नयाँ शैक्षिक सत्रकाे लागि विद्यालय भर्ना नलिन आग्रह: शिक्षा मन्त्रालय
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ भने स्वयंसेवीरुपमा अनलाइन शिक्षालाई प्राथमिकता दिइँदै आएको छ । कतिपय विद्यालयले आफूखुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले आज मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो । मन्त्रालयले स्थगन भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १०, ११ १२ का सम्बन्धमा वस्तुस्थितिको विश्लेषण भइरहेकाले हाल कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी (संस्थागत) विद्यालयले आवास शुल्क बाहेक एक महिनाको अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराइको छ ।
कोरोना शंकामा धनगढीमा ४ जनालाई आइसोलेसनमा राखियो
काठमाडाैं । कैलालीकाे धनगढीमा काेराेनाकाे शंकामा चारजनालाई अस्पतालमा भर्ना गरिएकाे छ । जिल्लाकाे सेती प्रादेशीक अस्पतालकाे आइसोलेसनमा चार जना शंकास्पद विरामी थपिएका छन्। दुई दिनको अवधीमा कैलाली, कञ्चनपुर र कालिकोटका चार जनालाई कोरोना आशंकामा अस्पतालाको आइसाेलेसन राखिएको हो। कैलालीको जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरीलाई पनि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। दुवैमा रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आईसोलेसनमा राखिएको प्रादेशिक अस्पतालले जनाएको छ। दुबै जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको अस्पताल जनाएको छ। दुबै जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाईएको छ।
धनगढीमा मास्कमा कालाेबजारी र म्याद नाघेका औषधी बेच्ने दुई फार्मेसीलाई जरिवाना
काठमाडाैं । मास्कमा कालोबजारी गर्ने कैलालीकाे हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। साेमबार आपूर्ती वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीकाे टाेलीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भेटिएपछि कारवाही स्वरुप जरिवाना गरिएको हो। यस्तै, धनगढीमै म्याद नाघेकाे औषधी बेच्ने एक मेडिकल कारबाहीमा परेकाे छ । धनगढी स्थित चौराहमा रहेको सरोज मेडिकल हलले म्याद नाघेको औषधी पाँच महिनापछि पनि बिक्रि गरेको पाइएपछि जरिवाना गरिएकाे हाे । साे मेडिकल २० हजार जरिवानामा परेकाे हाे। वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीकाे टाेलीले बजार अनुगमनका क्रममा मेडिकलले कानुन विपरीत म्याद गुज्रेका औषधी बिक्रि गरी विल समेत जारी नगरेको भेटिएपछि जरिवाना गरिएको जानकारी दिइएकाे छ ।