिन्न उपाय तथा सचेतनामुलुक सन्देशहरु जारी गरिरहँदा निजी क्षेत्र भने मौन देखिएको हो । उल्टै उनीहरु सरकारकै भरमा परेको धारणा राख्छन् । रोग लागेपछि उपचार गर्नु भन्दा पूर्व सतर्कता अपनाउनु नै उचित भन्ने उदाहरण नै छ । तर, निजी क्षेत्रहरु भने हाल नेपालमा कोरोनाको संक्रमण नदेखिएकोले आफुहरुले त्यस्तो कूनै उपाय तथा कार्य नसोचेको बताउँछन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले हालसम्म महासंघले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कूनै कार्य गर्ने नसोचेको बताए । तर, उनले अब छिट्टै बैठक राखेर के काम गर्ने भन्ने बारे निर्णय गर्ने बताए । मूख्य रुपमा महासंघको एसोसिएट मेम्बर्सले यो काम गर्ने उत्तरदायित्व भएको भएपनि हालसम्म कुनै निर्णय नभएको उनको भनाइ छ । विश्वमा कोरोनाको संक्रमण भएर ३ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको अवस्थामा नेपालका कर्पोरेट क्षेत्र भने कोरोनाप्रति त्यति चिन्तित नभएको देखिन्छन् । यद्यपी उनीहरुले संस्थाले गर्ने सम्पूर्ण सार्वजनिक भेलाका कार्यक्रमहरु स्थगित गरेको बताउँछन् । यस्तै, नेपाल बैंकर्स् संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नागरिकका लागि भनेर संस्थागत हिसावले खासै केही काम नगरे पनि आन्तरिक तयारी र सूचना आदानप्रदान गर्ने काम भने गरिरहेका बताए । हालसम्म कुनै संक्रमण नदेखिएको कारण पनि के गर्ने भन्ने निर्णय नभएको उनको भनाइ छ । नेपालका सबैभन्दा ठूला निजी क्षेत्रहरुले यस्तो संकटको समयमा हुने समस्या तथा चूनौतीहरुलाई समाधान तथा सामना गर्नका लागि गर्नु पर्ने पूर्व तयारी गर्नु पर्ने अवस्थामा यी कर्पोरेट क्षेत्र भने कोरोना आउला र लागौंला भन्ने मनसायमा देखिन्छन् । उनीहरुले यसको पूर्व तयारी र नागरिकको जानकारी तथा सचेतनाका लागि कूनै पनि कार्य हाल सम्म गरेका छैनन् । नेपाल उद्योग परिसंघका महानिर्देशक यादव प्रसाद पौडेलको भनाइ पनि अन्य कर्पोरेट क्षेत्रको भन्दा कम छैन । ‘हामीले अहिले सम्म आन्तरिक केही काम गरेका छैनौं, नागरिक जागरुताका लागि नोटिस निकालौं कि भन्ने सोचका छौं, कोरोना हालसम्म नदेखिएकै कारण पनि केही गर्ने अवस्था छैन,’ पौडेलले भने । ‘कारोनाको संक्रमण नेपालमा छैन, हामीले नोटिस जारी गर्यो भने जनमानसमा भयानक होकी भन्ने भ्रम पनि हुन्छ, त्यस कारण पनि हामी रोकिएका छौं,’ उनले भने । परिसंघले गर्ने सम्पूर्ण कार्यक्रमहरु रद्ध गरेको उनको भनाइ छ । आफ्नो नेटवर्क भएको व्यवसायीसँग कूरा भइरहेको उनले बताए । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा भइरहँदा जनजीवन र विश्व अर्थतन्त्रलाई पनि नराम्रो तरिकाले असर परेको छ । यतिखेर नै विभिन्न सामान तथा वस्तुहरुमा ब्ल्याकमेलिङ पनि सुरु भएको छ । व्यापार व्यवसायका नाममा विभिन्न गिरोह यस्तो व्ल्याकमेलिङमा सक्रिय भएको छ । नेपालमा पनि पछिल्लो समयमा यस्तो गिरोह सक्रिय भएको देख्न सकिन्छ । मानिसमा कोरोनाको त्रास बढेसँगै यतिखेर मास्कको माग पनि बढ्दो छ । तर, त्यही गिरोहले माक्स लुकाएर यसको ब्ल्याक मेलिङ सुरु गरिसकेका छन् । पाँच रुपैयाँ पर्ने माक्सको ३०/४० रुपैयाँ पर्ने गरेको छ । अझ यसको अभाव छ भनेर सेवाग्राहीलाई ठग्ने काम पनि फष्टाएको छ । नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र बज्राचार्य नै माक्समा ब्ल्याकमेलिङ भएको स्वीकार्छन् । हाल बजारमा कूनै सामानको अभाव नभएपनि यस्ता गिरोहको कारण बजारमा वस्तुको कृतिम अभाव देखाइएको उनी बताउँछन् । उसो त सरकारले त्यस्तो कार्य गर्ने विभिन्न फर्महरुलाई कारबाही गरी सकेको छ । अझैँ पनि त्यस्ता ब्ल्याकमेलिङ गर्ने गिरोहहरु प्रयाप्त छन् । आफुहरुको काम बजारमा वस्तु आपुर्ति गराउने भएको भन्दै कूनै कारण बाहेक उनले त्यस्ता सामान आयातमा कुनै समस्या नदेखाउने बताए । यसमा पनि सरकारले बढी सजग हुनु पर्ने उनको भनाइ छ । यो संकटको समयमा सबैले हातेमालो गरी कोरोनाको जोखिमबाट बच्ने हो । नेपाललाई कोरोना भाइरसको जोखिममुक्त पार्नु सरकार र सबै निजी क्षेत्रको उत्तरदायित्व उत्तिकै हुन्छ । नागरिकको स्वास्थ्य र प्रत्यक्ष जीवनसँग जोडिएको यो चुनौतिपूर्ण घडिमा निहित स्वार्थका लागि सामान तथा वस्तुमा ब्ल्याकमेलिङ गर्नु मानवता मान्न सकिँदैन ।

रुकुमका सबै गाउँपालिकामा १५ शैय्यका अस्पताल बन्दै

रुकुमपूर्व । रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सिस्ने गाउँपालिका–५ को रुकुमकोट स्वास्थ्य चौकी र भूमे गाउँपालिका–९ को चुनबाङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न लागिएको प्रदेश ५ का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए । पुथाउत्तरगङ्गा गाउँपालिकाको कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई गत वर्ष नै स्तरोन्नति गर्ने निर्णय भएको थियो । नजिकै उपचार सेवा पाइने आशा पलाएको चुनबाङ गैरीगाउँकी मनकुमारी पुनले बताए । अहिले सर्वसाधारण सामान्य उपचारका लागि रोल्पाको बागमारा पुगेर निजी क्लिनिकमा उपचार गर्न बाध्य छन् । चुनबाङ रोल्पाका धेरै गाउँको केन्द्र मानिन्छ । “यसैले चुनबाङमा अस्पताल बन्नु भनेको रुकुमपूर्व र रोल्पाका सर्वसाधारणका लागि पनि सुविधा मिल्नु हो,” गैरीगाउँका प्रेमबहादुर पुन मगरले भने, “अब ससाना रोगका लागि दाङ, नेपालगञ्ज झर्नुपर्ने बाध्यता हट्छ कि भन्ने आशा पलाएको छ ।” निर्णय कार्यान्वयनका लागि वडा तथा गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने उनले बताए । स्तरोन्नति भएका स्वास्थ्य सस्थाको चालू आवमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । अस्पतालमा सम्बन्धित गाउँपालिका र सङ्घीय सरकारको संयुक्त लगानी रहने जनाइएको छ । रुकुमकोट स्वास्थ्य चौकी भने अन्यत्रै सारिएको छ । यसअघि स्वास्थ्य चौकीको भवनमा जिल्ला अस्पताल उद्घाटन गरेर सञ्चालन गरिएको छ भने वडा नं. ५ को उक्त स्वास्थ्य चौकीलाई वडा नं. ६ मा लगिएको छ । सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले सङ्घीय सरकारको निर्णय प्राप्त भएपछि यस विषयमा छलफल हुने र अस्पताल निर्माणका लागि गाउँपालिकाबाट आवश्यक पहल गर्ने जानकारी दिए । “सङ्घीय सरकारले अस्पतालमा स्तरोन्नति गर्ने स्वास्थ्य चौकी सूचीकृत गरेको खबर आएको छ,” अब औपचारिक रूपमा गाउँपालिकामा जानकारी आएपछि गाउँ कार्यपालिकाका तर्फबाट पनि आवश्यक निर्णय तथा सिफारिसको काम हुने उनले बताए । रासस

धौलागिरि अञ्चल अस्पतालमा आइसोलेसन कक्ष स्थापना

गलकोट । विश्वभर चुनौतीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ । सो भाइरसको सङ्क्रमण बढ्दै गएमा धौलागिरिकै ठूलो अस्पतालमा सम्भावित बिरामी आउनसक्ने भन्दै दुई श्ययाको सो कक्ष स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । शङ्कास्पद बिरामीलाई विशेष निगरानीमा उपचार तथा परामर्शका लागि आइसोलेसन कक्ष तयार गरिएको उनले बताए । उनले भने, “आइसोलेसन कक्षमा अहिले दुई श्ययाको छ । यदि सङ्क्रमणका बिरामी देखा परेमा बढ्न अन्य कक्ष थप हुन्छ ।” विशेषगरी ज्वरो, रुखा र खोकीका बिरामी अस्पतालमा आउनासाथ उच्च सतर्कताका साथ उपचार तथा परामर्श गरिने अस्पतालले जनाएको छ । निजी अस्पताललाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर आइसोलेसन कक्षको तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले आग्रह गरेका छन् । उनले जिल्लामा सार्वजनिक सभा, समारोह, मेला उत्सव नगर्न आह्वान गरिएको जानकारी दिए । सरोकारवालासँगको बैठकले जिल्लामा सभा समारोह, भोज भतेर, वार्षिकोत्सव, महोत्सव, महायज्ञ, खेलकुद कार्यक्रमहरु नगर्न आग्रह गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश कार्यालय स्वास्थ्य कार्यालयले सो भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि तयारी गर्न फागुन २९ र ३० गते दशवटै पालिका प्रमुखहरुलाई भेला गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । भाइरसबाट बच्न हात नमिलाउन बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले आग्रह गरेका छन् । उनले नियमित साबुन पानीले हात धुने, घर पालुवा पशुपन्छीको सम्पर्कबाट टाढा रहने, हाछ्यु गर्दा मुख छोप्नुपर्ने तथा मासु तथा अण्डा राम्ररी पकाएर मात्र खानुपर्ने बताए ।