नेपालमा एकैदिन १७ जना नयाँ काेराेना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । नेपालमा  दैनिक काेराेनाका बिरामी बढ्दै गएका छन् ।  

सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा

काठमाडौँ । सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनलाई पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका बताएका हुन् । डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो । उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । फलोअप आउँदा उनकाे पीसीआर विधिबाट पुन: परीक्षण गरिएको थियो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले दियाे साढे चार करोडका स्वास्थ्य सामग्री

काठमाडाैं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड-१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन चार करोड ५३ लाख रूपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आबद्ध १६ वटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टलगायत सामग्री बुधबार हस्तान्तरण गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र समाज कल्याण परिषद्का निमित्त सदस्य सचिव शिवकुमार बस्नेतको उपस्थितिमा संस्थाका अध्यक्ष अच्यूतकुमार लुइँटेलले ती सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले ती सामग्री खरिद गरेको थियो । रासस