थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७
काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षण नयाँ ३० जनामा कोरोना भाइरस पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जो नवलपरासी विनय त्रिवेणी गाँउपालिका ६ निवासी ४५ वर्षिय पुरुष, भरतपुर महानगरपालिका ६, केसरबाघ, चितवन निवासी ७४ पुरुष र ७३ वर्षिय महिला रहेका छन् । नवलपरासी सुस्ता गाँउपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षिय पुरुषहरु र १५ वर्षिय महिला छन् । कपिलवस्तु वाणगङ्गा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षिय पुरुषहरू र ८ बर्षको बालिका रहेकी छिन । त्यस्तै सर्लाही गोडैता नगरपालिका ८,९,११,१३, १४ र रामनगर बहुअर्वा गाउँपालिका (७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ बर्षिय पुरुषहरू र १८ बर्षिय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले बताएका छन । हाल सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
निको भएर फर्किए काठमाडौंका चार जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकाका चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा काठमाडौंका दुई जना र भक्तपुरका दुई जना रहेका छन् । उनीहरुको पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डिस्चार्ज हुनेमा २३ वर्षीय महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीय महिला र २७ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबै नवौं दिनमा डिस्चार्ज भएका उनले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस निको हुनको संख्या ४९ पुगेको छ ।
अब आधामात्र स्वास्थ्य मन्त्रालयमा कर्मचारी, एकदिन विराएर ड्युटीमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जाेखिमलाई ध्यान दिँदै आधामात्र कर्मचारी कार्यालय उपस्थित हुने व्यवस्था लागु गरेकाे छ । कोरोनाको जोखिम बढेसँगै सकेसम्म भीडभाड नगरि कम कर्मचारी जम्मा भएर धेरै काम गरौं भन्ने उद्देश्यका साथ मन्त्रालयले उपसचिव तहभन्दा तल्लो स्तरको कर्मचारी एकदिन बिराएर ड्युटीमा उपस्थित हुने नियम लागु गरिएको सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । गत सोमबार इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्रालयले सो निर्णय गरेको हो । धेरै कर्मचारी कार्यालयमा उपस्थित भएसँगै भिडभाड हुने हुँदा कम कर्मचारीलाई मात्रै आउने व्यवस्था मिलाएको सह-प्रवक्ता अधिकारीले जानकारी दिए । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले जेठ महिनाका लागि नयाँ कार्यतालिका अनुसार काम शुरु गरेको छ । उक्त कार्यतालिकामा कार्यालयका सबै कर्मचारी दुई समुह छुट्याएर एकदिन विराएर काममा उपस्थित हुने रहेकाे छ र साेहीअनुसार काम हुने सहप्रवक्ता अधिकारीले जानकारी दिए ।