घरमै बस्ने बहानामा गाउँघर डुल्दै सङ्क्रमित, कारवाही गर्न प्रशासनकाे निर्देशन

काठमाडौं । कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । सङ्क्रमित व्यक्ति घरमै बस्ने बहानामा गाउँघर डुल्ने र नेपाल सरकारले जारी गरेको स्वास्थ्य सावधानीका उपाय समेत अवलम्बन नगर्ने गरेको गुनासो बढेको भन्दै त्यस्ता व्यक्तिको हकमा कारवाही गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताए । समाजका प्रतिष्ठित व्यक्तिले समेत स्वास्थ्य सावधानीका उपाय अवलम्बन गरेको नपाइएको उनको भनाइ छ । समाजमा सङ्क्रमण बढ्दो क्रममा रहेको अवस्थामा बढ्दो असावधानीले थप जोखिम बढाउने निष्कर्षसहित उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए । स्थानीयवासीलाई समेत सङ्क्रमित व्यक्तिले हेलचेर्क्याईं गरेको पाइए सो विषयमा जानकारी गराउन सुनसरी प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयमार्फत मातहतका सबै युनिटलाई उक्त निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन भनेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । रासस

‘राजनीतिक दलले शिक्षण र स्वास्थ्यमा व्यापार गरिरहेका छन्’

काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । राजधानीमा आज (कार्तिक २० गते) पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरुले माफिया र विचौलियासँग मिलेर व्यापार गरिहेको आरोप लगाएका हुन् । सबै स्वास्थ्य र शिक्षण संस्थाहरुमा आफ्ना कार्यकर्ताहरुका भर्तिकेन्द्र बनाएर धरासायी बनाइरहेको आरोप उनले लगाए । ‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरुमा आफ्ना कार्यकर्ता भर्ति गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने । शिक्षा र स्वास्थ्य सेवामुलक क्षेत्र हो । अहिलेका राजनीतिक दलहरुले शिक्षण र स्वास्थ्य संस्थालाई नाफामुलक क्षेत्रको रुपमा व्यापार गरिरहेका छन् । शीर्ष नेताहरु माफिया, विचौलिया र दलालहरुसँग मिलेर व्यापार गरिरहेका छन् ।’, उनले भने । डा. केसीले पूँजीवादी भनिने देशहरु समेत शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारिकरण नगरी गुणस्तर कायम सफल रहेको उल्लेख गर्दै नेपालमा भने जनतालाई दुःख दिने काम मात्रै भएको बताए । उनले भने, ‘नेपालमा समाजवादीहरुले जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्न जान्छन् । दुई तिहाइको सरकार भएपछि पेटमा लात हान्छन् ।’ उनले आफुसँग भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै निरन्तर खबरदारीको आवश्यकता रहेको बताए । डा. केसीले १९ औं अनसनका समयमा आफुसँग भएका सम्झौताहरु कार्यान्वनयको कुन चरणमा पुगे भनेर प्रश्न पनि गरेका छन् ।

बिहिबार नेपालभर तीन हजार ५१ काेराेना संक्रमित थपिए, १८ जनाकाे मृत्‍यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ५१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९७४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३६ हजार ५ सय १४ पुगेकाे छ । नेपालमा आजसम्म १५ लाख ७ हजार १९० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३४३० जना निकाे भएसँगैं हालसम्म १ लाख ४८ हजार ४०८ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १८ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १०५२ पुगेकाे छ ।