प्लाज्मा थेरापीबाट कोरोनाको उपचार भइरहेकोमा विशेषज्ञले प्रश्न उठाए, भन्छन्- प्रमाणित भइसकेको छैन
काठमाडौं । देशका विभिन्न अस्पतालमा ‘प्लाज्मा थेरापी’बाट कोभिड १९ संक्रमणको उपचार भइरहेको सम्बन्धमा विशेषज्ञहरुले प्रश्न उठाएका छन् । सरकारले देशभर २२ वटा अस्पतालमा कोभिड १९ संक्रमणमा परेका बिरामीहरुलाई ‘प्लाज्मा थेरापी’बाट उपचार गरिरहेको छ । तर प्लाज्माको उपचार विधि सम्बन्धमा विशेषज्ञहरुले भने प्रश्न उठाएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सिफारिसमा विभिन्न अस्पतालामा प्लाज्मा थेरापीबाट परीक्षणको रुपमा उपचार भएपछि विशेषज्ञहरुले प्रश्न उठाएका हुन् । प्लाज्मा थेरापीको क्लिनिकल ट्रायल नभइकन उपचार गर्न खोज्दा दुर्घटना निम्तन सक्ने विशेषज्ञहरुको भनाई छ । रक्त विशेषज्ञ डा. विशेष पौडेलले प्लाज्माबाट हुने उपचार कोभिडको लागि प्रमाणित भइसकेको थेरापी नभएको बताए । उनले उपचारका लागि केही पाइएन अब प्लाज्मा दिउँ भनेर बिरामीको जीवनमाथि खेलवाड गर्ने काम गर्न नहुने पनि स्पष्ट पारे । प्लाज्माले काम गर्न सक्ने भएपनि यो नै कोरोनाको अन्तिम उपचार हो भनेर प्रचार गर्न नहुने पनि डा.पौडेलले बताए । उनले एनएचआरसीले दुई देखि तीन सय बिरामीमा क्लिनिकल ट्रायल पुरा गरी प्लाज्माले के कति काम गर्यो भन्ने सम्बन्धमा प्रकाशित नगर्दा सम्म कोभिडको लागि प्लाज्मा विधिबाट उपचार गर्न नहुने स्पष्ट पारे । क्लिनिकल ट्रायल पनि विरामीको स्वीकृति नलिइकन गर्न नहुने उनले बताए । तर अहिले बिरामीको उपचार नै प्लाज्मा विधिबाट सुरु गरिएकोमा त्यसलाई मान्न नसकिने उनले बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का खोप वैज्ञानिक डा. तिर्थराज घिमिरेले प्लाज्मा विधिबाट गरिने उपचार सतप्रतिशत सफल नहुने बताए । कुनै व्यक्ति कोभिड १९ को बिरामी भए उक्त व्यक्तिको रगतमा कोभिड १९ विरुद्धको एन्टीबडि सर्कुलर हुने र उक्त व्यक्ति निको भएमा उसको शरिरको रगतबाट प्लाज्मा निकालेर अर्को व्यक्तिलाई उपचार गर्ने विधि प्लाज्मा थेरापी विधि हो । यो विधिबाट गरिने उपचार सतप्रतिशत नहुने भएको थाहाहुँदै पनि नेपालका किन आयो भन्ने आफुले बुझ्न नसकेको पनि उनले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने प्लाज्मा थेरापीबाट क्लिनिकल परीक्षण भन्दापनि अब्जरभेसन परीक्षणको रुपमा उपचार सुरु गरिएको बताए । अहिले नै उपचारको विधिको रुपमा सबै विरामीलाई प्रयोग नगरिएको उनले स्पष्ट पारे । पहिलो चरणमा प्लाज्मा थेरापी गराइएका संक्रमित र नगराइएका संक्रमितको बिचमा तुलना गरी निष्कर्षमा पुग्नका लागि परीक्षण गरिएको बताए । अहिले देशभरका २२ वटा अस्पतालमा प्लाज्मा थेरापीमार्फत परीक्षण उपचार गरिएको पनि उनले बताए ।
कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर नेपालमा पनि पाइने, मूल्य कति ?
काठमाडाैं । कोरोना भाइरसको बिरामीका लागि प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि अब नेपालमा पनि पाइने भएको छ । येटिचेम वितरक प्रा. लिमिटेडले नेपालमा पहिलो पल्ट रेम्डेसिभिर नेपालमा पाइने बताएको हो । सिप्ला लिमिटेड (बीएसई ५०००८७ , एनएसई सिप्लाइक्यू) – विश्वव्यापीबजारकालागि अग्रणी निर्माताले कोभिड–१९को उपचारको लागि ‘CIPREMI’ (रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इंजेक्शन १०० मिग्रा) ब्रान्डको नाममायेटिचेममार्फत रेम्डेसिभिर पठाइरहेको छ । यस कम्पनीलाई औषधि प्रशासन विभाग (डीडीए), स्वास्थ्य र जनसंख्या मन्त्रालयले नेपालमाकोभिड–१९उपचारको प्रतिबद्धताको तत्काल आवश्यकताको आधारमा नियामक स्वीकृति प्रदान गरेको छ । ४८० शीशाहरूको पहिलो ब्याच प्रति शीशी रू ६ हजार ४०० मा उपलब्ध हुने बताएको छ । जुन सिप्लाको आवश्यक उपचारमा सिप्लाको प्रयासको हिस्साका रूपमा रेम्डेसिभिरको सबैभन्दा कम मूल्यको बिभिन्न जेनेरिक हो । येटिचेम डिस्ट्रिब्युटर्स प्राइवेट लिमिटेडका अध्यक्षप्रभु आर वैद्यले आफुहरुले २ हजार शीशाहरूको लागि अनुमति पाएको छौं बताएका छन् । ४८० शीशाहरूको दोस्रो ब्याच १० सेप्टेम्बरमा पलब्ध हुने पनि उनले बताए । बाँकी १०४० शीशाहरू २५ सेप्टेम्बरमाउपलब्ध गराइने बताए । नेपालमा कोभिड–१९ बाट संक्रमित गम्भीर बिरामीको संख्यामा उल्लेख्य बृद्धि भएदेखि नै सरकारले खाँचोमा परेका बिरामीलाई रेम्डेसिभिरदिने व्यवस्था सुरु गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) द्वारा डाक्टरहरूको प्रत्यक्षनिगरानीमा राखिएको प्रोटोकल र दिशानिर्देशहरू, रेम्डेसिभिरका भाइरस बिरामीहरूलाई उपचार गर्दा पालना गर्नु पर्नेछ ।
उपत्यकामा मंगलबार ४८१ जना काेराेना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ८१ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३९३, ललितपुरको ५८ र भक्तपुरको ३० जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ४ हजार ९ सय १५, ललिपुरमा ७ सय ४३ र भक्तपुरमा ५ सय ४७ जना पुगेकाे छ । आज देशभर १ हजार ६९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।