धरानमा ५० शय्याकाे प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास, ८ कराेड बजेट निकासा
धरान । धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकाले सोमबार अस्पतालको शिलान्यास समेत गरे । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कूल जग्गामध्ये दुई बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । प्रदेश नं १ का जनतालाई सरुवा रोगसम्बन्धी विशिष्टकृत उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण हुन लागेको बिपी प्रतिष्ठानका रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मीले जानकारी दिए । कोरोनाको महामारीपछि सङ्घीय सरकारले नीतिगतरूपमा नै प्रत्येक प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो । सोहीअनुसार प्रतिष्ठानको ४४औँ सिनेट बैठकले सरुवा रोग अस्पताल बनाउन सुन्दरहरैचास्थित आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । अस्पताल बनाउन सङ्घीय सरकारले बजेट उपलब्ध गराउनेछ भने प्रदेश सरकारले निर्माण गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्रा डा रेग्मीले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरी, सामाजिक विकासमन्त्री हिक्कमत कार्कीलगायतको उपस्थिति थियो । निर्माण सम्पन्नपछि प्रदेश सरकार र प्रतिष्ठानको संयुक्त प्राविधिक टिमले सञ्चालन र व्यवस्थापन गर्ने छ । यसबारेमा सोमबार नै प्रदेश सरकार र प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र प्रतिष्ठानका रजिष्ट्रार प्रा डा रेग्मीले हस्ताक्षर गरे । सङ्घीय सरकारले आठ करोड बजेट अस्पताल निर्माणका लागि निकासा गरिसकेको छ । सरकारले सातै प्रदेशमा ५० शय्याको अस्पतालको खाका तयार गरिसकेको छ ।
कोभिड-१९ विरुद्धको खोप लगाउन अब मात्र चार दिन बाँकी, हालसम्म कतिले लगाए ?
फाइल फाेटाे काठमाडौं । पहिलो चरणको कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप लगाउन अब चार दिन मात्र बाँकी रहेकाे छ । यससँगै सरकारले सूचीकृत सबैलाई खोप लगाउन आग्रह गरेकाे छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभरि १९१ खोपकेन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । आज छैटौँ दिनसम्ममा एक लाख १३ हजार १७५ व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा छ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा सात हजार ८५७ जनालाई खोप दिइएको छ ।
आयाेडिन नुनकाे महत्व बुझाउन १ महिने कार्यक्रम चलाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०२१ फेबुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा मनाउने भएको छ । आयोडिनयूक्त नून सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलेआयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले मन्त्रालयले एक महिनाभर साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँगकाे सहकार्यमा आयोडिन महिना मनाउन लागेको हो । यूनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको भएको कारण नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ । आयोडिन मािनसलाई शारिरिक प्रक्रियाहरु संचालन गर्न तथा विकास गर्नको लागि आवश्यक पर्ने एउटा खनिज तत्व हाे । याे मानिसलाई दैनिक रुपमा थाेरै मात्रामा चाहिने तर नभइ नहुने पाेषक तत्व हाे । यसकाे कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिबल गोइटर सन १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन । सरकारले २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको एनडिएचएस सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।अतः यस उपलब्धीलाई जोगाई राख्न सम्वन्धित सवै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ । यस वर्ष कोभिड १९ का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघसंस्था,स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गर्ने जनाएकाे छ । आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्गले जनाएको छ । सरकारले विगत ५७ वर्ष देखी साल्ट ट्रेडिङ्गलाई देशभर आयोडिनयूक्त नूनको आपूर्तिकोे जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्गले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।