उदयपुरका ६ जना संक्रमित निको भए
काठमाडाैं । उदयपुरका २८ मध्ये ६ जना काेराेनाभाईरस (काेभिड-१९) संक्रमितकाे निकाे भएका छन् । कोशी कोरोना विशेष अस्पतालमा उपचाररत उदयपुरका ६ जना काेभिड-१९ संक्रमितकाे रिपोर्ट नेगेटिभ आएको हाे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए । उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण(पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताए । उनीहरु सबै भारतीय नागरिकहरु हुन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिए । केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिने लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताए । उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ । मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिए । कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताए ।
मुलुकभर ६६ हजार नमूना परीक्षण
काठमाडौं । सरकारले हालसम्म मुलुकभर पिसिआर र ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ नमूना परीक्षण गरिएको जानकारी दिए । पछिल्लो २४ घन्टामा एक हजार ५८२ वटा नमूना परीक्षण गरिएको छ । मुलुकभरका विभिन्न १८ स्थानबाट पिसिआर विधिबाट परीक्षण भइरहेको उनले जानकारी दिए । प्रदेश नं १ मा छ हजार १२२, प्रदेश नं २ मा पाँच हजार ७७५, वागमती प्रदेशमा आठ हजार ९४०, गण्डकी प्रदेशमा छ हजार ७४, प्रदेश नं ५ मा पाँच हजार १९३, कर्णाली प्रदेशमा पाँच हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ वटा नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । देशभर कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । जसमध्ये पुरुष ६२ र महिला २१ छन् । प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा सङ्क्रमण देखिएको छ । रुपन्देहीमा एक, नेपालगन्जमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा नौ र मोरङमा ३१ जना गरी जम्मा ६६ जनाको उपचार भइरहेको छ । सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । आइसोलेसनमा रहेका सम्भावित सङ्क्रमितको सङ्ख्या १२० रहेको छ । काठमाडौँ उपत्यकामा २ र उपत्यका बाहिर ११८ जना आइसोलेसनमा छन् । मुलुकभर क्वारेन्टिनमा बस्नेको सङ्ख्या २१ हजार ९९ पुगेको छ । प्रदेश नं १ मा दुई हजार १२४, प्रदेश नं २ मा एक हजार २९०, वागमती प्रदेशमा २५८, गण्डकी प्रदेशमा ७२६, प्रदेश नं ५ मा आठ हजार ९२२, कर्णाली प्रदेशमा तीन हजार ७५४ र सुदूरपश्चिम प्रदेशमा चार हजार २५ जना क्वारेन्टिनमा बसेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस
चितवनकाे कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु
चितवन । कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम शुरु गरिसकेको र केही दिनमा नतिजा आउने उनले बताए । उनले भने, “अनुसन्धानको काम भइरहेको छ, यो सकिएलगत्तै कमजोरी पाइएमा कानूनी प्रक्रिया अगाडि बढ्छ ।” केही समयअघि मात्रै भरतपुर महानगरपालिका—१० मा स्थापना गरिएको कोरोना विशेष (अस्थायी) अस्पतालको सामान कर्मचारीले पोको पार्दै गरेको भिडियो राखेर समाचार बाहिर आएको थियो । त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना अस्पतालका आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो । कर्मचारीले ती सामग्री भरतपुर महानगरपालिकाले लगेको जनाउँदै आएका छन् । तर रातको समयमा पोको पारेर बाहिर लगिएपछि उनीहरुको नियतमाथि प्रश्न उठाउँदै छानबिनको माग गरिँदै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस चितवनले अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । भरतपुर महानगरपालिकाको अगुवाइमा कोरोना आशङ्का भएका बिरामीलाई उपचारका लागि चैत ७ गते सो अस्पताल स्थापना गरिएको थियो । रासस