विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ । रासस/एएफपी

सप्तरीको सप्तकोशी नगरपालिकामा २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा शुरु

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा २४ घण्टे आकस्मिक सेवा शुरु भएको छ । स्वास्थ्यचौकीमा एमबिबिएस चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने र प्रयोगशालालगायतका सेवासमेत रहने बताइएको छ । सप्तकोशी नगरपालिकास्थित स्वास्थ्यचौकी फत्तेपुरमा २४ घण्टे आकस्मिक सेवा शुरु गरिएको नगरपालिकाका प्रमुख उत्तम शर्माले बताए । यसअघि पाँच श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा २४ घण्टे आकस्मिक सेवा शुरु भएपछि सप्तकोशी नगरपालिकाको ११ वटै वडा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी गढी र बेलका नगरपालिकाका बासिन्दालाई समेत सुविधा पुग्ने स्वास्थ्यचौकी प्रमुख राजकुमार दासले जानकारी दिए । नगर प्रमुख शर्माले चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याइने बताए । नगरपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइरहेको र फागुनभित्र शिलान्यास गरिने नगर प्रमुख शर्माले प्रतिबद्धता जनाए । शर्माले भने, “अस्पतालका लागि चाहिने आवश्यक उपकरण स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने आश्वासन दिएको छ ।” कुनै पनि व्यक्ति पैसा र सवारी साधनको अभावमा आकस्मिक सेवा लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले २४ घण्टे आकस्मिक सेवा कार्यक्रम शुरु गरिएको नगरपालिकाकी उपप्रमुख आशा चौधरीले बताइन् । रासस

भारतले नेपाललाई अनुदानमा कोरोनाको खोप दिने

काठमाडाैं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको छ । अफगानिस्तान, श्रीलङ्का र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ ।