ललितपुरमा कोरोना निको हुनेकाे संख्यामा वृद्धि
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६९ र मृतकको सङ्ख्या ११८ पुगेको कार्यालय प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको सङ्ख्या बढेको छ । महानगरपालिकामा रहेका कूल सात हजार ७२ सङ्क्रमितमा पाँच हजार ९२६ घर पठाइसकेको कोभिड स्थानीय स्रोत व्यक्ति देवी गुरुङले बताए । उनले भने, “महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४५ र मृतकको सङ्ख्या ४८ पुगेको छ ।” त्यसैगरी गोदावरीमा आजसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या ८९९ र यसमा निको भएर घर फर्कनेको सङ्ख्या ६८१ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीमा सक्रिय सङ्क्रमित २०४ र मृतकको सङ्ख्या १४ पुगेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी गराए । महालक्ष्मी नगरपालिमा सङ्क्रमित सङ्ख्या एक हजार ५४६ र यसमा सङ्क्रमणमुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या एक हजार ३०० पुगेकोे छ । नगरपालिमा सक्रिय सङ्क्रमित २३४ र मृतकको सङ्ख्या १२ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलको भनाइ छ । कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिकाका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताए । यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो । गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन । महाङ्कालमा कोरोना सङ्क्रमित सङ्ख्या १७ पुगेको छ । ती मध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ । महाङ्कालका एक व्यक्ति होम आइसोलेशन र अर्का एक पाटन अस्पतालमा भर्ना भइरहेका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनले भने, “गाउँपालिकामा कुनै व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन ।” वाग्मतीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढी नै रहेको छ । यति नै बढ्यो भने यकिन जानकारी लिन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए । महानगरपालिकाले भने कोरोना नियन्त्रणका लागि छ/छ जनाको टोली खटाएर भीडभाड गर्न नदिएको, नगर प्रहरी खटाएर मास्क लगाउन लगाइरहेको र भौतिक दूरीसमेत कायम गर्न लगाइरहेको श्रोत व्यक्ति गुरुङले जानकारी दिए । रासस
निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरद्वारा स्वाब संकलन शुरु
काठमाडाैं । कोरोना भाइरस कोभिड—१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो । चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संलकनको काम सुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । सरकारले घोषणा गरेअनुसार लक्षीत समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न आग्रह गरे । कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहनत गरिरहेपनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए । उनले स्थानीय स्तरबाट नै कोरोना महामारी विरुद्ध लड्न सहयोग गर्नुपर्ने बताए । काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तानतरण गरेको छ । सोही मोबाइल भ्यानबाट स्वाव संकलन गरिने उनले बताए ।
लागुऔषध सेवनमा फस्दै बालबालिका, १९ वर्षमुनिका लागुऔषध सेवनकर्ता २१ प्रतिशत
टीकापुर । विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ । कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताउँछन् । “हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष आठ/दश बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छन्”, शिक्षक चौधरी भन्छन्, “विद्यालय बन्द भएको आठ महिना भयो । विद्यार्थी फुर्सदिला भएका छन् । अझ गलत सङ्गतमा फस्ने जोखिम बढेको छ ।” नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडाैंको तथ्याङ्कमा पोहोर अर्थात् २०७६ सालमा १९ वर्षमुनिका लागुऔषध सेवनकर्ता २१ प्रतिशत छन् । विसं २०७६ मा सबै उमेरका नेपालभर एक लाख ३० हजार ४२४ लागुऔषध प्रयोगकर्ता रहेका छन् । तीमध्ये पुरुषको सङ्ख्या एक लाख २२ हजार छ भने महिला झण्डै नौ हजार छन् । लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जनाएको छ । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको छ । साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेका लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडाँैका प्रहरी उपरीक्षक कृष्णकुमार महत बताउँछन् । “बालबालिका गलत सङ्गतका कारण बढी कुलतमा फसेको देखिन्छ”, उनी भन्छन्, ‘‘बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै हुन्छ । किशोरावस्थाका नानीबाबुको आनीबानीको निगरानी आवश्यक छ ।” शिक्षा विकास तथा समन्वय एकाइ कैलालीको तथ्याङ्कमा विसं २०७४÷७५ मा विद्यालय छोड्ने विद्यार्थी चार प्रतिशत छन् । यद्यपि लागुऔषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क एकाइसँग छैन । बालबालिका तथा किशोरकिशोरीलाई कुलतबाट जोगाउन कैलालीको टीकापुर नगरपालिकाले वडामा चेतनामूलक कार्यक्रम र विद्यार्थीलाई प्रशिक्षण दिइरहेको वडा नं ७ का वडाध्यक्ष रामलाल डगौरा थारू बताउँछन् । “हामीले प्रहरीसँगको साझेदारीमा विद्यालय र बस्तीस्तरमा लागुऔषधका असरबारे जानकारी दिने गरिरहेका छौँ”, उनी भन्छन्, “कुलत सेवनको असर समाजमा हुने आपराधिक गतिविधिसँग समेत जोडिने भएकाले यसलाई रोक्न जिम्मेवार भएर लागेका छौँ तर लकडाउनपछि गाउँमै गएर कार्यक्रम गर्न सकिएको छैन ।” टीकापुर बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका उपप्राध्यापक नाथुराम चौधरी लागुऔषध प्रयोग घटाउन सीमा नाकामा जाँच बढाउने, लागुऔषधको प्रयोगबाट हुने हानी नोक्सानीबारे चेतना फैलाउने, कानूनको कडा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । “बालबालिकालाई माया देखाएर सही बाटोमा हिँडाउन अभिभावकले समय दिनुपर्छ”, उपप्राध्यापक चौधरी भन्छन्, “बालबालिकाले अभिभावकको साथ नपाएर पनि बिग्रिएका भेटिन्छन्, सन्तानलाई सही बाटो देखाउन चुक्न हुँदैन, एउटा बच्चा बिग्रिए समाज बिग्रन्छ ।” कुलतले बालबालिकालाई शारीरिक, मानसिकरूपमा मात्र कमजोर नबनाएर पारिवारिक कलह पनि बढाउने गर्छ । यसरी गलत सङ्गत वा गलत बाटोमा लागेका बालबालिकालाई ‘रिह्याब सेन्टर’ अर्थात् पुनःस्थापना केन्द्रमा राख्न सकिन्छ । कैलालीको टीकापुरमा मात्र चारवटा पुनःस्थापना केन्द्र छन् । यसले पनि समाजमा लागुऔषध प्रयोग बढ्दो छ भन्ने देखाउँछ । टीकापुरका पुनःस्थापना केन्द्रमा विद्यालयमा पढ्ने उमेरका विद्यार्थी पनि छन् । टीकापुरका एक अभिभावक समय दिन नपाउँदा आफ्नो छोरा कुलतमा फसेको बताउँछिन् । “म दिनभरि ज्यालादारी काम गर्थेँ, १६ वर्षमै कुलतमा फस्यो, रातिराति घर आउँथ्यो, मैले सुधार्न सकिनँ”, उनले भनिन्, “पछि चार महिना सुधार केन्द्रमा राखेँ, अहिले छोरा सुध्रिएको छ । मैले ज्यालादारी छाडेर आमाछोरा मिलेर नास्ता पसल खोलेका छौँ । छोराछोरी आमाबाबुको समय खोज्दा रहेछन् ।” रासस