सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्यो

सिरहा । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । उहाँका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । जिल्लामा हालसम्म १२ हजार ४५० को स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ नेगेटिभ तथा एक हजार ६४८ पोजेटिभ आएको थियो । तीमध्येका २५ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । पहिलो चरणमा तीन हजार ९३० लाई कोरोना खोप लगाउनुपर्नेमा हालसम्म ३ हजार २८७ लाई खोप लगाइसकेको प्रमुख यादवले बताउनुभयो । जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सबैसँग आग्रह गरे । रासस

बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई

काठमाडाैं । पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो । यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । उक्त खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै तीन दिन बाँकी छ । “अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौँ”, उनले भने, “यो तीन दिनमा बढी जनसङ्ख्यालाई लगाउने भएका छौँ । अब प्राथमिकता परेका अध्यागमन कार्यालय, भन्सार कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल र वृद्धास्थलमा गएर खोप लगाउँछौँ ।” मन्त्रालयका प्रवक्ता डा गौतमले अनुमान गरेभन्दा स्वास्थ्यकर्मी मुलुक बाहिर रहेकाले खोप बच्न सक्ने बताए । मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका दुई लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो । तर धेरै स्वास्थ्यकर्मी काउन्सिलमा दर्ता भए पनि मुलुक बाहिर रोजगारी गरिरहेकाले लक्ष्यभन्दा कम स्वास्थ्यकर्मीले खोप लगाएको उनको भनाइ छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई राखेको थियो । सरकारले तीन प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्यका साथ पहिलो चरणमा पनि प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिएको हो । मन्त्रालयका प्रवक्ता डा गौतमले बचेको खोप लगाउनेबारे छलफल भइरहेको जानकारी दिए । उनले बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने बताए । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेबाट देशभरि अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

बिहिबार १७१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १७१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३ हजार ६९३ पुगेकाे छ । नेपालमा आजसम्म २० लाख ८५ हजार ५७३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २२७ जना निकाे भएसँगैं हालसम्म २ लाख ६७ हजार २९२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २०३३ पुगेकाे छ ।