खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने: डा सञ्जीव सापकोटा

काठमाडाैं । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन् । हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उनको भनाइ छ । खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताए ।

खोप लगाउँदा सामान्य असर देखिन्छ, ढुक्क भएर लगाउनुहाेस्ः डा. अधिकारी

काठमाडौं । कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आँफै हराएर जाने गरेको बताए । खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफैँ निको भएको छ”, उनले भने, “खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने गर्दछ । त्यस्तो असर कसैलाई दुई-तीन घण्टामा निको त कसैलाई एक/दुई दिनमा निको हुन्छन् ।” उनले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नआएको बताए । मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले उनका खोपपश्चात् अवाञ्छिन घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ टोली परिचालन गरिएको बताए । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले १० जनामध्ये एक जनामा सामान्य समस्या दिएको बताए । उनले खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने जस्तो समस्या देखिएको बताए । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १६९ खोप केन्द्रबाट ४६ हजार १९७ जनाले लगाएका छन् । भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप गत बुधबारबाट देशभरी नै दिइन थालिएको छ । रासस

काेराेनाकाे औषधी प्रयाेगमा ल्याउने अन्तिम तयारीमा देउराली जनता

काठमाडौं । नेपाली औषधी उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले काेराेना विरुद्धकाे खाेप प्रयाेगमा ल्याउने अन्तिम तयारी थालेकेा छ । आफूले उत्पादन गरेकाे ‘फाभिर २००’ काे क्लिनिकल ट्रायलमा नकारात्म असर नदेखिएकाेले आपतकालिन प्रयाेगकाे अनुमति लिन लागिएकाे कम्पनीले जानकारी दिएकेा छ । ‘फाभिर २००’ काे  क्लिनिकल ट्रायलकाे नतिजा पनि राम्राे आएकाे कारण छिट्टै यसकाे आपत्तकालित प्रयाेगकाे लागि औषधी व्यवस्था विभागसँग अनुमति लिने कम्पनीले जानकारी दियाे । औषधि उत्पादनको क्षेत्रमा अन्तराष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रुपमा देउराली जनता फार्मस्युटिकल्स परिचित छ । फर्मास्युटिकल्सले नेपालमा पहिलो आइएसओ –९००१ः आइएसओ– १४००१ काे प्रमाणपत्र प्राप्त गर्नुका साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप आफ्ना उत्पादनलाई अन्तराष्ट्रिय स्तरको बनाइ संचालित गरिरहेको छ । यस्तै कम्पनीले विभिन्न आर्थिक वर्षहरुमा नेपालमा औषधि उत्पादन गर्ने कम्पनीहरु मध्ये अधिकतम कर बुझाउने र उच्च सामाजिक उत्तरदायित्व वहनगर्ने कम्पनीको रुपमा समेत आफुलाई अग्रणी स्थानमा राख्दै आएकाे छ । कम्पनीले अत्यावश्यक जीवन रक्षक औषधिहरु लगायत दिर्घ रोग लगायतका अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याबलेट, लिक्विड, ओइन्टमेन्ट लगायतका ३३० प्रकारका औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने गर्दछ । कम्पनीमा विभिन्न मुलुकहरुबाट उच्च शिक्षा हाँसिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबैतहका करिब ५०० जना कर्मचारीहरु कार्यरत छन् ।