मंगलबार नेपालभर दुई हजार ७३६ काेराेना संक्रमित थपिए, २२ जनाकाे मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ७३६ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३८ हजार ३५ पुगेकाे छ । नेपालमा आजसम्म १५ लाख ६४ हजार २१४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८५३ जना निकाे भएसँगैं हालसम्म १ लाख ६० हजार ५७७ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २२ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११४८ पुगेकाे छ ।
सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भन्छन्, ‘सङ्क्रमितको उपचार गर्दै जाँदा आँट बढ्यो’
काठमाडाैं । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई लागेको थियो । भौतिक पूर्वाधारको कमी र प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभावले अस्पताल र स्वास्थ्यकर्मीलाई उपचारमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्धता, स्वास्थ्य बीमा र सतप्रतिशत भत्ताको व्यवस्थापन गरेपछि स्वास्थ्यकर्मीले पनि सङ्क्रमितको उपचारमा सहज बनाएको थियो । उपचार संलग्न स्वास्थ्यकर्मीले विश्व स्वास्थ्य सङ्गठनको कोभिड–१९ सम्बन्धी मापदण्ड र तालीमले सङ्क्रमितलाई उपचारमा सघाएको बताउँछन् । बिरामीलाई उपचार गर्दै जाँदा सिकेको अनुभव उपचार गर्न दक्षता हासिल आफूहरुले गरेको उनीहरुको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा सागरराज भण्डारीले शुरुशुरुमा बिरामीको श्ययासम्म जान डराएकोमा पछि श्ययासम्म पुगेर बिरामीलाई मुसार्ने छुने गरेको बताए । “शुरुमा के कसरी उपचार गर्ने भन्नेमा थियो । पछि विश्व स्वास्थ्य सङ्गठन मापदण्ड र तालीम लिएपछि सिक्दै ग¥यौँ र उपचार गर्न पनि अभ्यस्त भयौँ”, उनले भने, “त्यसपछि त हामीले अन्य बिरामीलाई जस्तै सङ्क्रमितका बिरामीलाई उपचार गर्न थाल्यौँ ।” उनले नेपालमा दोस्रो सङ्क्रमित देखिएपछि आफूहरु योजना बनाएर बिरामीको उपचार गरेको अनुभव सुनाए । “पहिलो सङ्क्रमितलाई हामीले उपचार गर्दा खासै योजना बनाए थिएनौँ”, उनले भने, “जब दोस्रो सङ्क्रमित फेला परे अनि हामीले उपचारको लागि योजना बनाएको थियौँ ।” सरकार नै सङ्क्रमितको दैनिक बढ्न थालेपछि उपचार गर्ने अस्पताल भनेर छुट्टाएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा शुरुमा सङ्क्रमितको उपचार गरिएकोे तर पछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालले पनि सङ्क्रमितको उपचार गर्न थालियो । यस्तै सशस्त्र प्रहरी अस्पतालका डा प्रवीन नेपालले अस्तापलका स्वास्थ्यकर्मी शुरुशुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर मानेको बताए । आफूले सरुवा रोगका अन्य बिरामीलाई पहिले उपचार गरे पनि कोभिड–१९ का बिरामीलाई भने उपचार गर्दा अलिअलि डर हुने गरेको बताए । पछि स्रोत साधन उपलब्धता र तालीम लिएपछि सङ्क्रमितको उपचार गर्न कोही स्वास्थ्यकर्मी नहिचकिचाएको उनको भनाइ छ । “मैले कोभिड–१९ अगाडि क्षयरोग, एचआइभी, फ्लु, डेङ्गुजस्ता सरुवा रोगको पनि उपचार गरेको थिए”, उनले भने, “शुरुमा कोभिड–१९ को कसरी उपचार गर्ने भन्ने अलमल र डर हुन्थ्यो । पछि तालीम लिएपछि र बिरामीको उपचार गरेपछि सिक्दै गयौँ ।” उनले इटाली युरोपमा भएका साथीसँग समन्वय गरेर पनि अस्पतालमा आउने सङ्क्रमितको सफल उपचार गरेको अनुभव सुनाए । “शुरुशुरुमा के होला ? सङ्क्रमितलाई कसरी श्ययासम्म पु¥याउने होला । के कसरी गर्ने भन्ने दुविधा थियो”, उनले भने, “तर पछि तालीम र विदेशका साथीसँगको समन्वयमा उपचार गर्न सिकियो । अहिले त सामान्य जस्तो लाग्छ ।” उनले व्यक्तिगत सुरक्षा कवच (पिपिई) लगाएर कोभिड–१९ को सङ्क्रमण नसर्ने भएपछि स्वास्थ्यकर्मीले जति पनि सङ्क्रमितको उपचार गर्नसक्ने बताए । पहिलेपहिले सङ्क्रमित पनि उपचार गर्न आउँदा आत्तिने, डराउने गरेका थिए तर अहिले त्यस्तो समस्या नभएको उनको भनाइ छ । अस्पतालका डा नेपालले पहिले दिनमा एक पटकमात्र भेट्ने बिरामीलाई अहिले दैनिक चार–पाँच पटक भेट्ने गरेको बताए । अस्पतालले तीन सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गरेको थियो । कोभिड–१९ का सङ्क्रमितलाई हेर्ने, क्यारेन्टिनमा बसेका र अरु सामान्य बिरामीलाई हेर्ने गरी स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको थियो । अहिले बलम्बुमा १०९ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६० जनालाई अक्सिजन र छ जना भेन्टिलेटरमा छन् । कोभिड–१९ अस्पताल वीरअस्पतालको कोभिड–१९ को सघन उपचार कक्ष (आइसियु)मा कार्यरत नर्स मुना पोखरेललाई पनि शुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर लाग्यो । न्यूरो वार्डमा काम गरिहनुभएका पोखरेललाई कोभिड–१९ वार्डमा सरुवा गरेपछि सङ्क्रमितको कसरी काम गर्ने होला भनेर डर लागेको थियो । “सङ्क्रमण फैलिरहेको थियो । त्यही बेला मलाई अस्पतालले कोभिड–१९ वार्डमा काम गर्न पठाइयो । अस्पतालले भने पनि जानै प¥यो”, उनले भनिन्, “म पनि अब सङ्क्रमित हुन्छु । अब घर जान पाइन्न भनेर डर लागेको तर पछि बिरामीको सेवा गर्न पछि पर्न हुन्न भन्ने आफूमा आँट आयो । अनि कोभिड–१९ को आइसियु सङ्क्रमितको उपचार गर्न थाले ।” शुरुशुरुमा अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्य सामग्री व्यक्तिगत सुरक्षा कवच (पिपिई), मास्क, पञ्जालगायत नभएको हुनाले सङ्क्रमितको उपचार गर्न समस्या परेको उनको अनुभव छ । उनले पछि पर्याप्त मात्रामा स्वास्थ्य सामग्री भएपछि सङ्क्रमितको उपचार गर्न केही समस्या नभएको बताइन् । “शुरुमा अस्पतालको पनि व्यवस्थापन थिएन । कसरी बिरामीलाई हेर्ने हो केही जानकारी थिएन । त्यसैले काम गर्न समस्या थियो”, उनले भनिन्, “पछि सामग्री पनि पर्याप्त हुन थाल्यो । सङ्क्रमितको उपचार गर्दै जाँदा आँट पनि आयो । बिरामीको राम्रोसँग उपचार गर्न सक्षम भए ।” उनले आफू कोभिड–१९ को आइसियु वार्डमा काम गर्ने जानकारी आफ्ना बुबाआमालाई समेत गराएर केही हुँदैनन् भनेर आफैँले सम्झाइन् । बुबाआमाले पनि केही भनेन्न । तीन महिनादेखि कोभिड–१९ आइसियु वार्डमा काम गरिरहेकी पोखरेलसँगै धेरै काम गर्ने स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमित भइसकेका छन् तर उनी निरन्तर सङ्क्रमितको उपचार गर्दा पनि सङ्क्रमित भएकी छैनन् । दशैँ पनि अस्पतालमा सङ्क्रमितसँगै मनाएकी उनी तीन महिनादेखि अस्पतालमा उपलब्ध गराएका होटेलमा बस्दै आएकी छिन् । “सङ्क्रमितको उपचार गर्दा म पनि सङ्क्रमित हुन्छु जस्तो लागेको थियो तर होसियारपूर्वक काम गर्दा अहिलेसम्म म सङ्क्रमितत भएको छैन”, उनले भनिन्, “अहिले म निर्धक्क भएर काम गर्न सक्ने भएको छु ।” नेपालमा अहिलेसम्म एक लाख ९७ हजार २४ सङ्क्रमित भइसकेका छन् । यस्तै एक लाख ५९ हजार ७२४ निको र एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएको छ । यस्तै वीरअस्पतालको कोभिड–१९ का सङ्क्रमित रहेको वार्डमा सरसफाइ गर्ने महेश्वरी परियार पनि स्वास्थ्यकर्मी जस्तै सरसफाइ गर्न डराए । उनीसँगै सरसफाइमा काम गर्ने केही कर्मचारीले पनि आफूहरुलाई पनि सङ्क्रमण हुन्छ, मरिन्छ अब काम गर्न सकिँदैन भनेर जागिर छोडौँसमेत भनेको स्मरण गरे तर पछि केही साथीले होइन यस्तो बेला काम गर्नुपर्दछ भनेपछि आफूहरुले काम गर्न थालेको उनले बताए । “मसँगै अन्य साथीलाई कोभिड–१९ वार्डमा सारेपछि अब सङ्क्रमण हुन्छ भनेर हामीलाई डराएका थियौँ”, उनले भने, “केही साथीले जागीर छोडेर घर जाउसमेत भने तर केहीले यस्तो बेला काम गर्नुपर्दछ भनेर काम गरौँ । पिपिई, पञ्जासहित सावधानी भएर काम गर्दै जाँदा डराएनौँ । सङ्क्रमितको नजिक जाँदा सामान्यजस्तो लाग्छ ।” चार महिनादेखि कोभिड–१९ का सङ्क्रमितका सरसफाइमा रहेका उनी सङ्क्रमित पनि भए । सङ्क्रमण भएपछि निको भएर पुनः सङ्क्रमितकै सरसफाइमा खटिनु भएको छ । “सङ्क्रमित भएपछि निको भएपछि म नियमित सरसफाइमा छु”, उनले भने, “अहिले सङ्क्रमितको वार्डमा छु कि अरु वार्डमा छु केही जस्तो लाग्दैन । आफू सुरक्षित भएर काम गरेपछि केही हुँदैन ।” सङ्क्रमितको वार्डमा काम गर्न थालेपछि उनी विगत तीन महिनादेखि घर नगई होटेलमा बसेका छन् । रासस
मोरङमा कोरोना सङ्क्रमणबाट एकैदिन १० जनाको मृत्यु
मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज पाँचजना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ भने कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुई, न्यूरो कोभिड अस्पतालमा एक र होम आइसोलेसनमा दुईजनाको मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय सङ्क्रमित पुरुषको आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सोही अस्पतालमा झापा गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि यही कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै झापाको हल्दिबारी–४ का ७० वर्षीय सङ्क्रमित पुरुषलाई यही कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएकामा आज मृत्यु भएको छ भने उदयपुरको त्रियुगा–३ का २१ वर्षीय सङ्क्रमित युवाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको छ । मृतक युवालाई कोरोना पोजिटिभ आएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएका प्रबन्धक दाहालले बताए । नोबेलमा मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय सङ्क्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २२ गते उपचारका लागि अस्पताल भर्ना गरिएका थियो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सुनसरी इटहरी–५ का ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मृतकलाई कात्तिक १३ गते पोजिटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, सोही केन्द्रमा विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि उपचारका लागि भर्ना गरिएकामा मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते केन्द्रमा भर्ना गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ । मृतकलाईको यही कात्तिक २४ पोजिटिभ देखिएको र होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ । विराटनगर–३ का ८९ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा सोमबार राति मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि मृतक होम आइसोलेसनमा बसेका परिवारले जनाएको छ । न्यूरो कोभिड अस्पताल विराटनगरमा मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ ।मृतकलाई यही कात्तिक २१ उपचारका लागि भर्ना गरेको दिन पोजिटिभ देखिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गाैला र मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । रासस