प्रदेश नं २ मा कोरोना सङ्क्रमित १ सय ३१
जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १ सय २२ जना कोरोना सङ्क्रमित थियो । सोमबार बिहान ९ जना थपिएपछि यो सङ्ख्या १ सय ३१ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका ८ र बाराका १ गरी ९ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ । जो ९ जना संक्रमितमा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष रहेका थिए । सोमबार बिहानसम्म प्रदेशको ८ जिल्लामध्ये रौतहटमा २१, बारामा ५, पर्सामा ९१, धनुषामा ५, महोत्तरीमा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १/१ जनामा कोरोना पुष्टि भएकाे छ ।
मृतक सुत्केरीको शिशुसहित परिवारका सदस्यमा कोरोना नभएको पुष्टि
काठमाडौं । कोरोना भाइरसको संक्रमणले निधन भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा रहेका परिवारका सदस्यसहित १४ दिने शिशुमा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सुत्केरी महिलाका १४ दिने शिशुसहित परिवारका चारजनाको रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जानकारी दिएको छ । शिशुसहित चारैजनालाई हाल धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन् । उनी सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो । गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । रासस
भक्तपुरका २९ पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं । नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पिसिआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । ल्याबले आइतबार नतिजा सार्वजनिक गर्दै परीक्षण भएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । समाचार सङ्कलनका क्रममा अग्रभागमा रहेर काम गर्ने क्रियाशील पत्रकारको कोरोना परीक्षण गर्न नगरपालिकाले आग्रह गरी स्वाब सङ्कलन गरेको थियो । यसअघि सोही ल्याबमा नगरपालिकाका जनप्रतिनिधिका साथै विदेशबाट मध्यपुरथिमिमा फर्किएका करिब १ सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो । ती सबैको नतिजा नेगेटिभ नै आएको उनले जानकारी दिए । रासस