कोरोनाको उपचार जडिबुटीबाट हुँदैन: डा.वासुदेव उपाध्याय

काठमाडौ. । कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ को उपचार जडिबुटीबाट नहुने आयुर्वेद तथा वैकिल्पक चिकित्सा विभागले बताएको छ । कोभिड–१९ सम्बन्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कुनै पनि जडिबुटीले कोभिड–१९ निको पार्ने पुष्टि नभएको बताएका हुन् । उनी भन्छन्, हाम्रौ घर आँगनमै पाउने जडिबुटीले हाम्रो रोगसँग लड्ने क्षमता बढाउँछ तर यसको मतलब यसले कोभिड–१९ ठीक पार्छ भन्ने होईन । ’ जडुबुटीले कोरोनाको उपचार गर्छु भन्दै भ्रामक सन्देश फैलाउन बन्द गर्न पनि उनले आग्रह गरेका छन् । उनले सबैलाई विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य मन्त्रालयले जारी गरेको विधिहरुलाई अपनाउन आग्रह गरेका छन् ।

फेरि एक जनामा देखियो कोरोना, नेपालभर ३२ जना संक्रमित

काठमाडौं । नेपालमा फेरि एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का एकजना थप संक्रमित थपिएकाे बताएका हुन् । संक्रमित उदयपुरकाे ३३ वर्षका पुरुष रहेकाे देवकोटाले बताए ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको पिसिआर परीक्षणमा उनको नतिजा पोजेटिभ आएको हो । यो संगै उदयपुरमा मात्रै १४ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालमा संक्रमण पुष्टि भएको संख्या ३२ पुगेको छ जसमध्ये ४ जना निको भएर घर गइसकेका छन् ।  

सबै तहका ४८८ को रिपोर्ट नेगेटिभ

काठमाडाैं । भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यहाँको एक नगरपालिका र सात गाउँपालिकामा ३३९ जनाको पिसिआरबाट परीक्षण र १४९ जनाको रेपिड डाइग्नोष्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । कोभिड-१९ का सम्भावित सङ्क्रमितका लागि जिल्लाका आठ वटै स्थानीय तहले २६४ शय्याको क्वारेन्टाइन पनि निर्माण गरेका छन् । रासस