चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार

काठमाडौं । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौंडा उपमहानगरपालिका-११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए । कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ । पौडेलले भने, “प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो ।” अठार वर्ष उमेरमाथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमणमुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा भएको पौडेलको भनाइ छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताए । उनले क्रमशः अन्य बिरामीलाई पनि आवश्यकता र उपलब्धताअनुसार प्लाज्मा थेरापी गरिने जानकारी दिए । जिल्लामा गम्भीर रहेका धेरै सङ्क्रमितको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । सो मेडिकल कलेजले कोभिड प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ । रासस

उपत्यकामा बिहिबार ४४५ जना काेराेना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ८५ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३५७, ललितपुरको ४६ र भक्तपुरको ४२ जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ५ हजार ६ सय २२, ललिपुरमा ८ सय १८ र भक्तपुरमा ५ सय ९८ जना पुगेकाे छ । आज देशभर १२ सय २८ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

नेपालभर आज १२ सयभन्दा बढि काेराेना संक्रमित थपिए, ६ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । हाल क्वारेन्टिनमा ६ हजार ७ सय ४९ जना रहेका छन् भने आजसम्म ७ लाख ३१ हजार ८ सय ९२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै बिहिबार ९१७ जना निकाे भएसँगैं  हालसम्म २४ हजार २ सय ७ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २५७ पुगेकाे छ ।