नेपालमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो। मन्त्रालयले यसबारेमा केही समयमा आधिकारिक जानकारी दिने भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

पाकिस्तानका सभामुख केसरमा पनि कोरोना पुष्टि

काठमाडाैं । पाकिस्तानका नेसनल एसेम्बलीका सभामुख असद केसरमा पनि कोरोना भाइरस भएको पुष्टि भएको छ। उनले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँगको भेटघाट गरेका थिए। उनका छोराछोरीको पनि रिपोर्ट पनि पोजिटिभ आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु

काठमाडाैं । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय महिला रहेकी छन् । एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए । उनले भने, “उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उहाँको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्यु भएकोे कारणबारे थप बुझदैछौँ ।” मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ । रासस