कोरोना संक्रमितको उपचारमा चरक मेमोरियल हस्पिटलले पायो सफलता, २० वर्षीया गुरुङले जितिन् काेराेना

पोखरा । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत् कोरोना संक्रमित एक बिरामी निको भइ घर फर्केकी छन् । पोखराको लेखनाथकी २० वर्षीया अञ्जली गुरुङ करिब १५ दिनसम्म उपचारपछि निको भइ शुक्रबार घर फर्केकी हुन् । उनलाई पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले अस्पताल परिसरमा आयोजित एक समारोहमा खादा लगाई बिदाइ गरे । पूर्व मन्त्री अधिकारीले निजी क्षेत्रमै कोभिड-१९ को उपचारमा सक्रियता देखाई अस्पतालले निको बनाइ पठाउनु आफूमा सकारात्मक कार्य भएको बताए । पोखरामा निजीस्तरमा कोभिड-१९ को उपचार गर्ने पहिलो अस्पताल चरक मेमोरियल भएको छ । गत भदौ ४ मा उपचारार्थ भर्ना भएकी अञ्जलीले अस्पतालमा उपचाररत् रहँदा भावनात्मक तथा मानसिक रुपमा आफू निको हुन गरेको उपचार विधिको प्रशंसा गरिन् । उनले सुरुवातमा आफू कोरोना लागेर आत्तिए पनि पछि क्रमशः निको हुँदै गएपछि आत्मबल बढ्दै गएको बताइन् । अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले कोरोना संक्रमितको उपचारमा अस्पतालले कुनै पनि कसर बाँकी नराखेको बताए । उनका अनुसार अस्पतालमा १ सय बेड क्षमताको रहेकोमा ३० बेड कोभिड-१९ को बिरामीलाई उपचारका लागि निम्ति छुट्याइएको छ । अझै पनि अस्पतालमा अर्का एक जना कोरोना संक्रमितको उपचार भइरहेका प्रबन्ध निर्देशक पोखरेलले बताए । कोरोना संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक, नर्स, क्लीनर लगायत सबै आइसोलेसनमै बसेर उपचारमा क्रियाशील हुने हुँदा अन्य रोगका बिरामी पनि ढुक्कले उपचारका लागि आउन सक्नेछन् । २०६९ सालमा पोखरा नयाँबजारमा संचालित चरक अस्पतालले गत वर्षको माघदेखि पोखराको नागढुंगामा सुविधासम्पन्न अस्पताल संचालनमा ल्याएको छ । अस्पतालमा सबै प्रकारका रोगको उपचार सुविधा रहेको अस्पतालका अध्यक्ष बरिष्ठ फिजिसियन डा.बद्री पौडेलले बताए । करिब १ अर्ब ५० करोड रुपैयाँ लागतमा स्थापित यो अस्पताल गण्डकी प्रदेशमै अस्पताल बिल्डिङमै हेलिप्याड भएको पहिलो अस्पताल हो । अस्पतालमा हाल ३५ जना डाक्टर कार्यरत छन् । यसबाहेक पूर्ण तथा आंशिक गरी २ सय जना कर्मचारी कार्यरत् रहेको अस्पतालका व्यवस्थापक प्रदीप शर्माले जानकारी दिए । कोभिड-१९ को सन्त्रास कायम रहँदा कतिपय अस्पतालले अस्पताल गेटबाटै बिरामी फर्काउने गरेकोमा चरकले भने सुरुवातदेखि नै फिभर क्लीनिक संचालन गर्दै सबै प्रकारका रोगका बिरामीको उपचार दिँदैआएको छ । अस्पतालमा हाल आईसीयू १७ वटा, भेन्टिलेटर ८ वटा छन् । चौबीसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ । डाक्टर तथा नर्सको प्रत्यक्ष निगरानी उपचार सुविधा रहेको अस्पतालमा बिरामीका आफन्त नभएपनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ । अस्पतालले आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै उपचार सुविधा प्रदान गरिरहेको बरिष्ठ फिजिसियन डा.बद्री पौडेलले बताए ।

काेराेनाबाट निकाे हुनेकाे पनि संख्या बढ्दै, कुन प्रदेशमा कति निकाे भए ?

काठमाडौं। पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ५४ कोरोना संक्रमित निकाे भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभर साे संख्याका काेराेना संक्रमित घर फर्केका हुन् । यससँगै नेपालमा २५ हजार ५ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन्। ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु र हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्। कुन प्रदेशमा कति डिस्चार्ज ? प्रदेश १– २००१ प्रदेश २– ७३५७ बाग्मती प्रदेशमा– २०६७ गण्डकी प्रदेशमा– १७१७ प्रदेश ५ मा– ५२७६ कर्णाली प्रदेशमा– २१३७ सुदूरपश्चिम प्रदेशमा– ५००६

काठमाडाैंमा काेराेना संक्रमितकाे नयाँ रेकर्ड, कुन जिल्लामा कति देखिए ?

काठमाडाैं । काठमाडौं उपत्यकमा थप ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा साे संख्यामा काेराेना देखिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । काठमाठौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।