साेमबार नेपालभर १९८० जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १९८० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १९८० जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २२ हजार २८८ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १८ हजार ८८४ पुगेकाे छ । नेपालमा आजसम्म १६ लाख ७० हजार ४५६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३०४३ जना निकाे भएसँगैं हालसम्म २ लाख २ हजार ६७ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १३३७ पुगेकाे छ ।
काेराेना बीमा दाबी गर्नेकाे सख्या बढेपछि समितीले गर्याे कडाइ, १५ प्रतिशतको विवरण गलत
काठमाडाैं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड–१९ को बीमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु गर्न थालेको छ । यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न शुरुआत गरेको हो । बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५३० जना कोभिड–१९ सङ्क्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ । “सङ्क्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ”, समितिका संयोजक अधिकारीले भने, “ दुवैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गर्दछौँ ।” समितिले रुजु गरिसकेपछि मात्र बीमाबापतको रकम पाउनेछन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ । विसं २०७७ भदौ २८ अगाडि बीमा गरेका कोभिड–१९ को सङ्क्रमित ५० हजार र एक लाख बीमा तथा भदौ २९ गतेपछि बीमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्दछन् । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताए । उहाँका अनुसार अहिलेसम्म करिब २५ हजार जनाले बीमा दाबी गरेका छन् । अहिलेसम्म नेपालमा दुई लाख २० हजार ३०८ जना सङ्क्रमित भएका छन् । यस्तै एक लाख ९९ हजार २४ जना निको र एक हजार ३२१ जना सङ्क्रमणबाट निधन भइसकेको छन् ।
प्रधानमन्त्रीद्वारा ताप्लेजुङकाे सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गरेका छन् । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुगेका थिए । भवन उद्घाटनअघि उहाँले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका थिए । प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङलगायत घुन्सा आएका छन् । जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो । रासस