मध्यपहाडी क्षेत्रबाट प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी पुनः सक्रिय भएको हालैको घटनाले पनि पुष्टि गरेको छ । गत साल फागुन दोस्रो सातायता कुनै लागुऔषध तस्करीका घटना बाहिर आएनन् तर गत सोमबार मात्रै प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई विपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले पक्राउ गर्यो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरीको धरान उपमहानगरपालिका–२ का २७ वर्षीय अजित कामतलाई पूर्वबाट विपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ‘नाइट्राभेट–१०’नामक लागुऔषध २८ पत्ता (८४० ट्याब्लेट), डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद भएको मङ्गलटार प्रहरीले जनाएको छ । हाल घिसिङ र कामतलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । काभ्रेपलाञ्चोक प्रहरी एक वर्षपछि नेपालमा प्रतिबन्धित औषधि बरामद गर्न पुनः सफल भएको हो । यस घटनाले लागुऔषध कारोवारी पुनः सक्रिय भएको थापाले बताए । उनले कारोवारीको खोजीकार्य तीव्ररूपमा गरिने बताए । “घटनाले एक वर्षपछि कारोवारी पुनः सक्रिय भएको देखिन्छ, अब हामी विशेष निगरानी गर्छौँ”, उनले भने । प्रहरीले गत वर्ष फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाई राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । उक्त घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमल्सिनाको कोठाबाट बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको अवस्थामा उक्त परिमाणमा ट्याब्लेट बरामद गरी तिमल्सिनालाई प्रहरीले पक्राउ गर्यो । त्यसको केही महिनाअघि विराटनगरबाट विपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खानतलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित युपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई ५० पत्ता (७५० चक्की) नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो । सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ गर्यो । बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार ५१४ चक्की) बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का २४ वर्षीय उत्तम कार्की र खोटाङको चिउरीडाँडाका २५ वर्षीय आशीष थापालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको थियो । प्रहरीले कार्की र थापाको वयानकै आधारमा गत साल पुस १७ गते राति अरनिको राजमार्गको साँगा बनेपा–१३ मै काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का २३ वर्षीय प्रशिल थापा क्षेत्री र मोरङ सुनबर्सी नपा–६ घर भएका ३६ वर्षीय देवकुमार राजवंशीलाई झोलामा लुकाएको २५ पत्ता लागुऔषधसहित पक्राउ गर्यो । सोही राति नै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका २३ वर्षीय सविन हुमागाईँ, महोत्तरी जिल्ला लक्ष्मीनिया गाउँपालिका–३ का ४० वर्षीय लालबाबु मण्डल र २४ वर्षीय अजय साहलाई सात पत्ता नाइट्राभेट–१० सहित पक्राउ गरेको जनायो । प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो । प्रहरी प्रतिवेदनका अनुसार विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास)बाट लागुऔषध ओसारपसार हुने गरेको छ । प्रहरीको तथ्याङ्कअनुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएको छ । तराई क्षेत्रबाट विपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ । एक वर्षपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित जाँचमा सक्रिय नभएकाले कारोवार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ । पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको विपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताए । यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका शहर तथा काठमाडौंमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको वयान दिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट प्रतिचक्की रु एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३४ मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ६३ जना पक्राउ परेका छन् । रासस

‘सबैलाई बिना कुनै भेदभाव नि:शुल्क खाेप लगाउने छाैं’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिना कुनै भेदभाव प्राथमिकताकाे आधारमा सबै नेपालीलाई नि:शुल्क खाेप लगाइने बताएका छन् । ओलीले बुधबार खाेप अभियान सुरु गर्दै सबैलाई बिना कुनै भेदभाव नि:शुल्क खाेप लगाउने बताएका हुन् । बुधबार बिहान १० बजे प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा खाेप अभियान सुरु गरेका हुन् । आज १२ हजारलाई खाेप लगाइने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

प्रधानमन्त्रीबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु, आज १२ हजारलाई लगाइने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरेका छन् । आज बिहान १० बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । उनले अभियान शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइन सुरु गरिएकाे छ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए । नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो । खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहाेर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले आज ०.५ मिलीलिटर (मिली) मात्रा खोप प्रदान गरिने जानकारी दिए । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइनेछ । खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाई र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने उनले बताए । खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ ।