हुम्लाको अदानचुलीमा नियमित खोप सेवा शुरु
हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको आदानचुली गाउँपालिकामा नियमित खोप सेवा शुरु भएको छ । अदानचुलीको पालिका केन्द्र श्रीनगरमा रहेको खोप केन्द्रमा नियमित खोप लगाउने कार्य शुक्रबारबाट शुरु गरिएको हो । श्रीगनर स्वास्थ्यचौकीबाट वितरण हुने खोप उपलब्ध भएसँगै वडा नं १ देखि ५ वडामा रहेका सबै खोप केन्द्रमा लगाउन शुरु गरिएको हो । प्रत्येक महिनाको एकपटक गर्भवती तथा बालबालिकालाई लगाइने नियमित खोप शुक्रबारदेखि लगाउन शुरु गरिएको श्रीनगर स्वास्थ्यचौकीका इन्चार्ज सामशरण थापाले जानकारी दिए । पहिलो दिन कल्खे सामुदायिक स्वास्थ्य एकाइको खोप केन्द्रबाट शुरु भएको यो कार्यक्रम २५ गतेसम्मका लागि निरन्तर हुने भएको इन्चार्ज थापाले जानकारी दिए । नियमित खोप गर्भवती तथा बालबालिका लागि अनिवार्य लगाइनुका साथै प्रत्येक महिना नियमितरूपमा नछुटाएर खोप लगाउँदा अन्य रोग लाग्नबाट सजिलै लड्न सक्ने हुनाले सबैले यो खोप लगाउन आवश्यक छ । रासस
बर्दिवास अस्पतालले पायाे थप १ थान पिसीआर मेसिन
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको हो । बर्दिबास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पिसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको थियो । श्निबार साँझ रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिवासलाई प्राप्त स्वास्थ्य उपकरणहरु पिसीआर मेसिन एक थान, ल्यापटप एक थान र युपिएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरिएको हो । रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए । बर्दिवास अस्पतालले यसअघि गत भदौ १२ गतेदेखि नै नगरपालिकाले जडान गराएको पिसीआर मेसिनबाट सर्वसाधारणको कोभिड–१९ परीक्षण गर्दै आएको छ । थप मेसिन प्राप्त भएपछि कोभिड–१९ सङ्क्रमण भए/नभएको यकिन गर्न स्वाब परीक्षण गर्ने काम अझ सघन गर्न सकिने नगरप्रमुख कार्कीले बताए । शिक्षा, स्वास्थ्य, शान्तिका लागि काम गरिरहेको रोटरी क्लब बर्दिवासले कोभिड–१९ नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा फराकिलो बनाउन पिसीआर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब बर्दिवासका अध्यक्ष गौतमको भनाइ छ । कोरोना भाइरसको जारी महामारीबीच स्वाब परीक्षण र यसपछि अन्य रोगबारे जाँच गर्न सकिने बहुउपयोगी पिसीआर मेसिन बर्दिवास अस्पताललाई प्रदान गरिएको रोटरी इन्टनेशनलअन्तर्गत (३२९२, नेपाल शाखा) का पूर्वसचिव दाहालले हस्तान्तरण समारोहमा बताए । यो बहुउपयोगी मेसिन मुलुकभरिका अन्य आठ अस्पताललाई प्रदान गर्न झिकाइँदा एक अस्पताललाई १५ लाखमा उपलब्ध गर्न सकिएको दाहालको भनाइ थियो । हस्तान्तरण समारोहमा रोटरी क्लब इन्टरनेशनल नेपाल शाखा (३२९२) का अन्य पदाधिकारी र प्रदेशसभा सदस्य शारदादेवी थापासहितका व्यक्तित्वको सहभागिता थियो । कार्यक्रम रोटरी क्लब बर्दिवासका अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । बर्दिवास अस्पतालमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा, उदयपुर, सिन्धुलीसहितका जिल्लाका सर्वसाधारणले स्वाब परीक्षणको सेवा लिँदै आएका अस्पतालले जनाएको छ । हालसम्म दुई हजारभन्दा बढीले अस्पतालमा स्वाब परीक्षण गराएका बर्दिवास नगर कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानका सहसंयोजक तथा अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए । रासस
शनिबार नेपालभर दुई हजार ७५३ काेराेना संक्रमित थपिए, १७ जनाकाे मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९१ हजार ६३६ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३५ हजार ४ सय ३५ पुगेकाे छ । नेपालमा आजसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २२०६ जना निकाे भएसँगैं हालसम्म १ लाख ५५ हजार ११४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १०८७ पुगेकाे छ ।