हुम्लामा समुदायस्तरमै फैलियो कोरोना सङ्क्रमण

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ । पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको हो । गाउँपालिकाको अन्य वडामा सङ्क्रमण नदेखिएको भए पनि वडा नं ४ को प्रत्येक गाउँमा कोरोना सङ्क्रमित भेटिनुका साथै उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । सोमबारसम्म ५३ जना रहेको कोरोना सङ्क्रमितको सङ्ख्या मङ्गलबार ५९ जनाको एन्टिजेनबाट परीक्षण गर्दा तीन थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या नाम्खा गाउँपालिकामा ५६ पुगेको फडेराले बताए । गाउँपालिकाले आवतजावत बन्द गर्दै सिल गरेको भए पनि सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । पहिलो दिन चार, दोस्रो दिन आठ, तेस्रो र चौथो दिन कात्तिक २९ गते १५ गरी मङ्सिर १ गते सोमबार २६ जना कोरोना पोजेटिभ देखिएको थियो भने मङ्लबार थप तीन जनामा सङ्क्रमण देखिएको हो । हिमपातपछि बिहान, बेलुका र रातिको समयमा तापक्रम माइनसमा पुगेसँगै प्रकोपलाई नियन्त्रणमा लिन नसक्दा वडा नं ४ को समुदायस्तरमा प्रवेश गरेको स्वास्थ्यकर्मी बताउँछन् । यस्तै दुई कोरोना सङ्क्रमितलाई महँगो हवाईभाडा १०/१० लाख तिरेर हेलिकोप्टरमार्फत काठमाडौं उद्धार गरिएको छ । नाम्खाको याल्वाङ जिल्लाबाट चिकित्सकको टोली खटिएको भए पनि यो महामारीलाई नियन्त्रणमा लिन नसकिएको बताइएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको बताइएको छ । उत्तरी क्षेत्रमा देखिएको कोरोना प्रकोप नियन्त्रणमा जिल्लाका नियमनकारी निकाय नै मौन बसिरहेका छन् । याल्वाङमा दैनिक कोरोना सङ्क्रमित बढ्दै गए पनि जिल्लाका जनप्रतिनिधि र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै बजारमा आलोचना गर्न थालिएको छ । रासस

पर्वतकाे कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव

पर्वत । पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ । पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचारी व्यवस्थापन हुनसकेको छैनन् । नजिकै सुविधा सम्पन्न अस्पताल नभएका स्थानीय तहलाई अस्थायी कोरोना अस्पताल बनाउन सङ्घीय सरकारले बजेट विनियोजन गरेर पठाएको थियो । कुश्मा नगरपालिका बाहेक अन्य ६ स्थानीय तहमा अस्पताल बनाउन केन्द्रको निर्देशन छ । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पैयुँ गाउँपालिकाले चिकित्सकसहित नर्स र कार्यालय सहयोगीसहित कोभिड अस्पतालमा उपचार सेवा शुरु गरेको जानकारी दिए । उनले अस्थायी कोरोना अस्पतालमा चार जना सङ्क्रमितको उपचार भइरहेको बताए । महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लुखुका डाक्टर र नर्स करारमा लिएर सेवा सञ्चालन गरेको छ । बिहादी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान भए पनि डाक्टरको दरबन्दीमा दरखास्त पेश गरेका छैनन् । नर्स र कार्यालय सहयोगी मात्रै भर्ना गरिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए । उनले अन्य कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन नभएको जानकारी दिए । कोरोना अस्थायी अस्पताल बनाएर सङ्क्रमितको उपचार गर्न भन्दै सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई १०/१० लाख बजेट समेत पठाइसकेको छ । फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए । पाँच श्यया क्षमताको अस्पतालका लागि मेडिकल अफिसर (डाक्टर)सहित दुई जना नर्स र एक जना कार्यालय सहयोगीको माग गरिएको छ । तीन महिनासम्म अस्थायी कामकाज गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा शुरु हुन नसकेको मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले बताए । अधिकाँश स्थानीय तहमा नर्स र कार्यालय सहयोगीमा धेरैको आवेदन परेको छ तर डाक्टर पाउन हम्मे हम्मे परेको छ । स्थानीय तहपिच्छे अस्पताल बनाउनुभन्दा भएका अस्पताललाई उपकरण र चिकित्सकको व्यवस्था गरिदिएको भए अहिलेको समस्या नआउने पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । उनले नजिकैको अस्पतालबाट करारमा कर्मचारी लिएर सेवा गर्न सकिने सुझाव दिए । कोरोना सङ्क्रमितको उपचारका लागि स्थानीय तहलाई अस्पताल बनाउन भनिए पनि जनशक्तिको व्यवस्थापनमै समस्या झेल्नुपर्दा कोरोना सङ्क्रमितको गाउँघरमै उपचार गर्न खोजिएको प्रयास सफल हुनसकेको छैन । रासस

मंगलबार ५०२ जनामा संक्रमण पुष्टि, १७ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५०२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ५०२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४७५ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३० हजार ९८६ पुगेकाे छ । नेपालमा आजसम्म १६ लाख १७ हजार २३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १२४७ जना निकाे भएसँगैं हालसम्म १ लाख ७९ हजार २४२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १२४७ पुगेकाे छ ।