पत्रकारलाई कोरोना खोप दिन सुरु
काठमाडाैं । सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको छ । कोभिड-१९ विरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुशी व्यक्त गरेका छन् । फ्रन्टलाईनमा काम गर्ने पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् । पत्रकारहरुले फ्रन्टलाइनमा काम गर्ने अन्य पेशा तथा वृद्धवृद्धा उमेर समुहका व्यक्तिहरुलाई पनि छिटोभन्दा छिटो कोभिड १९ विरुद्धको खोप दिन सरकारलाई आग्रह गरेका छन् ।
मेडिसिटीमा राष्ट्रिय स्तरको प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सुरु
ललितपुर । नेशनल हेल्थ ट्रेनिङ सेन्टर र निक साइमन्स् इन्स्टिट्युटको संयुक्त आयोजनामा नेपाल मेडिसिटी अस्पतालमा ६ दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सुरु भएको छ । भैसेपाटिस्थित नेपाल मेडिसिटीमा शुरु भएको प्रशिक्षण कार्यक्रममा चिकित्सक, नर्स, पारामेडिक्स् लगायतका स्वास्थ्यकर्मी सहभागी रहेको प्रमुख प्रशिक्षक डा. रोशना श्रेष्ठले जानकारी दिए । एक व्यक्तिले मात्र नभई दक्षता प्राप्त गरेको समूहलेनै उपचार गर्दा बिरामीहरुले उत्कृष्ट उपचार प्राप्त गर्न सक्ने भएकाले यस किसिमको आकस्मिक अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए । स्वास्थ्य क्षेत्रका फरक–फरक विज्ञहरुले प्रदान गर्ने प्रशिक्षण कार्यक्रमले मुख्यतः आकस्मिक मुटु समस्या, दुर्घटना, स्वासप्रश्वासमा समस्या लगायतको अवस्थामा प्रारम्भिक चरणमा के–कस्ता उपचार प्रक्रियामा ध्यान दिने जस्ता विषयलाई समेट्नेछ । राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमबाट सहभागी नर्स तथा पारामेडिक्सहरुले आकस्मिक उपचारमा अपनाउनु पर्ने नवीन सीप र जानकारी प्राप्त गर्न अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एडुकेशन डा. निलमणी उपाध्याय बताउँछन् । उक्त तालीमका मोडुअलमा करेन्ट लागेर आउने विरामीहरुको उपचारका विधिहरुलाई पनि समावेश गरेको खण्डमा राम्रो हुने समेत उनले बताए । तालीममा काठमाण्डौ, भरतपुर, झापा, तेह्रथुम , भोजपुर, मोरङ, लहान, सिरहा, नुवाकोट, जाजरकोट, डोटी, बाजुरा, स्यांग्जा लगायतका स्थानबाट सहभागीहरुको उपस्थिती रहेको छ । आइतबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ ।
दैलेखकाे महाबु गाउँपालिकामा चिकित्सकको दखर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा
दुल्लु । जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको दर्खास्त आह्वान ग¥यो । बिडम्वना, अन्य दुई पदका लागि दर्खास्त परे पनि डाक्टरका लागि निवेदन परेन । डाक्टरको निवेदन नपरेपछि गाउँपालिकाले अन्य दुई पदका लागि परीक्षासमेत स्थगन गरेको छ । चिकित्सकको दर्खास्त नपरेपछि महाबु अस्पताल सञ्चालन अन्योलमा परेको हुँदा स्थानीयवासीको उपचार गराउने सपना अधुरै रहेको छ । ‘‘अस्पताल बनाउँदा हामी जति खुशी भएका थियौँ, डाक्टर नआउने भनेपछि हामी त्यति नै दुःखी भएका छौँ । पैसा नहुँदा टाढा उपचार गर्न जान नसकिने, गाउँमै डाक्टर आएमा उपचार गरौँला भनेका थियौँ तर अझै समय कुर्नु पर्ने हो डाक्टरको मुख हेर्न’’, स्थानीयवासी लवराज विकले भने । विक मात्र होइन, सोही गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दाको सपना अधुरै छ । घरआँगनमै डाक्टर आउलान् र उपचार गरौँला भन्ने चाहना तत्कालका लागि पूरा नहुने भएको छ । ‘‘सरकारले जसरी पनि अस्पतालमा डाक्टर पठाउला भन्ने आशा गरेका छौँ’’, स्थानीयवासी अमृत पाण्डेले भने । दर्खास्त आह्वान गर्दासमेत चिकित्सकको निवदेन नआएपछि महाबुको अस्पताल सञ्चालन अन्योलमा परेको छ । महाबु गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल तथा १० श्यया अस्पताल सञ्चालनका लागि २०७७ कात्तिक १८ गते चिकित्सकसहित तीन पदका लागि दर्खास्त आह्वान गरेको थियो । करार नियुक्ति गर्ने गरी मेडिकल अधिकृत आठौँ तह, स्टाफ नर्स सहायक पाचौँ तह र हेल्थ असिस्टेन्ट सहायक पाँचौँ तहका लागि दर्खास्त आह्वान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बताए । ‘‘अधिकृतका लागि कुनै पनि निवेदन नपरेपछि अन्य पदको समेत छनोट गरिएको छैन’’, अधिकृत मल्लले भने । स्टाफ नर्स र स्वास्थ्य सहायकमा भने केही निवेदन परेका छन् । अस्पतालमा आवश्यक सम्पूर्ण संरचना तयारी गरिएको अवस्थामा जनशक्ति अभाव हुँदा अस्पताल सञ्चालन गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । “अस्पतालका लागि चाहिने स्तरीय ल्याब, श्यया, उपकरण, भवनलगायतका सम्पूर्ण संरचना तयारी अवस्थामा छ । “मेडिकल अधिकृतका लागि उचित सेवा सुविधासहित अतिरिक्त भत्ताको व्यवस्था गर्दा समेत दर्खास्त परेन”, अध्यक्ष शाहीले थपे, “मेडिकल अधिकृतले पाउनुपर्ने सेवा सुविधा दिन तयार छौँ ।” रासस