कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ८२ हजार ८ सय ७५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २४ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको छ भने १९ लाख ५६ हजार ३ सय ६१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ७० हजार ५ सय ८३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ भने अहिलेसम्म ३ हजार ३ सय २ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ सय ७ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
काठमाडौंमा ८१ जनाको आरडिटी पोजेटिभ, उपत्यकामा कोरोना संक्रमित अनगिन्ति छन् ?
काठमाडौं । काठमाडौें उपत्यकामा केही दिनदेखि गरिएको आरडिटी परीक्षणमा ८१ जनाको नतिजा पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंमा २२ सय जनाको आरडिटी परीक्षण गर्दा ८१ जनामा पोजेटिभ नतिजा आएको बताए । गएको एक हप्तामा काठमाडौंमा अचानक कोरोना संक्रमितहरु देखिएपछि सरकारले परीक्षणको दायरा बढाएको थियो । कालिमाटी तरकारी बजार, काठमाडौंका फोहोरमैला उठाउने व्यक्ति, गोंगबु एरिया, भृकुटीमण्डप जस्ता स्थान र केन्द्रहरुका व्यक्तिहरुको परीक्षण गरिएको थियो । कुल २ हजार २ सय ३६ जनाको आरडिटी परीक्षण गर्दा ८१ जनामा पोजेटिभ देखिएको । यस्तै, १ हजार १ सय १८ मा पीसीआर विधिबाट परीक्षण गरिएको देवकोटाले बताए । पीसीआर विद्यिबाट हालसम्म कसैको नतिजा पोजेटिभ नआएको उनले बताउँछन् । यद्यपि अझै नतिजाहरु आउन बाँकी रहेको उनले जानकारी दिए । ८१ जनामा आरडिटी पोजेटिभ आउनुको अर्थ उनीहरु केही समयअघि कोरोना संक्रमित रहेको पुष्टि हुने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिको आरडिटी पोजेटिभ आउनु भनेको उसको शरीरमा कुनै न कुनै समय कोरोना भाइरस सक्रिय थियो र अहिले निको भइसकेको वा हुने क्रममा छ भन्ने हो । आरडिटी परीक्षणले रोग लागेर निको भईसकेको अवस्थामा एन्टिबडी मार्फत पहिला शरीरमा यो रोग थियो कि थिएन भन्ने देखाउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन् । झा भन्छिन्, ‘हाम्रो शरीरले जहिले पनि कुनै पनि रोगसँग लड्नको लागि एन्टिबडी उत्पादन गर्दछ । वैज्ञानिकहरुले यही एन्टिबडीलाई आधार मानेर परीक्षण गर्नको लागि आरडिटी विधि पहिल्याएका हो ।’ कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई किसिमका एन्टिबडी उत्पादन गर्दछ । यि एन्टिबडी यस्ता रहेका छन्- १. आईजीएम यो एन्टिबडी रोग लागेको सामान्यत एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि व्यक्तिपिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहने विज्ञहरु बताउँछन् । २. आईजीजी यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ । आईजीजी एन्टिबढी शरीरमा महिनौंसम्म रहन सक्छ । सुरुमा रोग लागिसकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर आईजीजी महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पीसीआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । काठमाडौं उपत्यकामा आरडिटी नतिजा पोजेटिभ आउनुले यो क्षेत्रमा कोरोना भाइरस संक्रमण पहिला नै फैलिसकेको त होइन भन्ने शंका बढाएको छ ।
कोरोना संक्रमणको निःशुल्क परीक्षणबाट पछि हट्यो सरकार, पीसीआर परीक्षणकाे कति लाग्छ शुल्क ?
काठमाडौं । कोरोना संक्रमण शंका गरिएका नागरिकको निःशुल्क परीक्षण गर्ने अहिलेको व्यवस्थाबाट सरकार पछि हटेको छ । परीक्षणको दायरा फराकिलो बनाउने भन्दै सरकारले न्यूनतम शुल्क तिरेर आफै परीक्षण गर्न पाइने व्यवस्था गर्न लागेको हो । कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले न्यूनतम शुल्क तिरेर आफै पनि परीक्षण गराउन सकिने व्यवस्था मिलाइएको जानकारी दिए । यसअघि संक्रमण शंका गरिएका र कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुलाई सरकारले निःशुल्क परीक्षण गर्दै आएको थियो । ‘पीसीआर परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा ताेकिएकाे शुल्क तिरेर जाँच गराउन पाउने व्यवस्था गरेका छौं, ’ डा. देवकोटाले भने । काेराेना संक्रमणकाे लक्ष्यण नदेखिएका व्यक्तिले परीक्ष्यण गर्न चाहेमा शुल्क तिरेर गराउन पाइने व्यवस्था सरकारले मिलाएकाे हाे । लक्ष्यण देखिएका व्यक्तिकाे भने सरकार अहिले कै व्यवस्था अनुसार निःशुल्क परीक्षण गराउने छ । यसरी जाँच गराएपछि पीसीआर परीक्षणको दायरा फराकिलो हुने मन्त्रालयको भनाइ छ । एक व्यक्तिको एक पटक पीसीआर परीक्षण गर्न करिब १० हजार रुपैयाँ लाग्ने बताइएको छ । तर, सरकारले कति मूल्यमा र कुन कुन स्वास्थ्य संस्थामा परीक्षण गराउन पाइने भन्ने सन्दर्भमा भने थप जानकारी दिएको छैन । यस्ताे परीक्षणकाे शुल्क सम्बन्धित स्वास्थ्य संस्थाले नै ताेक्न पाउने डा. देवकाेटाले बताए । अहिलेसम्म सरकारले संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्ष्यण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्ने गरी निर्देशिका बनाएर कार्यान्वयन गरिरहेको थियो । अहिलेसम्म संक्रमण पुष्टी भएकाहरुलाई सरकारले उपचार गरिरहेको छ । आफैले परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ देखियो भने सरकारले नै उपचार गर्ने हो कि व्यक्ति स्वयमले नै गर्ने हो भन्ने विषय पनि प्रष्ट भएको छैन ।