धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु, कोरोना संक्रमणको शंका, आकष्मिक कक्ष सिल

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको मत्यु भएको छ  । टिचिङ अस्पतालमा ८ दिनअघि सुत्केरी भएकी ती महिलालाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार साँझ मृत्य भएको अस्पताल स्रोतले जानकारी दिएको छ । धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुनः परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ । अस्पतालका अनुसार ती महिलामा कोरोना पोजिटिभ भए नभएको यकिन भएको छैन । ती महिला सिन्धुपाल्चोककी बासिन्दा रहेको खुलेको छ । अस्पतालले केही बेरमा विस्तृत जानकारी गराउने बताएको छ । उनको मृत्युलगत्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलमा यतिबेला कोरोना नियन्त्रण कमाण्ड पोस्टको आकस्मिक बैठक सीडीओ कार्यालयमा बसिरहेको छ । अस्पतालमा उपचार गराएकी ती महिलाको मृत्यू भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सील गरेर उनको उपचारमा संलग्न डाक्टार, नर्सलगायत स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको छ ।

कपिलवस्तुमा थप ३ जनामा कोरोना देखियो, संक्रमितको संख्या २ सय ७६

काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको कोरोना परीक्षणमा नयाँ ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले विहान १० बजे मात्र बर्दिया, पर्सा, सर्लाही, सिराहा र चितवनमा ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको जानकारी दिँदै सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सह प्रवक्ता अधिकारीले जानकारी दिए । तलकाे समाचार पनि पढ्नु हाेला : नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो  

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको हो । जो बर्दिया नार्खु – ११ निवासी २८ वर्षिय महिला, सिराहा, सखुवा- १९ का ३० वर्षिय पुरुष, पर्सा विरगञ्ज – १२ का २८, २९ वर्षिय पुरुष, सर्लाही, रामनगर -४ निवासी १८ वर्षिय महिला र चितवन गढौली- १ का २५ वर्षिय महिला रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारले जानकारी दिएका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।