अमेरिकाले नेपाललाई दियाे एक सय थान भेन्टिलेटर, सरकारी अस्पताललाई दुई-दुईवटा
काठमाडौं । कोभिड १९ विरुद्धको लडाईमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरेका हुन् । भेन्टिलेटर हस्तान्तरणपछि राजद्युत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिवद्ध रहेको बताए । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्याउने उनले बताए । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तर्ता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड विरुद्धको लडाईका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गरे । उनले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै विरतण सुरु गरिएको बताए । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरु हरेक सरकारी अस्पताललाई दुई-दुईवटाका दरले वितरण गरिने उनले बताए । भेन्टिलेटरका अतिरिक्त युएसआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ ।
बिहिबार नेपालभर एक हजार ९१३ काेराेना संक्रमित थपिए, १५ जनाकाे मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ९१३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३८ हजार ४६१ पुगेकाे छ । नेपालमा आजसम्म १५ लाख ८४ हजार ३१७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३४९ जना निकाे भएसँगैं हालसम्म १ लाख ६४ हजार ५९२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १५ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११८९ पुगेकाे छ ।
काेराेना सङ्क्रमणबाट मोरङमा ४ महिलासहित पाँचको मृत्यु
मोरङ । मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन जना, मोरङको बुढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा एक र मोरङको उर्लाबारीस्थित होम आइसोलसनमा एक जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट मृत्यु हुनेमा चार महिलासहित पाँच रहेका छन् । नोबेल शिक्षण अस्पतालमा झापाको गौरादह–२ की ४९ वर्षीया सङ्क्रमित महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकलाई यही कात्तिक ४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । त्यस्तै सोही अस्पतालमा सुनसरी इटहरी–३ की ४० वर्षीया महिलाको आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २६ गते उपचारका लागि भर्ना गरिएको र सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको दाहालले बताए । मोरङको रङ्गेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका थियो । यसैगरी मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा झापाको दमक–६ की ४२ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतक महिलालाई यही कात्तिक २६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको र सोही दिन पोजेटिभ देखिएको थियो । यस्तै मोरङको उर्लाबारी–८ की ४५ वर्षीया सङ्क्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । मृतक महिलालाई यही कात्तिक १५ गते कोरोना सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मृतकहरुलाई, रुघा, खोकी, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या र बान्ता आउनेलगायत समस्या थियो । रासस