कोरोना भाइरस: विदेशमा कार्यरत लाखौँ नेपाली कामदारको रोजगारी गुम्ने चिन्ता
काठमाडौं । कोरोनाभारइस सङ्क्रमणको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशले लकडाउनजस्ता उपाय अवलम्बन गरेका छन्। त्यसले विश्वभरि अर्थतन्त्रमा प्रत्यक्ष तथा परोक्ष नकारात्मक प्रभाव पारेको छ। आफू कार्यरत देशको अर्थतन्त्र प्रभावित भएकाले वैदेशिक श्रममा रहेका लाखौँ नेपालीहरूको रोजगारी गुम्ने अवस्था देखिएको भन्दै अधिकारी एवं विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। लाखौँ सङ्ख्यामा नेपालीहरू रहेका कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता देश र दक्षिणपूर्वी एशियाको मलेशिया पनि अहिले लकडाउनमा छन्। त्यहाँ करार सम्झौता नवीकरण हुने अवस्थामा भएका तथा गैरकानुनी रूपमा रहेका धेरे नेपाली कामदारले अहिले नै आफूहरू समस्यामा परिसकेको गुनासो गर्न थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बीबीसीलाई बताए। खाडी र मलेशियामा १५ लाखजति नेपाली कामदारहरू रहेको श्रम मन्त्रालयले जनाएको छ। त्यहाँ अहिलेसम्म झन्डै १०० को हाराहारीमा नेपालीहरू पनि सङ्क्रमित भएको विवरण सरकारसँग छ। असर यूएईमा भएका नेपाली श्रमिकहरू अहिले जतिखेर पनि आफ्नो जागिर सङ्कटमा पर्न सक्ने त्रासमा रहेको दुबईको एक निर्माण कम्पनीमा काम गर्ने कृष्ण पाण्डेले बताए। पाण्डेले भने, “यहाँको सरकारले आफ्ना कम्पनीहरूलाई बचाउनका लागि आवश्यक परेको खण्डमा तलब घटाउने, बेतलबी बिदा दिने र कर्मचारी कटौतीसम्म गर्न सक्ने भनेको छ।” “जसले गर्दा यहाँ तत्काललाई सुरक्षित रहेकाहरू समेत जतिखेर जो पनि मर्कामा पर्न सक्ने त्रासमा राखेको छ। जागिर सङ्कटमा नपरेकाहरू पनि यतिखेर मिलेसम्म नेपाल फर्किन खोजिरहेका छन्।” त्यसैगरी कुवेतले पहिलो चरणमा गैरकानुनी कामदारको सङ्ख्या घटाउने उद्देश्यले आममाफीको योजना अगाडि सारेको छ । उसले गैरकानुनी रूपमा बसेका विदेशी कामदारलाई एप्रिल महिनाभरि स्वदेश फर्किन दिने घोषणा गरेको भए पनि नेपालजस्ता देशमा अहिले अन्तर्राष्ट्रिय उडान रोकिएकाले उक्त कामलाई वैशाख १८ गतेपछि त्यसलाई निरन्तरता दिइनेगरी छलफल भइरहेको कुवेतस्थित नेपाली दूतावासका एक अधिकारी बताउँछन्। श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले परिस्थितिको प्रारम्भिक मूल्याङ्कनले नेपाली श्रमिकहरूलाई ‘गम्भीर असर’ पर्ने देखिएको बताउँछन्। उनले भने, “भिसा र सम्झौता बाँकी रहे पनि कामबाट हटाइएका र भिसा र सम्झौता सकिएका एवम् गैरकानुनी बाटोबाट गएकाहरू सबै खालका नेपालीहरूले घर फर्किने परिस्थिति बनाउन आग्रह गरेका छन्।” तर लाखौँलाई उद्धार गर्नुपर्ने अवस्थाबारे तत्काल नसोचिएको भन्दै आउँदा केही सातामा परिस्थितिको मूल्याङ्कन गरिने अधिकारीहरूको भनाइ छ। प्रवक्ता घिमिरे भन्छन्, “यो विश्वव्यापी महामारी भएकाले अन्तर्राष्ट्रिय मानव अधिकारका आधारभूत सिद्धान्तले समेत सुरक्षित पार्ने र सरकारले कूटनीतिक पहल समेत गरिरहेकोले आत्तिहाल्नुपर्दैन।” बीबीसी
अब नेपालका यी तीन ठाउँमा हुनेछ काेराेनाकाे अन्तिम परीक्षण
काठमाडौं । कोरोनाको अन्तिम परीक्षण अब तीन ठाउँबाट हुने भएकाे छ । यसअघि कोरोना पुष्टि भएका केसको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै अन्तिम परीक्षण हुँदै आएकोमा अब भने तीन ठाउँबाट हुने भएकाे छ । पश्चिममा भेरी अस्पताल र पूर्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइने भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो । अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुमा भेरिफिकेसन गरिन्थ्यो । साथै भेरी अस्पताल नेपालगञ्जमा पनि पीसीआर विधिबाट कोरोना भाइरसको नमुना परीक्षण शुरू भएको छ । पीसीआर मेशिन जडान गरिएसँगै आजैबाट नमुना परिक्षण गर्न थालिएको छ । योसँगै नेपालभरी पीसीआर विधिबाट कोरोना नमुना परीक्षण १५ स्थानबाट हुनेछ । हालसम्म नेपालमा काेराेनाका बिरामीकाे संख्या ३१ रहेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोनालाई जितेका कैलालीका युवा भन्छन्: आत्मबल बढाउँ, कोरोनासँग अवश्य जितिन्छ
काठमाडौं । कैलालीको सेती प्रादेशीक अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक जना युवा आज डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवकले १६ दिन अस्पताल बसाई सकेर आज डिस्चार्ज भएका हुन् । उनले अस्पतालबाट घर फर्केने समयमा कोरोनासँग जित्न आत्मविश्वास र हिम्मत चाहिने बताएका छन् । ‘निडरका साथ उपचारमा बसे कोराना जित्न सकिन्छ, मलाई कुनै लक्षण नै देखिएको थिएन, तर मलाई कोरोना पोजेटिभ देखियो, म आत्मबलले उपचारमा बसेँ, म निको भएँ,’ उनले भने । कोरोना संक्रमणबाट निको हुन्छु भन्नेमा आफू सुरुवातबाटै पूर्ण विश्वस्त रहेको उनको भनाई छ । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र अस्पतालका डाक्टरहरुले फुल दिएर बिदा गरेका छन्। उनी एम्बुलेन्समा चढेर अस्पतालबाट घर फर्केका हुन्। गत चैत ११ गते राती कैलालीको गौरीफन्टा नाका भएर भारतको मुम्बईबाट घर फर्किएका थिए। १२ गते विहान घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।त्यसको १५ औं दिनमा उनको दोस्रो र त्यसको २४ घण्टामा गरिएको तेस्रो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीश जोशीले बताए। उनी डिस्चार्ज भएसँगै अब सेतीमा चार जना संक्रमितको उपचार भइरहेको छ। उनीहरु सबैकाे रिपाेर्ट भने पाेजेटिभ देखिएकाे छ । तर, अवस्था भने सामान्य नै भएकाे असपतालले बताएकाे छ ।