कोरोना महामारीले वैकल्पिक सिकाई प्रविधि को अवसर जुटायाेः प्रधानमन्त्री (पूर्णपाठसहित)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले वैकल्पिक सिकाई प्रविधि को अवसर जुटाएकाे बताएका छन् । आजबाट शुरू भएको वैकल्पिक सिकाई प्रविधिबारे सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् । ‘प्रविधि,अब हाम्रा घर/घरमा प्रवेश गर्दै छ, यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ, कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रूपमा अघि बढाउनुपर्छ,’ उनले भने । प्रत्यक्ष कक्षा सञ्चालन हुन नसकेपनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रकृया अघि बढाउने वैकल्पिक प्रणाली शुरु गरिएको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ:   प्यारा भाइ बहिनीहरु, –     विद्यालय स्तरको सबै परीक्षा समाप्त भई दुई महिना अघि नै हाम्रा विद्यालयहरुमा नयाँ शैक्षिक सत्र अनुरुपको कक्षा सञ्चालन भैसकेको हुनुपर्दथियो । तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्य मुलुकहरुमा जस्तै हाम्रो देशमा पनि विद्यालय लगायत सबै तहका शैक्षिक संस्थाहरू बन्द छन् । गतबर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन शुरु गरिएको छ । त्यस यताका दिनमा देशभरका तीन हजार दुई सय भन्दा बढी विद्यालयहरू क्वारेन्टिन स्थलका रुपमा प्रयोग भइरहेका छन् । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) लगायत राष्ट्रियस्तरमा गरिने कतिपय परीक्षाहरु समेत स्थगित छन। –     भाइरसको महामारी रोकिएको छैन, अझै फैलिँदो छ । लकडाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ । तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कता सहित चालिनु पर्छ । तोकिएका सबै नियमहरु पालना गरिनु पर्छ । सामाजिक दूरी कायम नगर्ने, आवश्यक सुरक्षा सतर्कता नपनाउने र मनखुशी चल्ने गरेमा आफ्ना कारणले आफू मात्रै होइन, सिङ्गो परिवार, आफन्तहरु र समग्र समुदाय नै संक्रमित हुन सक्छ । हाम्रा स–साना नानीहरुको सिकाइको थलो नै समुदायमा संक्रमण फैलने केन्द्र नबनोस् भन्नेमा विशेषगरी  शिक्षक, स्वयंसेवक र अभिभावक लगायत सबै सचेत हुनै पर्छ । –     विद्यालयहरु सिकाइका सामुहिक केन्द्र हुन् । लामो समयसम्म विद्यालयहरु बन्द रहँदा सिङ्गो शैक्षिक सत्र प्रभावित हुन सक्ने भएकाले बन्दाबन्दीको ८३ दिनपछि यसलाई केही खुकुलो पारिएको हो । बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्य सहित आजबाट सरकारले विद्यालय तहका बालबालिकाहरुको सिकाइ–निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको छ । –     विद्यालय तहका सबै भाई बहिनीहरुलाई म यस अवसरमा शुभकामना भन्न चाहन्छु । आदरणीय अभिभावकहरु, –     कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलताका सँगै केही अवसर पनि सिर्जना हुँदैछ । प्रत्यक्ष कक्षा सञ्चालन हुन नसकेपनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रकृया अघि बढाउने वैकल्पिक प्रणाली शुरु गरिएको छ । –     प्रविधि, अब हाम्रा घर/घरमा प्रवेश गर्दै छ । यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ । कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनु पर्छ । –     यसो भनिरहँदा, मैले हाम्रो मुलुकको अवस्थालाई पनि मनमा राखेको छु । हाम्रो विकास समान स्तरमा छैन । प्रविधिको पहुँच एकै नासको पनि छैन । सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन। त्यसैले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ । त्यसैको आधारमा विद्यार्थीहरुको पहिचान र वर्गीकरण गरिएको छ । –     सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि अध्ययन गर्ने कक्षा एकीन गरी पाठ्यपुस्तक उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने, –     रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठनपाठन सञ्चालन गराउने, –     टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गराउने, –     कम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलार्ई अफलाइन सामग्रीहरु उपलव्ध गराई पठनपाठन सञ्चालन गराउने, –     र, इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाईन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराउने । –     यस महामारीको समाप्तीसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने संभावना बढेर गएको छ । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) को विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ । दिदीबहिनी तथा दाजुभाईहरु, –     कतिपयले आप्mना पुर्खाको पौरख सम्झदैनन् । मैले पटक पटक भन्दै आएको छु– बाँकी दुनियाँ अन्धकारमा हुँदा, ज्ञानको ज्योति नहुँदा हाम्रा पुर्खाहरुले ज्ञान र विज्ञानको क्षेत्रमा चमत्कार गरेका थिए । हजारौं बर्ष अघि विश्वलाई अक्षर र अंकको ज्ञान दिएका थिए । हाम्रो बौद्धिक सम्पत्तीका आविष्कारक हाम्रा पुर्खालाई हामीले सम्झनु पर्छ । हाम्रो सभ्यता र संस्कृतिलाई हरदम मनन गर्नुपर्छ । –     वैकल्पिक सिकाइको प्रणालीमा आजबाट जोडिएका आधा करोड भन्दा माथिको संख्यामा रहेका भाइबहिनीहरुलाई म भन्न चाहन्छु, तपाईहरु नै हाम्रो भविष्य हो । देशको कर्णधार हो । तपाईहरुको सिकाइमा गरिने खर्च, राष्ट्रको होस् वा व्यक्तिको समाजमाथिको लागानी हो । भविष्य माथिको लगानी हो । एउटा अभिभावकले आफ्नो सन्तानको शिक्षामा गर्ने लगानी, समाजलाई आवस्यक सक्षम र असल उत्तराधिकारी उत्पादन गर्न गरिएको सबैभन्दा महत्वपूर्ण लगानी हो । –     त्यसैले तपाईहरुले आर्जन गरेको ज्ञान र सीप आपूmलाई सक्षम बनाउने र समाजको लागि उपयोगी हुनुपर्छ । –     हाम्रो शिक्षा प्रणालीले शिक्षित गर्ने विद्यार्थीहरु, दुनियाँसँग प्रतिष्पर्धा गर्ने सक्ने अब्बल हुनुपर्छ । उनीहरु आप्mनो विषयमा विशेषज्ञ र आम विषयमा जानकार हुनुपर्छ । आफ्नो समाज, देशको राजनीति र अर्थतन्त्रबारे जानकार हुनुपर्छ । हाम्रो गौरवपूर्ण सभ्यता र संस्कृतिको बारेमा जानिफकार हुनुपर्छ । अर्थात्, हाम्रो शिक्षा इतिहासकोे गौरव, वर्तमानको आवश्यकता र भविष्यको स्पष्ट मार्गचित्रको एकमुष्ट प्रतिरुप हुनुपर्छ । –    आफ्नो देशमा अझै पछौटेपन, अविकास र गरिबी किन र के कारणले रहिरहेको छ ? त्यसलाई केलाउने र बुभ्mन सक्ने हुनुपर्छ । त्यसलाई अन्त्य गर्न आफू के हुने– प्राविधिक वा वैज्ञानिक, प्रशासक वा व्यवस्थापक, उद्यमी÷व्यवसायी वा श्रमिक, कलाकर्मी वा खेलाडी स्वयं दृढ निश्चियी हुनुपर्छ । –     भनिन्छ, सफलताको रहस्य इमान्दारी हो । सफल हुनका लागि इमान्दार हुनै पर्छ । इमान्दार सबैप्रति हुनुपर्छ । तर सबैभन्दा पहिले आपूmप्रति इमान्दार हुनुपर्छ । भविष्यमा कुन क्षेत्रमा संलग्न हुने? जेमा लाग्ने हो, त्यसमा समर्पित हुनुपर्छ । मिहेनती हुनुपर्छ ।  मिहेनत, प्रतिफल आउने गरी गर्नुपर्छ । –     हाम्रो शिक्षा अनुसन्धानमा आधारित हुनपर्छ । यो नयाँ पुस्ता इनोभेटिभ हुनुपर्छ । नयाँ प्रविधि बनाउने, भएको प्रविधिको विकास गर्ने, उपलब्ध प्रविधि आयात गर्ने र अरुमा रहेको प्रविधिको प्रसार गर्ने हुनुपर्छ । भावी पुस्ता सक्षम हुनुपर्छ । त्यो मानवीय, देशभक्त र विनम्र हुनुपर्छ । यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ । –     झण्डै एक शताब्दीदेखि हाम्रो पुस्ता, स्वतन्त्रता र लोकतन्त्रको लागि लड्यो । नयाँ प्रणाली प्राप्तीका लागि आप्mनो जीवन समर्पित गर्‍यो । पुरानो पुस्ताले लडेर नै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको छ । मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने पछिल्लो आन्दोलन हुँदा किशोर उमेरमा नै रहेको वा भरखरै जन्मिएको नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढ्दै छ । यो पुस्ता स्वभावत बढी जिज्ञासु छ । र, नयाँ प्रविधिमा अभ्यस्त पनि छ । अभ्यस्त भएकै कारण देश÷दुनियाँका विषयमा जानकार पनि छ । –     मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ? –     आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन । तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यो मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवस्यक छैन । –     अप्ठ्यारोमा द्विविधा हुन्छ । त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन । ढुक्क रहौं– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ । –     अन्तमा, अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति हो । –     त्यसैले अबको जनशक्ति, शिक्षित जनशक्ति हुनेछ । –     अबको जनशक्ति, सक्षम जनशक्ति हुनेछ । –     अबको जनशक्ति, स्वस्थ जनशक्ति हुनेछ । –     जोखिमको अवस्था आकलन गरी यथासम्भव छिटो विद्यालयहरु पुनः सञ्चालन हुने नै छन । विद्यालयहरु पुनः सञ्चालनमा नआएसम्म आजबाट शुरुभएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीहरुको ज्ञानमा महत्वपूर्ण योगदान गर्नेछ र शैक्षिक बर्ष खेर जान नदिन योगदान गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आवश्यक सामग्री व्यवस्थापन गरिरहेको छ । भावी दिनमा सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने क्रम निरन्तर जारी रहने छ । –     यो विधि हाम्रा लागि नयाँ हो । तसर्थ, आफ्ना बालबालिकाहरुले यी विधिहरु प्रयोग गरेका छन वा छैनन भन्ने कुरा एकीन गर्न र उनीहरुलाई सहयोग गर्न म सबै अभिभावक, शिक्षक तथा स्वयंसेवकहरुमा अनुरोध समेत गर्दछु  । –     म सबै बालबालिकाहरुलाई यस सिकाइमा सहभागी हुन आह्वान गर्दछु । उज्ज्वल भविष्यको शुभकामना सहित, धन्यवाद ।

कोरोना जाँचमा पहिलो काठमाडौं, दोस्रो जुम्ला

काठमाडाैं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए । मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ हजार २२३ को पिसिआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा सात हजार ४६५ को पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको उनले बताए । यसअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा प्रतिष्ठान दोस्रो स्थानमै थियो । अहिले पनि दोस्रो स्थानमै रहेको छ । तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा सात हजार २९७ को पिसिआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा छ हजार ५०० को पिसिआर भएको छ । त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छ हजार ४५१ जना, कोशी अस्पताल विराटनगरले सात हजार ३९९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छ हजार ३६१ जना पिसिआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ । देशभर २१ प्रयोगशालाबाट एक लाख ३३ हजार ३७७ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आए पनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लाका समेत परीक्षण गर्ने गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए । उनका अनुसार आइतबारसम्म सात हजार ४६५ को परीक्षण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा विजय अर्यालयले पिसिआर मेशिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले चीनमा यसअघि नै उक्त मेशिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेशिन सञ्चालनका लागि तालीमसमेत लिएका हुन् । रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । उनका अनुसार प्रतिष्ठान आफैँले भिटीएम कीट खरिद गरिसकेको छ । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब सङ्कलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लाका आठै स्थानीय तहमा एक महिनाका लागि १५ जना चिकित्सक परिचालन गरिएको छ । रासस

एउटै गाँउपालिका ५ जनामा काेराेना, गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ सय ४

काठमाडाैं । तनहुँ जिल्लाकाे घिरिङ गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षिय ५ जना पुरुषहरूमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २ सय ४ पुगेकाे छ । उनीहरूलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी.कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ ।