बागलुङकाे नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

गलकोट । बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ । हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमूना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । नारायणस्थानमा यसअघि पनि हात्तीपाइले भइसकेका तीन जनालाई समेत पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । चौथो पटकको नमूना परीक्षणमा समेत हात्तीपाइलेको जीवाणु फेला परेकाले बागलुङमा हात्तीपाइले निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए । नारायणस्थानमा ३०० र कुश्मिसेरामा ३०० जनामा हात्तीपाइलेको जीवाणु परीक्षण गरिएको थियो । दुवै स्थानमा हात्तीपाइलेको जीवाणु फेला परेसँगै यो वर्ष १२ औँ पटक र आगामी वर्ष १३ औँ पटकको अभियान जिल्लाभर चलाउनु पर्ने देखिएको गुरौँको भनाइ छ । हात्तीपाइले रोगबाट बच्न सामान्यतया लगातार छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्छ तर बागलुङमा १३ औँ पटकसम्म अभियान चलाउनपर्ने भएको हो । नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भए पनि बागलुङ जिल्लासहित नेपालका सात जिल्लामा हालसम्म हात्तीपाइले रोग निवारण गर्न नसकिएको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका सुपरभाइजर सरोज अधिकारीले बताए । “पाँच वर्ष लगातार औषधि खुवाइसकेपछि नमूना परीक्षण हुन्छ, नमूना परीक्षणमा जीवाणु फेला नपरे छैटौँ पटक खुवाएर अभियान सफल पारिन्छ”, अधिकारीले भने “नमूना परीक्षणमा जम्मा नमूना सङ्ख्याको दुई प्रतिशतभन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ, नत्र दुई वर्ष लम्बिन्छ ।” बागलुङमा चौथो पटकसम्मको नमूना परीक्षण गर्दासमेत पोजेटिभ आएको हो । जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आएको हो । अहिले पुनः जैमिनी नगरपालिका–१ कुस्मिशेरामा समेत हात्तीपाइलेको जीवाणु फेला परेको छ । सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा थप दुई वर्ष हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो । हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले नारायणस्थानका घर–घरमा महिला स्वास्थ्य स्वयमसेवीका परिचालन गरी हात्तीपाइलेको लक्षण भए नभएको जानकारी लिने, सचेतना गराउने जस्ता कार्यसमेत गर्न थालिएको छ । विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् । रासस

कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनी र दैनिक २२ घण्टा खटिने वैज्ञानिकको अन्तरकथा

काठमाडौं । कोरोना महामारी फैलिएपछि विश्वभर त्रास र भयको वातावरण छायो । लामो समय एक प्रकारको अन्यौलता उत्पन्न भयाे । कोरोना महामारीविरुद्धको खोप कहिले बजारमा आउँछ होला भन्ने प्रश्न टड्कारो रुपमा रह्यो । कोरोना महामारीले संसारभर मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन । संक्रमितको संख्या पनि बढिरहेकै छ । यस्तो विषम परिस्थितिमा कुन देश पहिला कोरोना महामारीविरुद्धको खोप उत्पादन गर्छ होला ? आममानिसको मनमा यही प्रश्न खेलिरहेको थियो । विकसित देशका केही अग्रणी कम्पनीहरुले कोरोना विरुद्धको भ्याक्सिन उत्पादन गरिरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा रुसले कोरोना विरुद्धको खोपका उत्पादन गरको समाचार प्रकाशन तथा प्रशारण गरे । तर, त्यसको पुष्टि हुन सकेन । रुसले स्पुतनिक–५ नाम दिएर कोरोना भ्याक्सिन उत्पादन गरेको समाचारले व्यापक स्थान पायो । संसारकै वैज्ञानिकहरु जतिसक्दो छिटो कोरोना विरुद्धको भ्याक्सिन उत्पादन गर्न कस्सिएका थिए । डिसेम्बर २०१९ मा चीनको वुहानबाट फैलिएको कोरोना महामारी रोक्न सबैले संयुक्त प्रयास गरिरहेकै थिए । डिडब्ल्यु डट्कमका अनुसार यो प्रतिस्पर्धामा बेलायत संसारमा सबैभन्दा पहिले कोरोना विरुद्धको खोप उत्पादन गर्ने मुलुक हो । बेलायतले बायोएनटेक फाइजर भ्याक्सिन उत्पादन गरेको थियो । युरोपियन युनियनले डिसेम्बर २५ मा यो भ्याक्सिन सार्वजनिक गरेको थियो । फाइजर बायोएनटेक खोपले यूकेमा अनुमति पाइसकेको छ । बढी जोखिममा रहेकाहरुलाई खोप दिन सुरु भईसकेको छ । बेलायत फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र बनेको छ । उक्त खोपको ४ करोड मात्रा किन्न फाइजरसँग सम्झौता नै गरिसकेको छ । ९० वर्षीया मार्गारेट कीननले बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप लगाउने पहिलो महिला बनेकी छिन् । उनलाई फाइजर बायोएनटेकले उत्पादन गरेको खोप लगाईएको थियो । ‘कोभिड १९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी ठान्छु । मेरा लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो,’ कीननले भनेकि छिन् । भ्याक्सिन बनाउन अमेरिकी र युरोपियन देशहरु अर्बौं डलर खर्च गरिरहेका छन् । जोन्सन एन्ड जोन्सन, फाइजर, सेनोफी र अस्ट्राजेनेकाजस्ता थुप्रै कम्पनीहरु भ्याक्सिन उत्पादन गर्न सक्रिय छन् । अक्सफोर्ड युनिभर्सिटीको मुख्य साझेदारीमा अस्ट्राजेनेका पनि लागि परेको छ । अमेरिकाका फाइजर र मोर्डना कम्पनीले पनि भ्याक्सिन निकालेका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड १९ को भ्याक्सिन बा“डनका लागि निर्देशिका बनाउने तयारी गरिरहेको छ । फाइजर बायोएनटेक, मोर्डना, स्पुतनिक ५, साइनोफार्म भ्याक्सिन यतिखेर संसारका दर्जनौं मुलुकमा परिक्षण भईरहेको छ । कोरोना विरुद्धको भ्याक्सिन उत्पादन गर्ने कम्पनीहरु १) फाइजर/बायोएनटेक भ्याक्सिनः यो अमेरिकन भ्याक्सिन उत्पादक कम्पनी हो । पिफाइजर र जर्मन स्टार्ट अप बायोएनटेकले ९० प्रतिशत भन्दा बढी जनसंख्यालाई भ्याक्सिन उपलब्ध गराउने क्षमता राख्ने दावी गरेको छ । एक वर्षमा यसले ५० करोड डोज उत्पादन गर्ने लक्ष्य लिएको छ । एक डोजका लागि १९.५० अमेरिकी डलर खर्च हुने बताइएको छ । फाइजरका सिइओ अल्बर्टका अनुसार सन् २०२० मा लाखौं खोपहरु उत्पादन भयो । अमेरिकन सरकारले यस कम्पनीसँग १.९५ बिलियन डलर (२,२८०,३४,७५५ रुपैया“) बराबरका खोप अर्डर गरिसकेको छ । २) अक्सफोर्ड युनिभर्सिटीरअस्ट्राजेनेका भ्याक्सिन: अक्सफोर्ड–अस्ट्राजेनेका भ्याक्सिन ९० प्रतिशत प्रभावकारी हुने दावी गरेका छन् । भारतको सिरम इन्सिट्च्युट अफ इन्डियाले भ्याक्सिन उत्पादनका लागि यो कम्पनीस“ग सहकार्य गरिरहेको छ । बेलायत सरकारले ठूलो परिमाणमा यो भ्याक्सिन अर्डर गरिसकेको छ । बेलायतमा परीक्षण गरेपछि यो भ्याक्सिन प्रभावकारी देखिएको छ । भारतमा सक्रिय तीन कम्पनी भारतको सिरम इन्सिट्च्युट अफ इन्डिया बाहेक हैदराबादको भारत बायोटेक र अहमदाबादको जेडस क्याडिलाले पनि भ्याक्सिन उत्पादन गरिरहेका छन् । भारतले कोभिसिल्ड र कोभ्याक्सिन खोपको उत्पादन गरिरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीेले खोपका लागी पैसा तिर्नु नपर्ने बताएका छन् । १ अर्ब खोप उत्पादन गर्दै मोडर्ना मोडर्ना अमेरिकन कम्पनी हो । लोन्जा ग्रुपस“ग १० वर्षका लागि सम्झौता गरेर यसै वर्षबाट यस कम्पनीले कोरोना भ्याक्सिन उत्पादन थालेको हो । यस वर्ष ठूलो परिमाणमा खोप उत्पादन गर्ने लक्ष्य लिएको छ । यस वर्ष १ अर्ब खोप उत्पादन गर्ने लक्ष्य लिएको छ । चीनको सिनोफार्म चिनिया“ सरकारको लगानीमा सञ्चालित चाइना नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफार्म) ले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरिरहेको छ । गत ३० डिसेम्बरमा पहिलो पटक सिनोभ्याक भ्याक्सिन खोप उत्पादन गरेको घोषणा गरेको थियो । बीबीसीले उल्लेख गरे अनुसार यो खोप ७९ प्रतिशत प्रभावकारी भएको छ । यूनाइटेड अरब एमिरेट्स (यूएई) ले आफ्नो देशमा यसको परीक्षण गरिसकेको छ । सिनोफार्मले उत्पादन गरेको खोप १ सय २५ देशका १८ देखि ६० वर्ष उमेर समूहका ३१ हजार मानिसहरुलाई दुई डोज दिएर परीक्षण गरिएको छ । यस्तै, मोरक्कोले पनि यसै सिनोफार्मले उत्पादन गरेको खोप परीक्षण गरिरहेको छ । दुबईका शासक शेख मोहमद बि रसिद अल मख्तुमलगायत त्यहा“का उच्च अधिकारीहरुले यो खोप लगाइसकेका छन् । बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण (एनएचआरए) का अनुसार सिनोफार्मले उत्पादन गरेको यो खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ । यो सिनोभ्याक भ्याक्सिनको मूल्य ४ सय युआन (७ हजार २ सय २३ रुपैयाँ) रहेको छ । दैनिक २२ घण्टा खटिने वैज्ञानिक डा. केट ब्रोडरिक स्कटल्याण्डकी वैज्ञानिक डा.केट ब्रोडरिक कोरोना विरुद्धको भ्याक्सिन बनाउन दैनिक २२ घण्टा खटिने गर्थिन् । उनी अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत थिइन् । उनको साथमा एउटा रिसर्च गर्ने समुह नै थियो । खतरनाक बिरामीहरुका लागि भ्याक्सिन आविष्कार गर्ने काममा उनी सक्रिय थिइन् । इबोला, जीका जस्ता खतरनाक भाइरसका विरुद्ध भ्याक्सिन बनाउने काममा सफलता उनलाई मिलेको छ । उनले भ्याक्सिन बनाउने यो कार्यमा बिल गेट्सको संस्थाबाट आर्थिक सहायता समेत मिलेको छ । अदर पुनावाला अदर पुनावाला भारतकै धनी घरानाका व्यक्ति हुन् । ३८ वर्षीय अदर सेरम इन्सिटच्यूट अफ इन्डियाका प्रमुख कार्यकारी हुन् । उनका बुबा साइरसले यो कम्पनीको दायित्व १० वर्षअघि हस्तान्तरण गरेका थिए । यस कम्पनीको वार्षिक आय झण्डै ८० करोड डलर नाघिसकेको छ । भारतभर अझै अदरलाई चिन्नेको संख्या कमै छ । उनी र उनको कम्पनीले के काम गर्छ भन्नेबारे धेरैलाई अत्तोपत्तो छैन । यतिखेर उनै अदरले कोरोना विरुद्धको भ्याक्सिन उत्पादनमा जोड दिईरहेका छन् । भारतको पुनास्थित सेरम इन्सिटच्युट अफ इन्डियामा कोरोना भ्याक्सिन उत्पादन भईरहेको छ । वैज्ञानिकहरु भ्याक्सिन उत्पादनका लागी जुटिरहेका छन् । सेरमले वार्षिक वार्षिक डेढ अर्ब डोज भ्याक्सिन उत्पादन गर्छ । यसै इन्सिटच्युटले उत्पादन गरेको खोप विश्वभरको जनसंख्यामध्ये आधा बालबालिकाका लागि प्रयोग हुने गर्छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीस“ग मिलेर खोप उत्पादन गर्ने प्रयासमा जुटेको छ । यतिखेर विश्वभरका स्वास्थ्यमन्त्री, प्रधानमन्त्री र सरकारप्रमुखले अदरलाई निरन्तर सम्पर्क गरिरहेका छन् । सबैको चासो एउटै छ, भ्याक्सिन बनेपछि हामीलाई पहिलो प्राथमिकता राख्न नर्बिसनु । अघि इन्सिट्च्यूटले क्षयरोग, हेपाटाइटिस, पोलियो र रुघाखोकीविरुद्धको भ्याक्सिन पनि उत्पादन गरेको थियो । संसारका अधिकांस गरिब देशमा यसै कम्पनीले उपलब्ध गराउने भ्याक्सिन प्रयोग भईरहेका छन् । सेरमले भारत र बाँकी विश्वका लागी सिरमले कोरोना भ्याक्सिन उत्पादन गरिरहेको छ । यसका लागि ४५ करोड डलर खर्च भइसकेको छ ।

माघ १४ गते आठ जिल्लामा एकैसाथ खोप अभियान सुर गरिने

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट शुभारम्भ गर्नुहुने स्वास्थ्य निर्देशक विजय झाले जानकारी गराएका छन् । प्रदेश नं– २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पु¥याइने निर्देशक झाले बताए । पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।