एकैदिन भारतमा ११ हजार व्यक्तिमा काेराेना पुष्टि, कुल संक्रमित ३ लाख नाघ्याे
काठमाडाैं । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ । विश्वमा नै सबैभन्दा बढी काेराेना संक्रमितकाे राष्ट्रहरूमध्य अमेरिका, ब्राजिल, रसिया पछि चाैथाे स्थानमा भारत रहेकाे छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार शनिबार बिहानसम्ममा एकैदिनमा ११ हजार ४ सय ५८ जना संक्रमित भएका छन् । एकैदिनमा संक्रमित भएकाहरुको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै रहेको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३ सय ८६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ८ हजार ९ सय ९३ पुगेको छ । कुल सङ्क्रमित मध्ये १ लाख ४५ हजार ७ सय ७९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १ लाख ५४ हजार ३ सय ३० जना क्रमण मुक्त भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ८ सय ८४ पुगेको छ । भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १ हजार १ सय ४१ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै रहेको तमिलनाडु प्रदेशमा ४० हजार ६ सय ९८ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३६ हजार ८ सय २८ जना सङ्क्रमित रहेका छन् ।
परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै
काठमाडाैं । दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर मेसिन आयात गर्न लागेको हो । चीनबाट ती सामान आयात गर्न लागिएको र सात दिनभित्रै काठमाडौं आइपुग्ने विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिनुभयो । उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिन सक्नेछ । झण्डै ३० करोड रूपैयाँ बराबरको मेडिकल सामग्री आयात गर्न लागिएको जानकारी दिँदै प्रमुख भण्डारीले एक लाख थान आरएनए किट, एक लाख थान पिसिआर किट र तीन लाख थान भिटिएमसमेत आयात गर्न लागिएको बताए । भिटिएमको अभावमा स्वाब सङ्कलन गर्नसमेत समस्या भएको पाइएपछि छोटो प्रक्रियामार्फत सामान आयात गर्न लागिएको हो । यस्तै सो कम्पनीले नौ थान अटोमेटिक आरएनए मेसिन तथा दुई लाख थान आरटिडी किटसमेत ल्याउने तयारी गरेको छ । पिसिआर किटको अभावमा केही स्थानमा स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको र केही स्थानमा सङ्कलन भएको स्वाबसमेत परीक्षणमा लामो समय लागेको छ । पिसिआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ । ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजारजनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले समेत पिसिआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ । सरकारले आगामी असार १५ गतेदेखि दैनिक १५ हजारजनाको पिसिआर परीक्षण गर्ने तयारी गरेको सङ्घीय संसद्मा समेत यसअघि नै जानकारी गराइसकिएको छ । लकडाउनलाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरासमेत बढाउने तयारीका बीच निजी क्षेत्रले समेत त्यसमा आडभरोसा प्रदान गर्न लागेको हो । ती सामानको आयातपछि देशभर क्वारेन्टिनमा रहेकाको परीक्षणमा समेत थप सहज हुने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म १ लाख २१ हजार ८६२ जनाको पिसिआर परीक्षण भएको छ भने आरटिडी परीक्षण १ लाख ८८ हजारको भएको छ । देशभर १ लाख ५८ हजार ५० जना क्वारेन्टिनमा रहेका छन् । यसअघि पनि विद म्यानेजमेन्टले दुईपटक गरी पाँच लाख थान आरटिडी, मास्क तथा अन्य मेडिकल सामग्री आयात गरेको थियो । रासस
कर्णालीमा स्वास्थ्य जनशक्ति न्यून
सुर्खेत । काेरोना सङ्क्रमित बढिरहेका बेला कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव देखिएको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा समस्या देखिएको हो । प्रदेशमा हाल ५० विशेषज्ञ चिकित्सक रहेकामध्ये प्रदेश मातहतमा ३३ जना मात्र छन् । प्रदेश मातहतका २५ लाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमै करारमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यहाँ ५९ विशेषज्ञ चिकित्सकमध्ये ५१ जनाको दरबन्दी रिक्त छ । प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारी जोशीले चिकित्सकसहितका स्वास्थ्यकर्मीको अभावले कोरोना सङ्क्रमितको उपचारमा चुनौती थपिएको बताइन् । “सङ्क्रमित दिन प्रतिदिन बढिरहेकाले स्थानीयस्तरमै आइसोलेशन कक्ष स्थापना गरी उपचार गर्नुपर्ने अवस्था छ”, उनले भनिन्, “स्थानीय तहमा पाँचाैं र छैटाैं तहका स्वास्थ्यकर्मी मात्रै हुनुहुन्छ, अधिकांश स्थानीय तहमा अनमी, अहेब र एचए खटिनुपरेको छ ।” कर्णालीमा सङ्क्रमितको सङ्ख्या ८ सय ४६ पुगिसकेको छ भने कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । कर्णालीमा २५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र ३ सय ३३ स्वास्थ्यचौकी छन् । जिल्ला अस्पतालमा तीन विशेषज्ञ चिकित्सकको दरबन्दी छ । अधिकांश करारमा नियुक्त गरिएका एक–एक विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन गरिएको छ भने मेडिकल अधिकृत, नर्सिङ स्टाफको सङ्ख्या पनि न्यून छ । रासस