जुम्लाकाे ताताेपानीमा पाँच शैयाकाे कोभिड अस्पताल सञ्चालन
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच शैयाकाे अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने,“विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ ।” तातोपानी कोभिड अस्पताल जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये पहिलो बनेको अस्पताल हो । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने उहाँले जानकारी दिए । केन्द्र सरकारले कोभिड अस्पताल निर्माणको लागि रु १० लाख पठाएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाँई कोरोना सङ्क्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने बताए । सो अस्पातलमा अहिले दुई नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य शाखाले जनाएको छ । गत चैतदेखि १२ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये पाँच जना निको भएर घर फर्किसकेका छन् । गाउँपालिकाभरी ८०० भन्दा बढीको पिसिआर परीक्षण गरिएको छ । गाउँपालिकामा ५० श्यायको आइसोलेसनसमेत स्थापना भएको छ । कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दासमेत मेडिकल अधिकृत भेटिएकाका छैनन् । यसका कारण चिकित्सकीय सेवा दिन सकिएको छैन् । यहाँका हरेक गाउँपालिकामा पाँच श्यायको कोभिड अस्पताल निर्माण गर्ने परिपत्र र बजेट स्थानीय तहमा आए पनि अन्य स्थानीय तहले अस्पताल निर्माण गर्न सकेका छैनन् । गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीय बताउँछन् । उनीहरु अब सङ्क्रमितको पनि गाउँमै रेखदेख, नियमन र उपचार हुने भन्दै स्वास्थ्यका हिसाबले निकै राम्रो भएको अनुभूति भइरहेको स्थानीयवासी लकं बुढाले जानकारी दिए । रासस
बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालको कार्यकारी अधिकृतमा प्रदीप बस्नेत नियुक्त
काठमाडाैं । झापास्थित बी एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रदीप बस्नेत नियुक्त भएका छन् । विगत ५ वर्षदेखि नर्भिक अस्पतालका महाप्रबन्धक रहँदै आएका उनले अब बी एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर हस्पिटलको सिइओकाे जिम्मेवारी सम्हाल्ने भएका हुन् । बस्नेतले विभिन्न प्रतिष्ठित कम्पनीमा २० वर्षभन्दा धेरै समय उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
काेराेना सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु
सल्यान । सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो । केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ लगिएको थियो । उहाँको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र कोहोलपुरमा स्वाब सङ्कलन गरेर अस्पतालमा भर्ना गरिएको भोलिपल्ट नै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । उनको मृत्यु भइसकेपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति रिखाराम पुनले जानकारी दिए । कोरोनाबाट सङ्क्रमितको मृत्यु भएपछि जिल्लाको ठूलो व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ । श्रीनगरमा रहेका केही व्यापारीहरुमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि र मृतक व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु र उपचारमा संलग्न व्यक्तिहरुको स्वाब सङ्कलन गरी पिसिआर रिपोर्ट नआउँदासम्मका लागि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । तिहार नजीकै आइरहेको बेला बजारमा अत्यधिक भीडभाड बढिरहेको र समुदायमा कोरोना सङ्क्रमण हुने खतरा रहेकाले बिहानको समयमा मात्रै बजार खोल्ने व्यवस्था गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । “तिहार नजीकै आइरहेको छ बजारमा किनमेल गर्नेहरुको भीडभाड अत्यधिक बढेको छ, कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले भीडभाड नगर्न सबैमा अनुरोध गर्दछु”, अध्यक्ष बुढाथोकीले भने । हालसम्म सल्यानमा ५५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार, ५०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने ४३ जनाको जिल्लाका विभिन्न ठाउँमा होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति पुनले जानकारी दिए ।