‘टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन् तर, आइसियुका लागि एकजना दक्ष जनशक्तिसमेत छैन’

भजनी । कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल शुरु गरेको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठाएको छ । एकवटा भेन्टिलेटर यूएनडिपीले अस्पताललाई सहयोग गरेको अस्पतालमा उपकरण भएर पनि जनशक्ति नहुँदा आएका उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताएका छन् । “अहिले टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन् तर, आइसियुका लागि एकजना दक्ष जनशक्तिसमेत अस्पतालसँग छैन ।” अध्यक्ष रावलले भने, “अहिले बिरामीको आइसियु र भेन्टिलेटर नपाउँदा ज्यान जाने गरेको छ । हामीले त्यसैलाई मध्यनजर गर्दै अबको दुई महिनाभित्र आइसियु र भेन्टिलेटर सञ्चालन गर्ने गरी स्थानीय तहसँग समन्वय शुरु गरेका छौँ ।” अध्यक्ष रावलले टीकापुर नरगपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र महुन्याल गाउँपालिकासँग छलफल भएको बताएका छन् । उनले दश बेडको आइसियु र सात बेडको भेन्टिलेटर सञ्चालनका लागि पूर्वाधार अस्पतालसँग भए पनि आवश्यक पर्ने जनशक्तिका लागि भने आर्थिक अभाव भएका कारण स्थानीय तहसँग छलफल गरिएको बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि एकजना एनेस्थेसियालोजिष्टसहित ३२ जना थप कर्मचारी व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि करिब रु दुई करोड ३७ लाख ५५ हजार ८०० अनुमानित खर्च हुने बताए । राईले उपकरणमात्र भएर सेवा सञ्चालन गर्न नसकिने भन्दै जनशक्तिका लागि आर्थिक पाटोसक्षम भए आइसियु सञ्चालन गर्न कुनै समस्या नरहेको बताएका छन् । उनले आइसियु सञ्चालन हुँदा टीकापुरका लागि मात्र नभई आसपासका क्षेत्रलाई समेत महत्वपूर्ण टेवा पुग्ने बताए । अस्पताल विकास समितिको समन्वयमा भएको सर्वदलीय छलफलमा अस्पतालमा आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि स्थानीय तह सकारात्मक देखिएका छन् । भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटाले कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा बिरामीले अस्पतालमा बेड पाउने अवस्था नरहेको बताउँदै यो समयमा आइसियु स्थापना प्रस्ताव महत्वपूर्ण रहेको बताइन् । त्यस्तै, जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकामा चालू आवमा सबैभन्दा कम बजेट आएको बताउँदै आइसियु सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताए । टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले आइसियु सञ्चालनका लागि टीकापुर नगरपालिकाले अग्रपङ्क्तिमा रहेर सहयोग गर्ने बताउँदै एउटै स्थानीय तहले मात्र चाहेर आइसियु सञ्चालन गर्न सम्भव नरहेको बताए । छलफलमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले सरकारले नै स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएको अवस्थामा सबै स्थानीय तह मिलेर सङ्घ र प्रदेशलाई दबाब दिनै भए पनि आइसियु सञ्चालन सुझाव दिएका छन् । सुदूरपश्चिम प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार भएर पनि जनशक्तिको अभावमा बिरामीलाई नेपालगञ्ज, धनगढी रेफर गर्नुपर्ने बाध्यता रहँदै आएको छ । कैलालीको आधाभन्दा बढी स्थानीय तह र बर्दियाको आधाभन्दा बढी स्थानीय तहका नागरिक उपचारका लागि टीकापुर अस्पतालमा आउने गर्दछन् । रासस

जाजरकोटको छेडागाड नगरपालिकामा १५ श्ययाको अस्पताल सञ्चालन

जाजरकोट । पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ श्ययाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण गरी कामको शुरुआत गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए । सङ्घीय सरकारको रु एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै शुरु हुने प्रमुख महताराले जानकारी दिए । केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । अहिले सदरमुकामस्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ । एक मेडिकल अधिकृत, दुई नर्ससहित १५ जना कार्यरत रहने छन् । ल्याब, एक्सरे सेवासमेत सञ्चालनमा आउने बताएको छ । तीन सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम शुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए । १५ मङ्सिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतले जानकारी दिए । देशैभरिमा छेडागाड नगरपालिकाले पहिलोपटक नगर अस्पताल उद्घाटन गरेर सबैलाई उछिनेको छ । पन्ध्र श्ययाको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिए । देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि रु २५ करोड बजेट पठाएको समेत उनले बताए । स्वास्थ्य मन्त्रालयले निकै काम गरेको तर केही मान्छेले सो काम नदेखेको मन्त्री रावतको भनाइ थियो । कर्णालीका अधिकांश ठाउँमा ५० श्ययाको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ । छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन् । रासस

भारतमा कोभिड-१९ को तेस्रो लहर, मास्क नलगाउनेलाई २ हजार जरिवाना

भारत । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँ दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागु गरिएको छ । पछिल्लो १५ दिनमै एक लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागि हुन पाउने गरि नियम लगाइएको हो । भारतको राजधानी सहर समेत रहेको दिल्लीमा कोभिड-१९ को तेस्रो लहर चलेको छ । संक्रमण नियन्त्रणबाहिर गएपछि बिहीबार दिल्ली सरकारले मास्क नलगाउनेलाई २ हजार जरिवाना लगाउने निर्णय गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले दिल्लीका उपराज्यपाल अनिल बैजलसँग भेट गरि मास्क नलगाउने व्यक्तिलाई २ हजार जरिवाना लगाउने निर्णय सरकारले गरेको बताए । दिल्ली सरकारले कोरोना महामारी बढेपछि बढी भीडभाड हुने बजारहरुमा लकडाउन गर्ने प्रस्ताव पहिल्यै नै गरिसकेको छ छ । सार्वजनिक क्षेत्रमा छठ पर्व मनाउन पनि रोक लगाइएको छ । त्यसैगरि वैवाहिक समारोहमा यसअघि २ सयजनाको भेलालाई अनुमति दिइएकोमा अब भने ५० दुई हप्ताको अवधिमा दिल्लीमा १ हजार २०२ जनाको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५ लाख ३ हजार ८४ पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ९४३ पुगेको छ ।